अरिंगालको पल्टन यसै बनाउन खोज्या हो र ?

अरिंगालको पल्टन यसै बनाउन खोज्या हो र ?

न रहे बाँस, न रहे बाँसुर । एउटै मत पनि प्रस्तुत गर्न नदिएपछि वा नगरिएपछि फरकमत प्रस्तुत हुने त कुरै भएन । नेपाली समाज दलाल पुँजीवादी हो र अबको बाटो राष्ट्रिय पुँजीको विकास गर्दै, समाजवादको आधार निर्माण गर्ने भन्दिनलाई नयाँ लेख्नै परेन, बोल्नै परेन । नवौं महाधिवेशनले संश्लेषण गरेको सूत्र छँदै छ । यो पेश गरिदिएपछि कस्तो नीति, कस्तो कार्यक्रम र कस्तो नेतृत्व भन्ने प्रश्न पनि बाँकी रहेन । नेतृत्वलाई हाइसञ्चो र कार्यकर्ता तथा पार्टी सदस्यहरू पनि मख्खै । अब झन् त के चाहियो र, जो जिता वही सिकन्दर ।

आजका दिनमा समाजवादको आधार निर्माण गर्न कस्तो विचारधारा बोकेको पार्टी चाहिन्छ ? कस्ता कार्यकर्ता तथा पार्टी सदस्यहरू चाहिन्छन् ? त्यस्तो पार्टी, कार्यकर्ता र सदस्यहरू तयार गर्न के–कस्तो प्रकारको सैद्धान्तिक, वैचारिक तथा राजनीतिक प्रशिक्षण तथा अल्पकालीन र दीर्घकालीन कार्यक्रम चाहिन्छन् ? विचारधारात्मक हिसाबले प्रष्ट, जुझारु संगठन र सदस्यहरू चाहिने हुन् कि बिहान सबेरै उठेर सहयोद्धा कमरेडहरूको ढाड फुस्काउने कला सिक्न टुँडिखेलतिर धाउने सदस्यहरू ? अरिंगाल गण चाहिने हो अथवा सही र गलत छुट्ट्याउन सक्ने आलोचनात्मक चेत भएको ? किनभने धेरै समयदेखि नै पार्टी कार्यकर्ता तथा सदस्यहरू एकठाउँमा भेला भएर कुनै खास विषयमा जस्तो कि एमसिसी भनेको के हो र यो हामीले स्विकार्नु किन ठीक हुन्छ अथवा किन स्विकार्नु गलत हुन्छ भनेर छलफल बहस भएको छैन ।

समाज साँचो अर्थमै दलाल पुँजीवादी प्रकृतिको छ अथवा यो त्योभन्दा पनि अघि बढेर पुँजीवादी प्रकृतिको बनेको छ ? वा अझै पनि यहाँ सामन्ती अवशेष विद्यमान छन् भनेर बहस, छलफल भएको छैन । यस्तो भएपछि पार्टी कार्यकर्ता तथा सदस्यहरूले अरूलाई त कुरै भएन आफू स्वयंलाई पनि समाजवादी क्रान्तिमा लाग्न कसरी तयार पार्ने ? राष्ट्रिय पुँजी भनेको के हो र यो कसरी निर्माण हुन्छ भनेर कसरी जान्ने र सो कुरा अरूलाई बुझाउने ? यदि यी कुराहरू जानिएन भने समाजवादलाई कसरी बुझ्न सकिन्छ र समाजवादको जग निर्माण गर्ने काममा सहयोगी बन्न सकिन्छ ? बरु अहिले त कस्तो देखियो भने कुन ब्यक्ति हाम्रो हो र कुन व्यक्ति हाम्रो होइन भनेर पो छलफल भयो । कुन कमरेडले समाजवादमा जाने आधार तयार गर्न भूमिका खेल्न सक्नुहुन्छ भनेर होइन कि कुन कमरेडले प्रश्न गर्नुहुन्न भनेर अघि बढाउने र जिम्मेवारी दिने काम पो गरियो र यसैको आधारमा नेतृत्व छानियो ।

यस्तो तरिका अपनाउँदा जो–जो लाभान्वित हुन पुगे ती–ती औधि खुशी देखिन्छन् तर जो–जो मानिस र अन्यत्रका पनि लोकतन्त्र, सामूहिक विचार, छलफल, बहस र सामूहिक निर्णय मान्नुपर्छ भन्ने धारणा राख्छन् ती–ती मानिस औधि निराश र दुःखी देखिन्छन् । धेरैले यस्तो तरिका बेठीक भयो भनिरहेका छन् । यसले अन्ततः पार्टीलाई वैचारिक रूपले, एकताको हिसाबले भुत्ते बनाउनेछ, कमजोर बनाउनेछ भनिरहेका छन् । हुन पनि त्यस्तै भइरहेको देखिन्छ भलै जिम्मेवारी पाएकाहरूले अहिले यो कुरालाई अस्वीकार किन नगरुन् !

समाजवाद बोलेर, गफ दिएर वा भाषण गरेर आउने भए धेरै चिन्ता लिनुपर्ने थिएन । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा बनेपछि नै नेपालमा समाजवादको आधार निर्माण भइसकेको हुने थियो वा अल्लि अघिको कुरा गर्ने हो भने राजा वीरेन्द्रको नेपालीको जीवनस्तर ‘एसियाली मापदण्ड’ मा पु¥याउने भन्ने नारा बनेलगत्तै नेपालको परक्यापिटा भारतको भन्दा धेरै भइसकेको हुने थियोे अर्थात् नेपाल समृद्ध र नेपाली सुखी भइसकेका हुने थिए ।

तर, कुरा यस्तो त होइन । आजको समयको समाजवादको आधार निर्माण त समाजवादी विचारधारा, तदनुसार नीतिनियम, त्यसलाई कार्यान्वयनमा लैजाने स्पष्ट दृष्टिकोण र इच्छाशक्ति तथा डरलाग्दो हुटहुटीले मात्रै गर्न सक्छ । एमसीसीलाई नेपालले किन स्वीकार्नुपर्छ अथवा किन स्वीकार्नु हँुुदैन भनेर भन्न नसक्ने मानिसको झुण्डको पार्टी बनाउनुुको कुनै अर्थ छैन ।

अस्पताल किन सस्तो र सर्वसुलभ हुनुपर्छ वा समान शिक्षा किन जरुरी छ भनेर नबुझ्ने कार्यकर्ता बनाउनुको के अर्थ ? जातपात र उँचनीचजस्ता सामाजिक कुरीति गलत हुन् भन्न नसक्ने, गहुँत पिएमा कोरोना ठीक हुन्छ भनेर मान्ने कार्यकर्ता बनाउनुको के अर्थ ? शोषण, दमन र अन्यायविरुद्ध बोल्नुको सट्टा घोसेमुन्टो लगाएर समर्थन गर्ने कार्यकर्ता बनाएर के हुन्छ ? समाजवादी सोच भनेको राष्ट्रिय पुँजी निर्माण गर्नुपर्छ, अन्याय र अत्याचारविरुद्ध बोल्नुपर्छ, सबैखाने कुरीतिको खिलाफमा आवाज बुलन्द गर्नुपर्छ भन्ने सोच हो ।

यस्तो प्रकारको सोच भएको कार्यकर्ता भए पो तिनले समाजवादको आधार निर्माण गर्ने काममा भूमिका खेल्न सक्छन् तथा आफू जस्तै मानिस तयार गर्न सक्छन् । यस्तो चेत भएको मान्छेको अभावमा समाजवादको आधार निर्माण गर्ने कार्यमा कसरी सहभागिता जुट्ला र परेको बेला नेतृत्वमा रहेर काम गर्न सकिएला ? यो विषयमा सोच्न जरुरी छ ।

अब महाधिवेशन सकिएर नयाँ नेतृत्व समेतको निर्माण भइसकेको अवस्थामा थप कुरा बोलेर बखेडा झिक्ने कुरा उति नैतिक हुँदैन । मौजुदा नेतृत्वलाई काम गर्न दिनुको विकल्प छैन । तर, पार्टीले आगामी दिनमा लिने दिशा र गतिबारे छलफल गरिएन, बहस भएन र शिक्षा महँगो भए पनि समाजवादको यात्रा यही हो भन्ने, स्वास्थ्य महँगो भए पनि, पिउने पानी, बिजुली, कृषिजन्य उत्पादन आदि आदि सबै कुरा महँगो भए पनि समाजवादको आधार यही नै हो भन्दै हिँडिरहने हो भने समाजवादको आधार बन्ने होइन कि त्यो त प्रकारान्तरले पुँजीवादकै सेवा गरेकोे ठहरिनेछ ।

यसरी हेर्दा मौजुदा नेतृत्वले आफूले लिने बाटोमाथि स्वस्थ आलोचना, टीकाटिप्पणी गर्न दिने वातावरण दिएर अघि बढ्यो भने एकताबद्ध भएर अघि बढ्न धेरै सहज हुनेछ । तर, यदि विचारमा कर्टेन आइरनको तरिका लागू गरियो भने त्यसले सारमा एकमना एकतालाई नै खण्डित गर्नेछ र समाजवादको यात्रामा बाधा पु¥याउनेछ ।

टिप्पणीहरू