भीम रावल अछाममा व्यस्त, एमसीसी टेबुल भए रातारात काठमाडौं आउने

भीम रावल अछाममा व्यस्त, एमसीसी टेबुल भए रातारात काठमाडौं आउने

एमालेका पूर्वउपाध्यक्ष तथा नेता भीम रावल मंसिर दोस्रो साताको महाधिवेशनलगत्तै गृहजिल्ला अछाम पुग्नुभएको छ । उहाँ दुई सातादेखि संगठनको काममा व्यस्त हुनुभएको अछामका एमालेजनले जानकारी दिएका छन् ।

अध्यक्षको प्रतिस्पर्धामा पराजित भएपछि उहाँ जिल्ला पुग्दा भव्य स्वागत गरिएको छ । कार्यकर्ताको उत्साह देखेर उहाँले सदरमुकाममा भएका कतिपय अनौपचारिक कार्यक्रममा आफ्नो मुद्दा स्थापित भएको बताउनुएको हो । उहाँले कार्यकर्ताहरुसँगको भेटघाटमा महाधिवेशनमा आफ्नो लाइन स्थापित भएको र आफूले उठाउँदै आएको मुद्दाको नैतिक रुपमा विजय भएको उल्लेख गर्नुभएको छ ।

रावलको भनाई उद्धृत गर्दै अछामबाट प्राप्त समाचारमा भनिएको छ, ‘प्राविधिक रुपमा हारजीत एउटा पक्ष हो । चुनावमा हारजीत स्वाभाविक हुन्छ । यहिँभित्र (एमालेमा) बसेर आफ्नो उद्देश्य र गन्तव्यलाई अघि बढाउँदै सफलता हात लगाउँछौं ।’

अछामका कार्यकर्ताहरुले पनि आगामी माघमा राष्ट्रियसभाको र त्यसपछि स्थानीय चुनाव आउन लागेकाले लगत्तै पार्टीको वास्तविकता र एउटा सिनारियो देखिने अठोट लिएको बताइन्छ ।

उहाँ सदरमुकामबाट जिल्लाको मेललेकमा भएको कार्यक्रममा पुग्नुभएको छ । नेता रावलले आजदेखि बोलाइएको संसद अधिवेशनमा एमसीसी टेबुल गरिए आफू तत्काल राजधानी फर्कने संकेत दिनुभएको छ । नभए अर्को दुई साता जिल्लामा खटिनेगरी कार्यक्रम तय गरिएको स्रोतले बताएको छ ।

यता, पार्टी स्थायी समितिमा भएको रावलको रिक्ततालाई लिएर अनेक टिकाटिप्पणी भएको छ । विगतमा पदाधिकारी हुँदा त उहाँको सुझाव नसुनिएकाले आगामी दिनमा थप कर्नरमा पारिने एकथरीले शंका गरेका छन् । उहाँको क्षेत्रबाट महाधिवेशन प्रतिनिधिसमेत एक्लौटी मनोनीत गरिएको सन्दर्भलाई उल्लेख गर्दै त्यस्तो विश्लेषण गरिएको हो ।

तर रावल समर्थकहरुमध्ये केहीले भनेका छन्, ‘उहाँ स्थायी समितिमा जानैपर्छ ।’ अर्काथरी समर्थकहरुले त्यस्तो कुरो सुन्न चाहेको देखिँदैन । उनीहरुका अनुसार स्थायी समिति भनेको सेकेण्डरी कुरा हो । ‘ओलीले एक्लौटी निर्णय गर्ने, पदाधिकारी समेतले ताली बजाउने, कसैले पनि केही बोल्ने आँट नगर्ने, तीन महिनामा एक पटक बस्ने स्थायी समितिको सदस्य भएर प्रभाव चाँही के हुन्छ ? अर्थ के रहन्छ ?,’ रावलका डाइहार्ट कार्यकर्ताको सुझाव हो यो ।

उनीहरुका अनुसार अहिलेको अवस्थामा एमालेभित्र सबैजना सन्तुष्ट छैनन् । आइतबारको बैठकमा सुनाइएको मनोनीतको सूचीबारे पनि पदाधिकारीहरुले समेत कुनै सुईंको पाएका थिएनन् । त्यसक्रममा न छलफल भयो, न जानकारी नै गराइएको थियो । अध्यक्षले एकैचोटी कोटको खल्तिबाट सूची निकालेर वाचन गर्नुभयो र कर्तलध्वनीका साथ पास भएपछि जनवादी शैलीलाई तिलाञ्जली दिइएकाले त्यस्तो कमिटीमा बसेर धारणा राख्नुको कुनै अर्थ नभएको रावल पक्षधरहरुको विश्लेषण छ ।

आइतबारको केन्द्रीय कमिटी बैठकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले समेत अध्यक्ष ओलीले पनि नसुन्ने गरी आफ्ना कुरा राख्नुभएको बताइन्छ । ‘त्यसैले त्यस्तो कमिटी र बैठकको औचित्य के ? बरु बाहिर बसेर आफूसँग रहेको शक्तिलाई एकीकृत गरेर अघि बढाइन्छ,’ उनीहरुको अठोट हो यो ।

पार्टीभित्रको फोरममा अनुपस्थित हुँदा रावल थप पछाडि पर्नसक्ने सम्बन्धमा उनीहरु सहमत देखिँदैनन् । उनीहरुको आफ्नै तर्क छ, ‘रावलले अध्यक्षमा चुनाव लडेर हार्नुभएको हो । त्यसको सेटलमेण्ट र उपाध्यक्ष भइसकेको व्यक्तिलाई कहाँ एडजष्ट गर्ने भन्ने कुरो अध्यक्षको हो । यस्तो कुरो नेतृत्वले सोच्नुपर्छ, रावलले सोच्ने होइन ।’

टिप्पणीहरू