अकालमा ज्यान गुमाएकालाई १ लाख राहत

अकालमा ज्यान गुमाएकालाई १ लाख राहत

इलामको फाकफोकथुम गाउँपालिकाले बैमौसमी वर्षाका कारण अकालमा ज्यान गुमाएका आफन्तलाई एक लाख रुपैयाँ राहतस्वरुप प्रदान गरेको छ । अघिल्लो महिना परेको अविरल वर्षामा ज्यान गुमाउने चार जनाका परिवारजनलाई गाँउपालिकाले एक लाखको दरले राहत प्रदान गरेको हो ।

गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई, वडाध्यक्ष राजु पौडेलले घरैमा पुगेर पीडित परिवारलाई राहत रकम प्रदान गर्नुभएको हो । फाकफोकथुम गाउँपालिका ३, आमचोकमा पहिरोमा परेर एकै परिवारको चार जनाको मृत्यु भएको थियो ।

घर माथिबाट आएको पहिरोले ८६ वर्षे नैनसिंह कटुवालको परिवार पुरेको थियो भने घर पूर्णरूपमा नष्ट भएको थियो । गाउँपालिकाले उनीहरूको घर निर्माणको लागि समेत एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

यसअघि सरकारले कटुवाल परिवारलाई तीन लाख रुपैयाँ राहत उपलब्ध गराएको जानकारी दिइएको छ । हालसम्म १२ जनाको परिवारले राहत रकम लिइसकेका छन् भने अरुलाई राहत व्यवस्था गर्ने बताइएको छ ।

टिप्पणीहरू