देउवाको पहिलो प्राथमिकता सहमति, त्यसपछि चुनाव

देउवाको पहिलो प्राथमिकता सहमति, त्यसपछि चुनाव

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा नेतृत्व चयन सहमतिका आधारमा हुने बताउनुभएको छ । सभापतिमा अर्को एक कार्यकाल दोहोरिने तयारीमा रहनुभएका देउवाले सहमति नभए प्रतिस्पर्धाको विकल्प भने खुला रहने पनि प्रष्ट पार्नुभयो ।

पूर्वमन्त्री तथा पार्टीका सह–महामन्त्री डा. प्रकाशहरण महतद्वारा लिखित ’नेपाली काँग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक आज सार्वजनिक गर्दै देउवाले सहमति नहुँदा प्रतिस्पर्धाबाट नेतृत्व छानिने भन्दै हार–जीतलाई स्वाभाविक रुपमा लिनुपर्ने पनि बताउनुभयो । प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटुता, मनोमालिन्य र असहिष्णुता प्रदर्शन नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौँ । केही लागेन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला । प्रतिस्पर्धामा जित वा हार हुन्छ । यसलाई सामान्य रुपमा लिएर हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने गर्नुपर्छ । कुनैपनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस्’, उहाँले भन्नुभयो ।

महाधिवेशनमा भाग सहभागी हुन उत्साहपूर्वक काठमाडौं आएका नेता–कार्यकर्ता उस्तै उत्साह बोेकेर जिल्ला फर्किने देउवाको विश्वास छ । उहाँले महाधिवेशन सफलताका साथ सम्पन्न गरेर आगामी निर्वाचनमा काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुट्न पार्टीका नेता–कार्यकर्तालाई आह्वान समेत गर्नुभयो ।

टिप्पणीहरू