आगलागी पीडित परिवारलाई ललितपुर महानगरले १० लाख दिने

आगलागी पीडित परिवारलाई ललितपुर महानगरले १० लाख दिने

गत म्हः पूजाका दिन मंगलबजारस्थित नःबहाल चक्रबहीलमा लागेको आगलागीमा मृत्यु तथा घाइते भएकाको परिवारलाई ललितपुर महानगरपालिकाले १० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

गत कात्तिक १९ गते म्हः पूजाको दिन दियोबाट सल्केर भएको आगलागीमा परी मंगलबजारका ६७ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, उनकी ३५ वर्षकी छोरी अञ्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाति निर्जलको मृत्यु भएको थियो ।महानगरीय विपद् व्यवस्थापन समितिको हिजो बसेको बैठकले प्रभावित परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । यसैगरी, बैठकले आगलागीमा परेर घाइते भएका सबैको औषधोपचारको खर्चसमेत महानगरले नै बेहोर्ने बताइएको छ ।

आगलागीमा करिब २० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको थियो । यसअघि आगलागी पीडित परिवारलाई महानगरको वडा नम्बर १२ को विपद् व्यवस्थापन समितिले एक लाख रुपैयाँ सहयोग गरेको थियो ।

घरबारविहीन भएकालाई महानगर र वडाले गरेको सहयोग मल्हम भएको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले बताउनुभयो । आगलागीमा परेकामध्ये लक्ष्मीकृष्णका ४२ वर्षीय छोरा निरज ताम्राकार केही दिनको उपचारपछि घर फर्किएका छन् भने ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार हालसम्म पनि उपचारकै क्रममा अस्पतालमा छिन् ।

टिप्पणीहरू