फेरि उतै फर्कनु राजनीतिक अपराध हो

फेरि उतै फर्कनु राजनीतिक अपराध हो

– ईश्वरी घर्तीमगर, केन्द्रीय सदस्य, एमाले

हालै सम्पन्न नेकपा एमालेको दशौं महाअधिवेशनबाट कान्छी केन्द्रीय सदस्य बन्नुभएको छ । कसरी लिनुहुन्छ, यो पललाई ?

– २०७१ सालमा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनमा पनि रोल्पाबाट प्रतिनिधि थिएँ । २४ वर्षकी थिएँ, त्यतिबेला । धेरै जिल्लाका पाका कमरेडहरूले रोल्पाबाट दाबेदार कोही महिला नभएर तपाईंंलाई चिठ्ठा परेको होला है ? हामी कपाल फुलेकाहरूको बल्ल पालो आउँदै छ । यी नानी यति सानै उमेरमा प्रतिनिधि आ’की छन् । मानौँ यिनी केन्द्रीय सदस्य भइहालिन् भने पार्टी कस्तो होला ? नयाँ पुस्तालाई स्थान दिने नाममा पुराना–पाकालाई विस्थापित गर्ने विकृति बढ्यो भनेर धेरैले उडाउनुभएको थियो ।

युवा पुस्ताभन्दा जनवर्गीय संगठनमै केन्द्रित होउन् भन्ने पाका कमरेडहरूको चिन्तनका कारण केही निराश पनि भएँ तर त्यही महाधिवेशनबाट २९ वर्षीया रचना खड्कालगायत केही चिनेकै युवा चुनाव लडेरै केन्द्रीय सदस्यमा निर्वाचित भइसकेपछि म अत्यन्तै उत्साहित भएँ । पार्टी काममा डटेरै लाग्ने प्रणका साथ जिल्ला फर्किएँ । अहिले दशौँ महाधिवेशनमा पनि प्रतिनिधि भएँ तर केन्द्रीय सदस्य हुने मनस्थिति बोकेर आएकी थिइनँ । तर, नेतृत्वले ३ सय १ जनाको सूचीभित्र मलाई पनि समेट्दा खुशी छु । उमेरको हिसाबले केन्द्रीय कमिटीमा सबैभन्दा कान्छो बन्नु मेरो लागि अवसरभित्रको चुनौती हो । यो अवसरलाई मैले कत्ति पनि नआत्तिकन, नहौसिकन, कुशलता र जिम्मेवार तरिकाले निभाउनुपर्छ ।

रोल्पा माओवादीको प्रभाव क्षेत्र, त्यस्तो ठाउँंमा एमालेप्रतिको मोहचाहिँ कसरी पैदा भयो ?

– माओवादीको ज्यादती र उग्र क्रियाकलापले नै एमालेप्रति मोह जबरजस्ती बढेको हो । मेरो घर तत्कालीन नुवागाउँ गाविसमा एमालेको राम्रो पकड थियो । एमाले प्रभावित क्षेत्र भएकाले माओवादीका अलि वैचारिक र एमालेलाई तह लगाउने नाममा अलि उग्र भएकाहरू त्यहाँ परिचालित हुन्थे । ०५८ सालतिर माओवादीको आँखा छल्दै अमृत बुढाको अगुवाइमा अनेरास्ववियुको कमिटी बनायौँ तर अर्को दिन थाहा पाएर माओवादीले निकै सातो खाए । कमिटीको बैठक बसे हातखुट्टा भाँच्ने धम्की दिए । निगरानी गरिरहे । एउटा पनि बैठक बस्न सकेनौँ ।

०६२ सालको असोजतिर नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन प्रचण्डसँग ६ बुँदे सम्झौताका लागि वामदेव गौतम होलेरीमा खुला सभालाई सम्बोधन गरी नुवागाउँ हुँदै घर्तीगाउँको ब्याङखोला प्रस्थान गर्नुभयो । त्यही सहजताको मौका छोपेर हामीले अरनिको मावि नुवागाउँमा अनेरास्ववियु गठन ग¥यौँ । म उपाध्यक्ष भएँ । स्कुलमा माओवादी र उनका विद्यार्थी संगठनसँग धेरै बहस चल्थ्यो । हामीलाई अनेरास्ववियु विघटन गरेर क्रान्तिकारीमा विलय हुन दबाब दिन्थे तर हामी प्रतिवादमा उत्रिएर आसपासका ४–५ वटा स्कुलमा समेत कमिटी बनाएपछि उनीहरूको दबाबले थेग्न सकेन ।

एसएलसी पास गरेपछि ०६३ सालमा संगठनको सल्लाहअनुसार हामी सदरमुकाम गयौँ । लिबाङको बालकल्याण माविमा त्यो बेलासम्म हाम्रो संगठन थिएन । कोठामा लुकेर ५ जनाको कमिटी बनायौँ । म अध्यक्ष भएँ, अरु ४ जना पदाधिकारीमा बसे । सदस्य बस्ने मान्छे भएनन् । अर्को दिनदेखि पार्टी र अन्य च्यानल प्रयोग गर्दै विद्यार्थीलाई कमिटीमा बसाल्ने अभियान चलायौँ । करिब २ महिनापछि ४० जनाजति पु¥यायौँ । अखिल क्रान्तिकारीले संगठन विस्तार गरेको थाहा पाएर कोठामै आई धम्क्याए तर हामी डराएनाैँ । विस्तृत शान्ति–सम्झौतापछि केही सजिलो भयो तर त्रास पछिसम्मै रहिरह्यो ।

माओवादी अपहरणबाट भागेर सदरमुकाममा धेरै वर्ष विस्थापित भएका नेता शान्तकुमार ओलीको नेतृत्वमा संगठन विस्तारका कार्यक्रम बनाएर जबरजस्ती गाउँ छि¥यौँ । १० वर्षसम्म तहननहस भएको संगठनलाई पहिलेकै अवस्थामा ल्याउनु फलामको चिउरा चपाएजस्तै थियो तर पार्टी र जनवर्गीय संगठन दुवैतिर एकैसाथ काममा लाग्दा सोचेभन्दा राम्रो सफलता मिल्योे ।

टंक कार्की, नरेश खरेलजस्ता पुराना नेता कमिटीमा नअटाउने अनि कोमल वली, मोतीलाल दुगडजस्ता नवप्रवेशीले अवसर पाउने । यसले नमीठो लागेन ?

– हाम्रो पार्टी हिजो प्रदेश÷संघ सरकारको नेतृत्वमा रहँदा या हाल सबैतिर प्रमुख प्रतिपक्षीको भूमिकामा रहँदा होस्, देशको निर्णायक राजनीतिक शक्तिको रूपमा आफ्नो हैसियत कायम गरिरहेको छ । जनताबाट पहिलो पार्टीको रूपमा अनुमोदित एमाले थुप्रै पुराना अनुभवी कमरेडहरूको त्याग, संघर्ष, बलिदान र योगदानको जगमा उभिएको छ । पुराना अनुभवबाट शिक्षा लिँदै नयाँ चुनौतीलाई सामना गर्ने परम्परा बनेको छ ।

यस महाधिवेशनबाट केही पुराना कमरेड बिदा हुनुभएको छ भने हामीजस्ता युवा कमिटीमा प्रवेश गरेका छौँ । नयाँ नेतृत्व स्थापित हुँदा स्वाभाविक रूपमा पुरानो नेतृत्व विस्थापित हुन्छ– यो वैज्ञानिक नियम नै हो । उहाँहरू पनि कमिटीमा रहन सक्दा सुनमा सुगन्ध हुने थियो होला तर आज हाम्रो पार्टीको काँधमा जुन स्वाधिनताको रक्षा, सामाजिक परिवर्तनको नेतृत्व पुरा गर्ने अभिभारा छ । अबका चुनौतीलाई सामना गर्ने, सम्भावनालाई बोकेर हिँड्न सक्ने जुन विभिन्न क्षेत्र, भूगोल, समावेशीसहितको पार्टी निर्माण भएको छ ।

यो राम्रो भएको छ भन्ने मलाई लागेको छ । कमिटीमा छुटेका पुराना कमरेडलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ता सायद पार्टी नेतृत्वलाई पनि होला तर ३ सय १ भित्रका र छुटेका व्यक्ति र व्यक्तित्वको झिनामसिना कुरामा टिप्पणी गर्न मलाई उपयुक्त लाग्दैन ।

सबै दलमा उम्मेदवार बन्ने र पत्रकार रहने दोहोरो चरित्रको कारण नेपाली पत्रकारिता जगत आलोचित हुँदै आएको छ । तपाईं पनि पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा होमिनुभयो। जिते नेता, हारे पत्रकार बन्ने यो शैली र प्रवृत्ति कसरी सुधार्ने ?

– म प्रेस चौतारी रोल्पाको अध्यक्ष र पत्रकार महासंघको जिल्ला सचिव पनि भएँ । पछि पार्टीमा पूर्णकालीन कार्यकर्ताजस्तै भएर काम गर्ने इच्छा जाग्यो, त्यसपछि प्रेस चौतारी र पत्रकार महासंघको साधारण सदस्यता त्यागेँ । नवीकरण गरिनँ । जिल्लाका धेरै साथीले कत्ति न आदर्श र नैतिकता देखाउनुपरेको ? भनेर गाली पनि गरे । स्थानीय चुनावमा धेरै जिल्लाका पत्रकार टिकट लिएर मैदानमा होमिए । मेरो मनमा यी मान्छे जिते त नेता बन्लान् हारे भने पनि राजनीतिमै जम्लान् कि पत्रकारितामै लाग्लान् भन्ने कौतुलता थियो तर हारेका प्रायः साथीले पत्रकारिता रोजेको देखियो ।

यसले गरिमामय र सम्मानित पत्रकारिता क्षेत्रप्रति आमजनताले गरेको भरोसा, विश्वासमा प्रश्नचिह्न खडा गर्छ । पत्रकारिता पेशा र आफ्नो पार्टीप्रति पनि धोका हो नि यो ! पार्टीमा वर्षौं काम गरेकालाई अवसर नदिएर पत्रकारलाई टिकट दिनु अनि त्यो पत्रकार चुनाव हारेपछि पार्टी संगठन विस्तारमा नलागी फेरि पुरानै पेशामा फर्किनु राजनीतिक अपराध हो । यसले स्वयं व्यक्तिलाई पनि फाइदा गर्दैन । दुबै हातमा लड्डुको मनोभावना राख्नै हुन्न । यो सवालमा पत्रकार विधानमै स्पष्ट खुलाएर आँखा चिम्ली कडाइसाथ लागू गर्नुपर्छ । महासंघ चुनावको जोड–घटाउ गरेर यी गम्भीर कुरामा अल्झिनु हुन्न ।

एमालेका पदाधिकारीमा जम्मा २ जना मात्र महिला अटाए । ३३ प्रतिशत सहभागिता भन्ने कुरा त संविधानमा मात्र लेखिने रहेछ है ?

– २०७२ सालको संविधानमा राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता अनिवार्य हुनुपर्नेछ भनी स्पष्ट लेखिए पनि नेपालका सबै राजनीतिक दलले पार्टीभित्र ८ वर्षसम्म पनि त्यसलाई कार्यान्वयन गरेनन् । पछिल्लो समय समावेशीविहीन कमिटीलाई निर्वाचन आयोगले नै मान्यता नदिने भनेपछि बाध्य भएर सबै पार्टी आफूले लेखेको संविधान बाध्यकारी अवस्थामा मात्रै लागू गर्दै छन् ।

सबै पार्टीका कमिटीमा पहिलोपटक ३३ प्रतिशत महिला सहभागिता भइरहेका छन्, यसलाई पनि ठूलो उपलब्धिका रूपमा लिनुपर्छ । कमिटी समावेशी भए भइहाल्यो नि, पदाधिकारी किन समावेशी चाहियो ? भन्ने चिन्तन र बुझाइ सबै पार्टीको नेतृत्व पंक्तिमा छ । यो सोचलाई अब फराकिलो बनाउँदै लैजानुपर्छ । नत्र सबै पार्टीका पदाधिकारी महिलाविहीन हुने सम्भावना रहन्छ ।

नवौँ महाधिवेशनमा विद्या भण्डारी र अष्टलक्ष्मी शाक्यले फरक–फरक टिमबाट खुला रूपमा लडेर राम्रो मतसहित उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । अहिले दशौँ महाधिवेशनको पदाधिकारी निर्वाचनमा पनि पुरुषसँगै खुला प्रतिस्पर्धामा उत्रिनुभएका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव पद्मा अर्यालले पपुलर मतसहित जित्नुभयो । पुरुष नेताहरूसँग खुला रूपमा भिड्दा पनि महिलाले सजिलै जित्न सक्छन् है भन्ने राम्रो सन्देश हो यो ।

अहिले खुला कोटा भन्नेबित्तिकै पुरुषको मात्रै हो भन्ने बुझाइ महिला र पुरुष सबैमा छ । यो बुझाइ त्यागेर महिलाले पनि खुला कोटामा लड्ने हिम्मत देखाउनुपर्छ । राजनीतिक जीवनभरि आरक्षण कोटाबाटै आफ्नो राजनीतिक भविष्य सुनिश्चित गरिरहनुपर्छ भन्ने भावनाचाहिँ त्याग्नुपर्छ । पार्टीभित्र होस् या राजनीतिक नियुक्ति र सांसद, मन्त्री बन्ने सवालमा समेत आरक्षणबारे स्पष्ट मापदण्ड बनाउनुपर्छ । एउटै व्यक्तिलाई पटकपटक आरक्षणमार्फत अवसर दिँदा नयाँ पुस्ताको उदय हुन पाउँदैन ।

 रोल्पामा एमालेको स्थिति कस्तो छ ?

– माओवादीले आफ्नो आधारइलाका भनेर दाबी गरेको रोल्पामा ०७४ सालको स्थानीय निर्वाचनमा ११ वटा वडासहित १० तहमध्ये २ वटा गाउँपालिकामा एमालेले जितेको छ । केही पालिकामा थोरै मतले पराजित भएका थियौँ भने धेरै पालिकामा सम्मानजनक मत एमालेलाई प्राप्त भएको थियो ।

रोल्पाजस्तो ठाउँमा भएको यो उपलब्धिलाई हामीले ठूलै सफलता मानेका छौँ । अहिले संगठनको गतिविधि तीव्र छ । सबै वडा तथा पालिकामा अधिवेशन सम्पन्न भएर नयाँ कमिटी सक्रिय भएका छन् । जनवर्गीय संगठन उस्तै छन् । हिजो माओवादी आन्दोलनमा लामो समय लागेका नेता–कार्यकर्ता र तत्कालीन जनमुक्ति सेना र तिनका कमाण्डर अहिले एमाले बनाउने अभियानमा लामबद्ध भएर लागिरहनुभएको छ, यसले रोल्पा एमालेलाई थप उत्साहित बनाएको छ ।

अब हुने ३ तहका निर्वाचनलाई लक्ष्य गर्दै जिल्ला पार्टीले रणनीतिक योजना तयार पार्दै छ । सबै नेता–कार्यकर्ता पंक्तिले थप मिहिनेतसाथ पार्टी काममा केन्द्रित हुँदा रोल्पामा हिजोभन्दा फरक नतिजा दिन सकिन्छ भन्नेमा विश्वस्त छौँ ।

टिप्पणीहरू