गुरुहरुलाई स्थायी गराउने निर्णयप्रति विद्यार्थीहरु रुष्ट

गुरुहरुलाई स्थायी गराउने निर्णयप्रति विद्यार्थीहरु रुष्ट

त्रिभुवन विश्वविद्यालयका करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने निर्णयप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।

सत्तारूढ दलनिकट विभिन्न विद्यार्थी संगठनहरूले आज एक विज्ञप्ति सार्वजनिक गर्दै करार प्राध्यापकलाई स्थायी गराउने निर्णय तत्काल खारेज गर्न मागसमेत गरेका छन् ।

संयुक्त विद्यार्थी सङ्गठनको बैठकले उक्त निर्णय फिर्ता नगरे प्रतिरोधमा उत्रिने चेतावनीसमेत दिएको छ । आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने सो क्रियाकलापले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने उनीहरुको ठहर छ । साथै, उनीहरुले यस निर्णयलाई कार्यान्यवनमा जान नदिने दाबी पनि गरेका छन् ।

यसै विषयलाई लिएर बैठकले त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको गरेकोप्रति खेद व्यक्त गर्दै भोलि एक बजे कीर्तिपुर क्याम्पसमा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको छ ।

विपक्षी विद्यार्थी सङ्गठन अनेरास्ववियुले पनि निर्णय खारेज गर्न माग गरेको छ । अनेरास्ववियुले आज त्रिवि सेवा आयोगका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । हिजो मात्रै त्रिवि निर्णयविरुद्ध सत्तारुढ विद्यार्थी सङ्गठनले त्रिवि परिसरमै प्रदर्शन गरेका थिए ।

टिप्पणीहरू