यसमा मेरो के दोष, भनिदेऊ न मान्छे !

यसमा मेरो के दोष, भनिदेऊ न मान्छे !

मेरो शरीरका अंग प्रत्यंग नारीरूपी छन् यद्यपि म पुरुष भएर जिउन चाहेँ । जाने–बुझेदेखि घरपरिवार र समाजसँग यसैमा विद्रोह गरेँ, गरिरहेछु, लडिरहेछु । जन्मिएँ ४ दशकअघि हेटौंडामा । परिवारको जेठो सन्तान । घरकी जेठी छोरी । त्यसपछि जन्मिए २ भाइ र एक बहिनी ।

प्रारम्भिक शिक्षा हेटौंडाकै सरकारी विद्यालयबाट भयो । बुवा प्रहरी, काका आर्मीको जागिरे । सुरक्षाकर्मी भएकै कारण हुन सक्छ बुवा परिवारभित्र अनुशासनमा हिँडाउन खोज्नुहुन्थ्यो तर ममा भने अलि बढी नै विद्रोही स्वभाव हुर्कंदै थियो । अहिले त छोरीले थाइ कट काटेको, जिन्स पाइन्टमा हिँडेको यो समाजले सहँदैन, कुरा काट्छ । चार दशकअघि नै म समाजमा अरुका छोराहरू जसरी हिँड्थे उसैगरी हिँडिदिन्थेँ ।

जसरी उनीहरू स्वतन्त्र हुन्थे म पनि त्यसरी नै हुन चाहन्थें तर परिवार तँ छोरी होस्, तैँले फ्रक वा घाँगर लगाउनुपर्छ भन्दै बन्देज लगाउन खोज्थ्यो । उमेरका सिँढी जति चढ्दै जान्थ्यो यस्ता दबाब झेल्नुपथ्र्याे मैले तर कहिल्यै बुझेनन्–बुझ्न खोजेनन् वा सकेनन् । हुन त कसरी बुझ्नु मेरो बुवा, आमा वा समाजले मेरो चाहना वा संवेदनालाई ? लैंगिक हिसाबले यो समाजले नरनारी जाति मात्र भनेर बुझ्दै आएको छ । यो बीचमा अर्काे पनि जाति हुन्छ भनेर बुझ्ने झम्मार किन–कोही गरोस् ?

१६ वर्षको उमेरमा एसएलसी पार लगाएँ । घरमा विवाहको कुरा आइरहन्थे । तर, मलाई बिहे गर्ने र आमा बन्ने कहिल्यै सोच आएन । म बिहे गरेर अरूको घरमा जाने होइन मैले नै बरु ४–५ जना बुहारी भित्र्याइदिन्छु भन्थेँ । एक पटक केटा हेर्न आयो । एकै नजरमा उसले मलाई मन परायो तर मैले स्वीकार गरिनँ कारण मलाई पुरुषप्रति कुनै आकर्षण थिएन । विवादका बीच बुवाले ढलोटको अम्खोराले हिर्काउनुभएको छ ।

मलाई थाहा थिएन, मेरो सक्कली परिचय, अरुले भन्थे यो केटी भएर केटाजस्तो छे ! जब परिपक्व हुँदै थिएँ मलाई केटाले आकर्षित गर्न सकेनन् । बालापनमा पनि भाँडाकुटी खेल्दा बूढो भएर खेलेँ, बिहे गरेर दुलही ल्याएँ । खै किन केटीहरूसँग आकर्षित भएँ/हुन्थेँ ! समाजले पढेन मेरो प्राकृतिक व्यवहार । मलाई बिहे गरेर पराई घर जान मनै लागेन । मलाई बालबच्चा जन्माएर आमा बन्न मन लागेन । कुनै केटीले मुसुक्क हाँसेको साह्रै राम्री लाग्छ । उसले मिलाएर लाएको रेशमी कुर्ता सलवार र चिटिक्क परेको गाजल आँखाले मोहित पार्छ । उसको नारी लभ शारीरिक बनावट, बारुले कम्मर जसरी अरु केटालाई मन पर्छ मलाई पनि मन पर्छ ।

एसएलसीपछि फुर्सदको दिन पत्रिका पल्टाइरहेको थिएँ त्यत्तिकैमा महिलाप्रति महिला आकर्षण र पुरुषप्रति पुरुष आकर्षण भन्ने हेडिङमा विज्ञापन देखेँ । त्यही विज्ञापनलाई पछ्याउँदै काठमाडौं भित्रिएँ, संस्थाको ठेगाना थियो ज्ञानेश्वर, त्यहीँ पुगेँ । त्यहाँ महिला वेशभूषामा देखिन्थे तर आवाज पुरुषको । जम्मा दुई दिन मात्र गएँ उक्त कार्यालयमा । त्यसपछि फर्किएँ हेटौंडा ।

उमेर हुर्कंदो थियो, बुवा, आमा, घरपरिवार र समाजसँगको विद्रोह जारी थियो । केही समयपछि फेरि भित्रिएँ काठमाडौं एक जना दिदीसँग बस्ने गरी । म आफू के हुँ ? को हुँ ? परिचय खोज्दै थिएँ । कतै मानसिक रोग पो हो कि भनेर डाक्टरकहाँ पुगें, ती भन्थे, ‘केटी मान्छे केटीसँग आकर्षित हुनु मानसिक रोग हो ।’ तर, यो प्राकृतिक कुरा रहेछ । कति अज्ञानतामा उपचार गर्छौं हामी ।

ब्लुडाइमण्ड सोसाइटी संस्थामा रिसेप्सनिष्टको रूपमा केही समय काम गर्दा धेरै कुरा सिक्ने र जान्ने अवसर पाएँ । त्यो संस्थाले पुरुषको अधिकारका लागि काम गथ्र्यो । ब्लु डायमण्ड सोसाइटीमा आबद्ध रहेर काम गर्न थालेपछि बल्ल म आफू को हुँ चिन्न सकेँ अर्थात् म समलिंगी रहेछु भन्ने चाल पाएँ । आज कतिपय घर घरमा झगडा छ, हिंसा छ । यस्तो हिंसाको कारण कतै जोडीमध्ये एक जना समलिंगी भएका कारण त हैन ? यो अध्ययनको विषय बनेको छ ।

समलिंगी मान्छेको रूपमा खुला समाजमा परिचय स्थापित गर्न धेरै आरोह–अवरोह पार गरेको छु । यो समाजले दिएको तिरस्कार, घृणा र चोट सहेको छु । म जन्मजात स्त्री तर प्राकृतिक रूपमै पुरुष पहिचान बोकेर हिँडिरहेको छु । यसमा मेरो के दोष ? मजस्तै धेरै साथी घरपरिवार र समाजको डरले पहिचान लुकाएर कसैको श्रीमान् वा श्रीमती बनी जिन्दगी गुजार्न बाध्य छन् ।

शहरमा आएपछि आफ्नो परिचय र पहिचान त पाएँ तर यहाँका सबै मान्छे कहाँ प्रिय छन् र ? केटी मान्छेलाई एक्लै कोठा भाडा नदिने शहरका घरबेटीले समलिंगी भनेर चाल पाउँदा ढोकैबाट छिर्न नदिने पनि भेटियो, देखियो । काठमाडौंमा रहँदा एक जना केटी साथीसँग नजिकिएँ । उनको र मेरो कथा–व्यथा उस्तै छ ।

हेटौंडामा हुँदा प्रभा साथीले भने धेरै सहयोग गथ्र्यो । आखिर ऊ पनि मजस्तै समलिंगी रहेछ । उसको पनि कथा यस्तै रहेछ । ऊ हेटौंडामा सम्झौता नेपाल नामक संस्थामा आबद्ध छ । हामी यतिधेरै नजिकियौं कि एकबिना अर्काे बाँच्न नसक्ने स्थितिमा पुग्यौँ । उसको (उनको) अन्यत्र विवाह हुन लागेको चाल पाएपछि भगाएर ल्याइयो काठमाडौं । हाम्रो जोडीलाई परिवार र समाजले स्वीकार गरेन । एकातिर परिवारको टोकसो त छँदै छ अर्काकी छोरी भगाएर ल्याएको भन्दै उनीहरूले प्रहरीमा उजुरी दिए ।

अनेकौं संघर्ष र हण्डर भोगियो । जति दुःख, कष्ट भोगियो उति नै स्पातिलो बनियो । दुःख ‘दुःख’ जस्तो लाग्न छाड्दै थियो कारण साथमा माया गर्ने साथी थियो (थिइन्) । यो महँगो शहरमा एक ज्यानबाट दुई वटा ज्यान भएका थियौं हामी । न खाने पैसा हुन्थ्यो गोजीमा, न त डेरा भाडा तिर्र्ने जोहो । कहिले त एक किलो चामल किन्ने पैसा गोजीमा हुँदैनथ्यो, कहिले बिग्रिएको स्टोप बनाउने पैसा नभएर भोकै सुत्यौं । यस्ता संघर्षपूर्ण दिन हाम्रालागि प्रिय छन् ।

शुरु शुरुमा त हामीलाई श्रीमान्श्री/मती नै ठान्थे घरबेटी । म प्रायः सर्ट पाइन्ट र थाइकटमा हुन्थेँ । घरबेटीले केटा नै ठाने केही महिना । जब पहिचान खुल्यो, निकाले । यसरी घरपरिवार र समाजसँग लडाइँ जारी थियो । यसरी झण्डै सात वर्ष घरपरिवारसँग सम्पर्कविहीन रहेँ । म चाहन्थें केही उदाहरणीय काम गरेर परिवारलाई खुशी बनाउनेछु अनि मात्र घर फर्कनेछु ।

शुरुमा मैले जन्माएको बच्चा आज यस्तोसम्म भयो, यही दिन देख्न रहेछ बरु मरेको भए पनि हुन्थ्यो भन्नुहुन्थ्यो । त्यही कारण म केही काम गरेर देखाउन चाहन्थें । अनि मात्र घर फर्कन चाहन्थें । यही बीचमा जन्मियो मितिनी नामक संस्था । अप्ठ्यारो र समस्यामा परेका महिला खुलेर बाहिर आउन् भन्ने उद्देश्यसाथ जन्मिएको हो मितिनी । नेपालीमा उखानै छ, ‘दुःख पाउँदा मितिनी ।’ शुरुमा मितिनी सपोर्ट गु्रप नामबाट काम ग¥यौँ । २ पुरुष र ७ जना महिला मात्र मितिनी सपोर्ट गु्रपमा संलग्न थिए ।

सन् २०५९ मा शुरु गरेको सपोर्ट गु्रपलाई २०६२ मा मितिनी नेपाल नामक गैरसरकारी संस्थाका रूपमा स्थापना गर्न सफल भइयो । महिला समलिंगीको समान हक अधिकारका साथै सामाजिक जागरण तथा सचेतनामूलक कार्यक्रम गरिरहेको छ यो संस्थाले । यसका अलावा लेस्बियन महिलाहरूका लागि मितिनी नेपालले सीप विकास तथा आयआर्जन तालिमअन्तर्गत आभूषणका सामग्री निर्माण, सिलाइ बुनाइ, ड्राइभिङ, सौन्दर्यकलासम्बन्धी तालिम, कफी तयारी, च्याउखेती तथा मैनबत्ती उत्पादनजस्ता तालिम दिइरहेको छ ।

– लक्ष्मी घलान, अध्यक्ष मितिनी नेपाल

टिप्पणीहरू