माओवादीले प्रदेश १ मा पदाधिकारी भोलि छान्ने

माओवादीले प्रदेश १ मा पदाधिकारी भोलि छान्ने

-पूजा लम्साल

नेकपा माओवादी केन्द्रले प्रदेश १ समितिको अध्यक्ष र पदाधिकारी भोलि टुंगो लगाउने भएको छ । मंसिर २५ देखि २७ गतेसम्म मोरङको बिराटचोकमा आयोजना गरेको प्रथम प्रदेश अधिवेशनले २ सय ६९ सदस्यीय कार्यसमिति सदस्य चयन गरे पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन ।

कार्यसमितिको भोलिको बैठकले अध्यक्षसहित सबै पदको टुंगो लगाउने भएको हो । बैठक बिराटनगरको तीनपैनीस्थित प्रदेश कार्यालयमा बस्नेछ । माओवादी केन्द्रको प्रदेश १ समितिमा एक अध्यक्ष, एक महिलासहित तीन जना उपाध्यक्ष, एक जना सचिव, तीन जना सहसचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा उदयपुरका सुरेश राई (हिमाल) धनकुटाका हेमराज भण्डारी (सुदर्शन) र पाँचथरका ईन्द्रबहादुर आङ्बो (मौसम) आकांक्षी छन् । उनीहरु कसैले पनि आफनो दाबी नछाडेपछि आवश्यक परे मतदान गर्नेगरि अधिवेशन स्थगित भएको हो ।

सुरेश पार्टीको प्रदेश १ को तदर्थ समितिका अध्यक्ष हुन् । हेमराज सचिव हुन भने ईन्द्रबहादुर प्रदेश १ संसदीय दलका नेता तथा सरकारका अर्थमन्त्री छन् । प्रदेश अधिवेशनले प्रदेश १ बाट ९६ जना राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गरेको छ ।

टिप्पणीहरू