पोखरामा पनि मेलम्ची परियोजना !

पोखरामा पनि मेलम्ची परियोजना !

पोखरावासीको प्यास मेटाउन त्यहाँ पनि दोस्रो मेलम्ची खानेपानी परियोजनाको तर्जुमा गरिएको छ । खानेपानीको प्रमुख स्रोत भनिने मर्दीमा लेदो देखिएकाले पिउन अयोग्य पानी आउने समस्या बल्झिएपछि नयाँ परियोजना अघि सारिएको हो ।

खानेपानी आपूर्तिका लागि पोखरा खानेपानी संस्थानले योजना अघि सारिसकेको बताइएको छ । पोखरा महानगरका ३३ वटै वडालाई पुग्ने गरी मादी खानेपानी गुरुयोजना ल्याएको हो ।

मादी योजनालाई राजधानीको मेलम्ची आयोजनासँग दाँजिएकाले यसलाई दोस्रो मेलम्ची भनिएको हो । ‘मादीबाट पोखराका सबै नागरिकलाई पुग्ने गरी पानी ल्याउन सकिन्छ । यसको अध्ययन सकिएको छैन,’ संस्थानका प्रमुख आशिष कार्कीले भने, ‘अरु स्रोतको पनि खोजी भइरहेको छ ।

पोखराको जनसंख्या तीव्र रूपमा बढिरहेकाले मादीसँगै हर्पन खोलाबाट खानेपानी ल्याउन सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । संस्थानले पोखराको जनसंख्या १५ लाख पुग्दासम्म पानी आपूर्ति सहज हुने गरी आयोजना प्रस्ताव गरेको जानकारी दिएको छ ।

हर्पन खोलाबाट दैनिक एक करोड लिटर पानी पोखरा ल्याइने संस्थानको दाबी छ । उक्त पानीलाई घाँटीछिनामा इन्टेक बनाएर हल्लनचोकमा ल्याइने छ । त्यहाँबाट उपभोक्तालाई वितरण गर्ने प्रस्तावित योजना छ ।

यो आयोजनाको निम्ति १२ किलोमिटर मात्र पाइपलाइन बिस्तार गरे पुग्ने अनुमान गरिएको छ । हाल पोखरामा ४५ हजार धारा जडान गरिसकिएको छ । पछिल्ला दिनमा तीव्र शहरीकरण भएकाले पोखरामा पनि खानेपानीको अभाव देखिन थालेको छ ।

टिप्पणीहरू