माओवादीमा पदाधिकारी थपिए, सदस्य पनि बढाइने

माओवादीमा पदाधिकारी थपिए, सदस्य पनि बढाइने

नेकपा (माओवादी केन्द्र) ले प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुको संख्या बढाउने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले संख्या बढाउने निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य देव गुरुङका अनुसार यसअघि ७ जना रहने भनिएको पदाधिकारी ९ पुर्याइएको छ । उहाँका अनुसार २ सहसचिव थपिने भएका हुन् । यसअघि १ सहसचिवको व्यवस्था थियो । आजको निर्णयले सहसचिवको संख्या ३ पुगेको छ ।

प्रदेश कमिटीमा १ जना सहसचिव रहने अन्तरिम विधान परिमार्जन गरी ३ जना पुर्याइएको नेता गुरुङले जानकारी दिनुभयो । यो संगै अब माओवादी केन्द्रको प्रदेश पदाधिकारीमा १-अध्यक्ष, ३-उपाध्यक्ष, १-सचिव, ३-सहसचिव र १-कोषाध्यक्ष रहनेछन् ।

बैठकले प्रदेश कमिटीमा रहने सदस्य संख्या पनि बढाउने निर्णय गरेको छ । माओवादीले यसअघि सबै प्रदेश कमिटी १७५ सदस्यीय हुने विधानमा व्यवस्था गरेको थियो । अब न्यूनतम १७५ कायम गरी प्रदेशको जनसंख्या र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको संख्याका आधारमा सदस्य संख्या बढाइने छ ।

‘सबै प्रदेशमा सदस्य थपिएको छ । धेरै जनसंख्या र निर्वाचन क्षेत्र रहेको प्रदेशमा धेरै र कम रहेका प्रदेशमा कम संख्यामा सदस्यहरु थपिने छन्’, उहाँले भन्नुभयो ।

माओवादीले पर्सि सात वटै प्रदेशमा एकैसाथ सम्मेलन गर्दैछ । सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल उद्घाटन गर्नुहुनेछ ।

माओवादीले यसअघि नै कुनै पनि तहका सम्मेलनमा जनप्रदर्शन नगर्ने निर्णय गरिसकेको छ। कोभिडको जोखिम कायमै रहेका कारण प्रतिनिधिहरुलाई मात्र सहभागी गराएर सम्मेलन गर्ने तयारी गरिएको गुरुङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय सम्मेलनमा देशभरबाट छानिएका करिब १५ सय प्रतिनिधि सहभागी हुनेछन् ।

टिप्पणीहरू