कलाकारलाई राजतन्त्र र गणतन्त्र बराबर

कलाकारलाई राजतन्त्र र गणतन्त्र बराबर

कलाकार राष्ट्रका गहना हुनुपर्ने हो तर हाम्रा कलाकार त दलका ‘मादल’ भए । आवश्यक छउञ्जेल ‘घिन्ताङ घिन्ताङ’ बजायो, खरी झरेपछि एउटा कुनामा फालिदियो । कलाकार पनि उस्तै, सीमित स्वार्थ बोकेर कुनै दलको झण्डा बोक्ने अनि स्वार्थपूर्ति नभएपछि चैते प्रवृत्ति देखाउने ।

जतिखेर शेरधन राई सञ्चारमन्त्री थिए, सो समयमा आफू ‘खाँटी एमाले’ भन्दै सरिता लामिछानेले राजीव पहारीहरूको जोडबलमा चलचित्र विकास बोर्डको बोर्ड सदस्य बन्ने प्रयास गरिन् ।

एमाले बनेर खोजेजस्तो लाभको पद नपाएपछि सरिता राजकुमार राईलाई अगाडि लगाएर बूढानीलकण्ठ पुगिन् र केही वर्षअघि कृष्ण मल्ल, पुष्कर लामा लगायतसँगै चारतारे झण्डामुनि प्रवेश गरिन् । राजावादी, पञ्च हुँदै माओवादी भएका नीर शाह पनि कांग्रेस बनिसकेका छन् । उनी नेपाल टेलिभिजनको अध्यक्ष बन्ने लाइनमा छन् ।

कुनै समय प्रचण्डसँग ‘कि लाऊ माया मै तिर कि लाऊ उहीतिर’ गीतमा नाचेर होस् वा वाइसिएल अध्यक्ष सागर थापालाई भाइटीका लगाएर होस् रेखा थापा माओवादी नजिक देखिएकी थिइन् । उनी ४ वर्षअघि राप्रपामा प्रवेश गरी हालै सम्पन्न महाधिवेशनमा महामन्त्रीमा कुन्ती शाहीसँग ३६८ मतान्तरले पराजित भइन् । पराजयपछि रेखा खुशी देखिन्थिन् ।

जनआस्थासँग कुराकानीका क्रममा आफूलाई १६४० मत दिने मतदाताप्रति आभार प्रकट गरिन् । भनिन्– राप्रपामा प्रवेश गरेको चार वर्षको अवधिमा पार्टीका यति धेरै साथीहरूको मन जित्न सकेँ, थोरै मतान्तरले पराजित भए पनि यसलाई जितको रूपमा लिएको छु, खुशी छु । अध्यक्ष पदमा कमल थापा पराजित भएको र राजेन्द्र लिङ्देन विजयी भएकोमा रेखा खुशी देखिन्थिन् ।

कमल थापाहरूले गणतन्त्रवादी भनेर प्रचार गरेकै कारण आफू पराजित भएको टिप्पणी गरेकी छन्, ‘मैले आफूलाई हिन्दू नारी र नेपालवादी भनेर मत मागेँ तर केहीले मलाई गणतन्त्रवादी भनेर प्रचार गरिदिए, सोही कारण मेरो केही मत काटियो ।’ यसका अलावा कुन्तीले २० वर्षदेखि राजनीति प्रारम्भ गरेको र आफूले ४ वर्षदेखि मात्र राप्रपाको राजनीति गर्दा १६४० मतदाताको मन जित्न सकेको उल्लेख गर्दै रेखाले आगामी निर्वाचनमा अरू मतदाताको समेत मन जित्ने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

उसो त हिजो करिष्मा मानन्धर, अशोक शर्मा, सरोज खनाललाई बाबुराम भट्टराईको कुन केमिष्ट्रीले तान्यो र नयाँ शक्तिमा होमिए ? आज पार्टीमा उनीहरूको हविगत के छ ? करिष्माले पछिल्लो समय बालकोटसँग सामीप्य बढाएकी छन् ।

जीवनभर दरबार, पञ्च र गाई पार्टीको हितमा काम गरेकी कोमल वली अहिले खाँट्टी कम्युनिष्ट मात्र बनेकी छैनन्, केपी ओलीको निगाहमा केन्द्रीय सदस्य बनेकी छन् । गोपीकृष्ण हलका मालिक उद्धव पौडेल, रक्सीका नाममा एफएम चलाउने प्रदीपकुमार उदयहरू यसअगाडि नै गाई पार्टीमा लागेका छन् । निर्माता संघका महासचिव रोज राना प्युठानबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । यस्तै कांग्रेसको महाधिवेशनमा प्रतिनिधिको उम्मेदवार बनेकी निर्देशक तथा कोरियोग्राफर रेनेशा बान्तवा राई पराजित भएकी छन् ।

कुन कलाकार कता ?

युवराज लामाकै समकक्षी हुन् कृष्ण मल्ल, शम्भुजित बाँस्कोटा, राजेन्द्र खड्गी, भुवन केसी । मोहन निरौला, चेतन कार्की, शिव श्रेष्ठ राजावादी हुँदै माओवादी बने । शम्भुजित जतिको अवसर पाउने कलाकर्मी सायदै होलान् । राजनीतिक दल अदल बदलको मामलामा सर्वाधिक चालु मानिन्छन् निर्देशक नारायण पुरी । विद्यार्थी राजनीति गर्दा मसालको कार्यकर्ता मानिने पुरी समयक्रम संगै काँगे्रस, राजावादी र माओवादी बने । भुवन केसीले बल्खु गएर पूर्वप्रधानमन्त्री झलनाथ खनालकै हातबाट पार्टी सदस्यता मात्र लिएनन्, चुनावको टिकट दिन्छु भनेर पछि थाङ्नामा सुताइयो ।

पुराना पुस्ताका कलाकारको पार्टी र तिनको नेतासँग नाटकीय नै भए पनि राम्रो सम्बन्ध भएपछि नयाँ पुस्ताका कलाकारले कुनै नेतासँग कुम जोडेर हिँडेको देखिँदैन । निखिल उप्रेती एमाले समर्थक मानिन्छन् । कलाकार संघका पूर्वअध्यक्ष नवल खड्का पनि ज्ञानेन्द्र कालमा राजावादी हुँदै अहिले खाँट्टी कमरेड बनेका छन् । निर्देशक समाजका पूर्वअध्यक्ष केपी पाठक एमाले हुँदै माओवादी बने । दिनेश डिसी एमालेमै छन् ।

जीवनभर एउटा फिल्म निर्देशन गरेका निलहरि काफ्ले कांग्रेस हुँदै गर्दा चलचित्र विकास बोर्डको सदस्य र पछि एमाले भए । अहिले महेश बस्नेतलाई प्रभावमा पारी सेजको अध्यक्ष बन्न पुगेका छन् । उनीजस्तै जीवनमा एउटै मात्र फिल्म निर्देशन गरेका शैलेस आचार्य कांग्रेसकै कोटामा विकास बोर्डको अध्यक्ष भए ।

फिल्मी करिअर समाप्त भएसँगै राजनीतिक दलको झण्डा समाउँदै पार्टी सत्तामा गएपछि कुनै पद लिने चलन हामीकहाँ नौलो रहेन । एक चलचित्र समिक्षक ठट्टा गर्दै भन्छन्, ‘जो–जो राजनीतिमा होमिएका छन् तिनीहरूको अनुहार हेर्दा चलचित्र क्षेत्रमा ‘डेट एक्स्पायर औषधि’ हुन् । यिनीहरू जहाँ गए पनि केही भ्यालु राख्दैन ।’

टिप्पणीहरू