राजनीतिमा एक्लै हिँड्ने प्रयत्न नै अहंकार हो : प्रचण्ड

राजनीतिमा एक्लै हिँड्ने प्रयत्न नै अहंकार हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताउनुभएको छ ।

भारतीय जनता पार्टीका नेता हर्षबर्धनले नेपाली काँग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै जना पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएको भन्दै खुशी लागेको बताएका थिए । त्यही भनाइको जवाफ दिने क्रममा प्रचण्डले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति समेत रहेको बताउनुभएको हो ।

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइको पनि खण्डन गर्नुभयो । लिङदेनले गाउँमा नेता आए जनताले चोर आयो भन्न थालेका छन् भन्दै राजनीतिप्रति वितृष्णा बढेको बताउनुभएको थियो । त्यसको जवाफमा प्रचण्डले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोज्नेहरुले त्यस्ता भ्रम फैल्याएको दाबी गर्नुभयो ।

‘अघि एक जना नेता (राजेन्द्र लिङ्देन) ले भन्नुभयो– नेता आयो भने चोर आयो भन्छन्’, प्रचण्डले भन्नुभयो, ‘राजनीतिक दल र तिनका नेतालाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिन्छ ।’

आन्दोलन र सडकमा रहँदा जनतामाझ गरिएको वाचा पूरा गर्न सत्तामा पुगेका बेला बिर्सिने राजनीतिक परिपाटीको समीक्षा गर्नुपर्ने पनि प्रचण्डको भनाइ छ । सत्तामा पुगेपछि नेताहरुमा दम्भ बढेर आउने भएकाले काम गर्न नसकेको आफैंले अनुभव गरेको बताउँदै उहाँले गत वर्षदेखि गणतन्त्र र राजनीतिक उपलब्धीमाथि खतरा बढेर गएको पनि उल्लेख गर्नुभयो ।

शान्ति वार्ता गर्ने पहिलो व्यक्ति शेरबहादुर देउवा रहेको भन्दै उहाँले शान्ति प्रक्रियालाई विभिन्न चुनौती पार गरेर पूरा गरेको उल्लेख गर्नुभयो ।

टिप्पणीहरू