‘यो उद्योगी, व्यवसायीको रातारात धनी बन्ने चाहना हो’

‘यो उद्योगी, व्यवसायीको रातारात धनी बन्ने चाहना हो’

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लामा बेला बेलामा बजार अनुगमन हुने गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार संरक्षण मञ्चलगायत सम्बन्धित स्थानीय तहकोसमेत सहभागिता रहने अनुगमन टोलीले त्यस्तो कार्य गर्छ । गत कात्तिकमा तिहारअघि चितवनमा नारायणगढको एउटै पसलबाट ६३ बोरा चामल जफत गरेर गौसंरक्षण केन्द्रमा पालिएका गाईलाई खुवाउन पठाएको थियो । यसैगरी ठूलै परिमाणमा काजु, बदाम र मिठाइहरु पनि जफत गरी नष्ट गरिएका थिए । उद्योगी, व्यवसायीमाथि ठाउँको ठाउँ तीन लाख रुपैयाँसम्म जरिवाना समेत भएको थियो । यतिखेर जिल्लामा बजार अनुगमनको अवस्था के छ ? चितवनको समग्र बजारको स्थिति कस्तो रहेको छ ? लगायत विषयमा संयुक्त बजार अनुगमन समितिका संयोजक रहेका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मासँग जनआस्थाकर्मी अजय गोर्खालीले गरेको कुराकानी ।

दशैं, तिहारका बेला तपाईंहरुको बजार अनुगमनले निकै तीव्रता पाएको थियो । अहिले के छ अवस्था ? अहिले बजार अनुगमन भइरहेको छ ?

– अहिले दिनहुँ नै त गर्न भ्याइएको छैन । नागरिकता वितरणलगायत कार्यालयको सेवा प्रवाहलाई ध्यान दिनुपर्ने हुनाले । कालिका नगरपालिकाका दुर्गम वडाहरु र इच्छाकामना गाउँपालिकाका केही वडाहरुका चेपाङ समुदायका दाजुभाइ, दिदीबहिनीहरु अहिले नागरिकता लिन आइरहनुभएको छ, उहाँहरुको व्यवस्थापनको लागि ध्यान दिनु परिरहेको हुनाले दैनिक गर्न पाएका छैनौं । तर निरन्तरता भने दिइएकै छ ।

गत वर्ष तपाईं यहाँ त हुनु हुन्थेन । तैपनि विगतका रेकर्ड हेर्दा वा सुन्दा पछिल्लो समय चितवनको बजारको अवस्था कस्तो छ ? तुलनात्मक रुपमा सुधारिएको स्थिति छ कि छैन ?

– मैले यहाँ साथीहरुसँग सम्पर्क गर्दा, सोध्दा विगतका वर्षहरुमा त्यस्तो खासै अनुगमन भएजस्तो लागेको थिएन । एउटा रिचुअल जस्तो जाने– उहाँहरुलाई सम्झाउने, आउने । अनि अझ मैले त के पनि सुनेको छु भने दिउँसो जाने, अनुगमन गरेजस्तो गर्ने अनि साथीहरु फेरि बेलुका जाने कसरी, के–के मिलाउने अनि त्यसलाई छाड्ने । त्यस्तो खालको कुरा पनि मैले सुनेको थिएँ ।

अब अहिले मैले अनुगमन गर्न थालेपछि बजारमा जसले गलत गरेको छ, अखाद्य वस्तुहरु, म्याद नाघेका वस्तुहरु बेचेको छ, त्यस्तालाई स्पटमै जरिवाना गरिरहेको छु । होटललगायतका ठाउँमा मैले अनुगमन गरेपछि, तिनीहरुलाई सरसफाइ भएन यो, यो कुरा सुधार गर्नु भनेर निर्देशन दिएर आएपछि ती कुराहरु सुधार भएको मैले पाएको छु ।

तिहारअगाडि भरतपुर–३ आनन्दमार्गको रिसु टे«डलिंकलाई ३ लाख जरिवाना तोकिएको थियो नि ! असुल भयो त ?

– भयो, उहाँले पाँच, सात दिनमै आएर तिर्नु भयो ।

तपाईंहरुबाट कस्ता–कस्ता उद्योग, व्यवसायमा अनुगमन हुने गरेको छ ? कुन–कुन कुरामा बजार अनुगमन केन्द्रित रहने गरेको छ ?

– हामी मूलतः अहिले खाद्यमा । र, औषधि बिक्रेताहरु, जसले दर्ता नभई पसल सञ्चालन गर्नु भएको छ कि ! अथवा म्याद नाघेका औषधिहरु बिक्री गर्नु भएको छ कि ¤ यस्ता कुराहरुमा केन्द्रित छौं । खाद्यलगायतका कुराहरुमा चाहिँ लेबल नभएका वस्तुहरु, म्याद नाघेका वस्तुहरु र न्यून गुणस्तरका छन् कि भनेर ध्यान दिने गरेका छौं ।

अझ भनौं, खानै नहुने नक्कली वस्तुहरु पनि हेरिरहेका छौं । रिसु ट्रेडलिंककै कुरा गर्नु भयो तपाईंले । रिसु ट्रेडलिंकमा भएका मिठाइहरु एकदमै डुप्लिकेट अर्थात् खानै नहुने प्रकृतिका थिए, तिनलाई ल्याएर हामीले नष्ट गर्यौं, जरिवाना पनि गर्यौं । र, जसले चाहिँ लेबल नलगाइकन सामानहरु–चामल र काजु–बदाम पनि केही व्यवसायीले बेच्न राख्नुभाथ्यो, त्यो जफत गरी ल्याएर हामीले गौशालाका गाईलाई ख्वाउन भनेर पठायौं, उहाँहरुलाई जरिवाना पनि गयौं ।

यस वर्ष भएको बजार अनुगमनका क्रममा ठूला खराबी वा समस्या अरु कुन–कुन उद्योग, व्यवसायमा देखिए ? ती समस्या के थिए र तिनलाई कस्तो–कस्तो कारबाही भयो ?

– एउटा सबैभन्दा ठूलो त औषधि बिक्री गर्नेहरुले दर्ता नगरी पसल सञ्चालन गरेका थिए, म्याद नाघेका औषधिहरु पनि बिक्री गरिराखेका थिए । नार्केटिक्स औषधिहरु डाक्टरको प्रेस्क्रिप्सनको आधारमा अभिलेख राखेर बिक्री–वितरण गर्नुपर्नेमा त्यो नगरिराखेका थिए ।

चौबीसकोठी एरियाका त्यस्ता औषधि पसलहरुलाई हामीले तीन लाख रुपैयाँसम्म जरिवाना गर्यौं । रिसु ट्रेडलिंकलाई तीन लाख जरिवाना गर्यौं । त्यस्तै, अखाद्य घिऊ पनि । कुनै एउटा ट्रेडको नामचाहिँ दिइएको छ । तर दिइएको ठाउँमा त्यसको कारखाना छैन ।

घरायसी रुपमै बनाएर बेचिएका अखाद्य प्रकृतिका घिऊका डब्बाहरु हामीले जफत ग¥यौं १ सय २ लिटर । सरस्वती डेरी उद्योग भन्ने छ एउटा, अर्का सिन्धुलीको कृति घिऊ उद्योग छ । त्यस्तै ६ वटा नाम दिइएका घिउ बेच्नेहरु थिए, जसमध्ये टाँडीको संगम ट्रेडर्सलाई तीन लाख जरिवाना ग¥यौं ।

गैंडाकोटमा उद्योग भएको सरस्वती डेरी उद्योगका प्रोप्राइटरलाई दुई लाख रुपैयाँ जरिवाना गर्यौं । जसको होलसेल पसल नारायणगढमै छ । यो सरस्वती डेरी उद्योगलाई खानतलासी तथा उद्योग शिल गर्नुपर्ने भए शिल गर्नेलगायतका कारबाही गर्न भनी हामीले त्यहाँको जिल्ला प्रशासन कार्यालय नवलपुरलाई लेखेर पठाएका छौं । त्यसको खाद्य अनुज्ञा सम्बन्धी हेर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौली, तनहुँलाई पनि हामीले लेखेर पठाएका छौं ।

पहिला त तिनै सरस्वती डेरी उद्योगले मेरो घिऊको अरुले डुप्लिकेट बनायो, मेरो घिऊलाई गोकुल घिऊ बनाएर बजारमा बिक्री भएको छ, त्यसलाई कारबाही गरी पाउँ भनी उजुरी दिनुभयो । त्यो गोकुल घिऊ हामीले हेर्यौं । त्यसलाई पनि तीन लाख रुपैयाँ जरिवाना गर्यौं । पछि त्यही डेरीको घिउ पनि नक्कली रहेछ । परीक्षणबाट त्यो रिपोर्ट आएपछि हामीले उनलाई पनि दुई लाख रुपैयाँ जरिवाना गर्यौं ।

चितवनको बजारको स्थिति हेर्दा के–के कुरामा चाहिँ आमउपभोक्ता बढी चनाखो हुन जरुरी देखिन्छ ?

– यो त सबैमा छ । खाद्यमा पनि लेबल नलगाइ बिक्री भएका छन् । खान अयोग्य वस्तुहरु पनि बिक्री भइराखेकै छन् । औषधिहरु पनि म्याद नाघेका बिक्री भइराखेको छ । त्यस्तै घिऊको कुरा सुनिहाल्नुभयो । होटल व्यवसायहरुमा पनि सरसफाइको कमी छ । सबै ठाउँमा विकृति छ, विसंगति छ । हामी सबै कुरामा चनाखो हुन अनुरोध गर्छौं ।

यो वर्ष अदालतमै मुद्दा चलाउनुपर्ने अवस्था कतै रह्यो कि रहेन ?

– अदालतमै मुद्दा त चलाएका छैनौं । मलाई नेपाल सरकारले निरीक्षण अधिकृत भनेर तोकेको छ । निरीक्षण अधिकृतलाई स्पटमै तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने अधिकार छ । र, मैले गरेको कारबाहीमा चित्त नबुझे घरेलु विभागमा पुनरावेदन दिन सकिन्छ । त्यो भएको हुनाले कोही अदालत पनि गएको मैले भेटेको छैन ।

उद्योगी, व्यवसायीहरुमाथि कारबाही गर्दा उद्योग संघ, उद्योग वाणिज्य संघ, व्यवसायी समिति वा राजनीतिक शक्तिबाट कुनै दबाब वा आग्रहको सामना कत्तिको गर्नुपरेको छ त ?

– दबाब त आउँछ । मलाई उद्योग वाणिज्य संघका पदाधिकारीहरुले पटक–पटक फोन गरेर यो सामान्य कुरा हो, तपाईं हामी बसेर मिलाउनुपर्छ, कारबाही नगर्नुस् भनेर भन्नुभाथ्यो । तर गलत गर्ने र उपभोक्ताको हितमा काम नगरिकन नाफालाई मात्रै आफ्नो अभिष्ट ठान्ने व्यापारीहरु र त्यस्तो संगठन कुनै छन् भने पनि तिनीहरुसँग म कुनै सम्झौता गर्दिनँ र आफ्नो कार्यमा अगाडि बढिरहन्छु ।

गलत गरे कारबाही हुने कानुन छ, बारम्बार अनुगमन पनि हुने गरेको छ । तैपनि उद्योगी, व्यवसायहरुमा लापरबाही, हेलचक्य्राइँ, ढाँटछल किन भेटिन्छ ? अटेरी हो कि सचेतनाको अभाव ?

– यो त उद्योगी, व्यवसायीहरुको रातारात धनी हुने चाहना नै हो र यसलाई सक्दो निरुत्साहित पार्नुपर्छ ।

टिप्पणीहरू