जिते आफ्नो पौरख, हारे ‘मौसुफ’को दोष
-विराट अनुपम
हालै सम्पन्न राप्रपा महाधिवेशन मूलतः दुई कुराले चर्चामा आयो । पहिलो, पशुपतिसमशेर जबरा, डाक्टर प्रकाशचन्द्र लोहनी र कमल थापा नेतृत्वका तीन राप्रपाको एकता महाधिवेशन । दुई, लोकतान्त्रिक पद्धतिको चुनावबाट पुरानो नेतृत्व बिदा गरेर नयाँ अनुहारलाई मतादेश । २२७ मतले कमल थापालाई झापाका राजेन्द्र लिङ्देनले हराउनु चानचुने कुरा थिएन । बहालवाला अध्यक्ष थापालाई ‘अण्डरडग’ लिङ्देनले १८४४ मत ल्याएर हराए । थापाको मत १६१७ मात्रै आयो ।
सिपी मैनालीको ‘महेन्द्रले देश बचाएको’ देखि प्रचण्डको ‘राष्ट्रियताको मामिलामा राप्रपासँग गोत्र मिल्छ’ भन्ने जस्ता महाधिवेशनको खुला सत्रका भाषणलाई उछिन्ने स्तरको चर्चा बन्दसत्रपछि चुनावी नतिजाले ल्यायो ।
०४९ सालमा गठित ‘राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन’का अध्यक्ष लिङ्देनले पार्टीका बहालवाला अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापालाई हराए । उसो त लिङ्देन ०७४ सालको चुनावमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसको १३ औं महाधिवेशनका सभापति उम्मेदवार कृष्ण सिटौलालाई हराएर प्रतिनिधिसभा सदस्यमा राप्रपाका एक्ला सांसद हुन् ।
तर, चार दिने महाधिवेशनबाट मंसिर १९ गते आएको परिणामसँग कमल थापा आक्रोशित छन् । सामाजिक सञ्जालमार्फत जारी सन्देशमा भनेका छन्, ‘प्रजातान्त्रिक मूल्य–मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार्छु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना । प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूप्रति आभारी छु ।’ यतिसम्म भन्दा वक्तव्य एकदम राम्रो र सहज सुनिन्छ । तर, यसपछिका उनका कुरा भने अलिक बेग्लै छन् ।
हारको कारण पूर्वराजा ज्ञानेन्द्रलाई लाउँदै लेख्छन्, ‘बधाई, ज्ञानेन्द्र वीरविक्रम शाह । धन्यवाद ! मैले राहत र उन्मुक्ति पाएको छु । सिंगो मुलुक गणतन्त्रमा गएका बेला शिरमा कफन बाँधेर ०६३ सालदेखि राजसंस्था बोकी हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना !’
सामाजिक सञ्जालमा जी शाहको आइडीलाई मेन्सन गरेर यस्तो भनेका थापाले हिमानी शाह नामको तर हिमानीले नचलाउने फेक आइडीमा आएको लिङ्देनलाई बधाई दिएको ट्विटलाई मेन्सन गरेर आफ्नो कुण्ठा पोखेका छन्, ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना !’
यति मात्रै हैन थापाले १९ गतेको नतिजा आएकै दिन अर्को भावुक ट्विट गरेका छन् । कवि राजेन्द्र थापाको कविता साभार गर्दै लेख्छन्ः
‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालेँ
त्यही साल मायाँ फाट्यो त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो केले सिउने, केले टाल्ने हो?’
चुनावी हारपछिका वक्तव्य, हिमानी शाहको फेक आइडीको ट्विटदेखि कविता सबैको सहाराले कमल थापाले भन्न खोजेको सन्देश र दिएको सिधा संकेत हो– राप्रपाका महाधिवेशन प्रतिनिधिले उनलाई जिताएको भए मात्रै राजदरबारको हस्तक्षेप भएको हुन्थेन । उनले जितेको भए मात्रै स्वच्छ चुनाव हुन्थ्यो । उनीजस्तो नेतृत्वमा तीन दशक बढी नरहेर भुइँको मान्छे अध्यक्ष हुनु राम्रो भएन ।
ज्ञानेन्द्रकै कुरा गर्दा दुई तिहाइ आएन भने सडकबाटै राजतन्त्र ल्याउने धमास थापाकै थियो महाधिवेशनमा । यत्ति भन्दाभन्दै पनि ज्ञानेन्द्र शाहले हस्तक्षेप नै गरेको हो भने थापाको पक्षमाचाहिँ किन हस्तक्षेप गरेनन् ? अनि, ज्ञानेन्द्रले गर्दा हस्तक्षेप हुने कस्तो पार्टीको अध्यक्ष थिए थापा ? के उनी पञ्चायतका प्रधानमन्त्रीजस्तै आलंकारिक अध्यक्ष थिए ? राप्रपा महाधिवेशनका प्रतिनिधिहरूको मतादेशलाई ज्ञानेन्द्र शाहको हस्तक्षेप थियो भन्ने थापाको दाबीले यी प्रश्न उनैतर्फ स्वतः सोझिन्छन् । ‘जिते आफ्नो पौरख, हारे ‘मौसुफ’को दोष’ जस्तो सन्देश थापाले दिन खोजेका छन् ।
थापा मात्रै हैनन् अरूलाई दोष दिने नेता
राप्रपाको ताजा महाधिवेशनमा हारको दोष आफ्नो हैन ज्ञानेन्द्र शाहलाई लाउने थापा प्रवृत्ति एक्लो उदाहरण भने हैन । यस्ता प्रवृत्ति सबै पार्टीमा छन् । पछिल्लो पटक वाम गठबन्धनको चुनावी उम्मेदवार भएका वामदेव गौतमले चुनाव हारे र दोष केपी शर्मा ओलीलाई लाए । सायद जितेको भए आफ्नै कारण भन्थे ।
दोस्रो संविधानसभा चुनाव २०७० मा माओवादी पार्टी पहिलोबाट सिधै तेस्रोमा झ¥यो । त्यसमा माओवादी अध्यक्ष प्रचण्डले कारण दिए– धाँधली । तेस्रो हुनुको पीडाले रन्थनिएका कमरेड प्रचण्डले यो रटान धेरैपटक लाए ।
पहिलो संविधानसभा चुनाव २०६४ मा झापामा हारे केपी शर्मा ओली । हार्दा आफ्नो कमजोरीको कुरा गरेनन् । बरु भने– झापाली मतदाताले गलत गरे ।
०४८ सालको चुनावमा मदन भण्डारीसँग हार्दा होस् वा मदनको दासढुंगाको शंकास्पद मृत्युपछि चुनाव लडेकी विद्या भण्डारीसँग हार्दा होस्, नेपाली कांग्रेसका हेभिवेट नेता कृष्णप्रसाद भट्टराईले हारको कारण गुट हो भने ।
यी त केही उदाहरण मात्रै हुन् । विभिन्न तह र तप्काका विभिन्न क्षेत्रमा हुने चुनावमा समेत हार्नेहरूका केही न केही बहाना भइजान्छ । त्यो बहानाको साझा कुराचाहिँ हार्नुको कारण आफू हैन अरु नै हुन् भन्ने हुन्छ । यही आम मानसिकताको पछिल्लो उच्चस्तरीय प्रदर्शन कमल थापाले गरेका हुन् ।
खासगरी लोकतान्त्रिक विधि र पद्धतिमा आफूअनुकूल नतिजा नआउनासाथ यस्ता खालका वक्तव्य दिनुले कमजोर लोकतान्त्रिक पद्धतिको राष्ट्रिय झल्को दिन्छ । संसारको सबैभन्दा पुरानो लोकतन्त्र मानिने अमेरिकाको हालतसमेत यही छ । पछिल्लो राष्ट्रपतीय चुनाव २०२० मा हारेका डोनाल्ड ट्रम्पले भोट चोरेर र धाँधली गरेर चुनाव हार्नुपरेको बताउँदै आएका छन् । हार्ने स्तरको नतिजा आउनासाथ भन्न थालेका थिए, ‘स्टप द स्टिल’ अर्थात् चोरी बन्द गर ।
यस्तै उत्तेजक अभिव्यक्तिको कारण उनका समर्थकले संघीय राजधानी वासिङटन डिसीको क्यापिटल भवनमा हुलदंगा गरे । चोरेर, चुनाव जितेर जो वाइडेन राष्ट्रपति हुने प्रक्रिया शुरु भएपछि यस्तो हुलदंगा सन २०२१ को जनवरी ६ मा भएको थियो । घटनाको कारण पाँच जनाको ज्यान गयो । त्यही कारण देखाएर फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट ट्रम्पलाई निषेध गरियो । उनले अहिलेसम्म त्यो सञ्जालमा प्रवेश पाउन सकेका छैनन् । आफ्नै नयाँ सामाजिक सञ्जाल खोलेर सन २०२४ को राष्ट्रपतीय चुनावी दौडमा सरिक हुने लाइनमा छन् ट्रम्प ।
सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा लोकप्रिय मत हिलारी क्लिन्टनलाई थियो । इलेक्टोरल कलेजको मत धेरै भने ट्रम्पलाई आएको थियो । त्यही कारण त्यो बेलामा पनि धाँधलीको चर्को कुरा आयो । तर, डेमोक्रेटिक पार्टीका तत्कालीन राष्ट्रपति बाराक ओबामा र तत्कालीन राष्ट्रपतीय प्रतिस्पर्धी क्लिन्टनले ट्रम्पले जस्तो उत्पात मच्चाएका थिएनन् ।
यी सबै उदाहरणले के देखाएको छ भने जत्तिकै उन्नत अर्थात् विकास हुने क्रममा रहेको लोकतन्त्र भए पनि आफँै सबै राम्रो हुने हैन । त्यसमा व्यक्ति कस्तो छ, उसको लोकतान्त्रिक चेत कस्तो छ जस्ता कुराले महत्व राख्छ । त्यही भएर अमेरिकी कवि वाल्ट हिटम्यानको लोकतन्त्रबारे चर्चित भनाइ छः
‘डेमोक्रेसी इज एन अनफिनिस्ड एक्स्पेरिमेन्ट ।
अर्थात्, ‘लोकतन्त्र एक अविच्छिन्न अभ्यास हो ।’
टिप्पणीहरू