कोदोको माग बढ्यो, किन होला ?

कोदोको माग बढ्यो, किन होला ?

पहिले गरिबको खाना भनेर प्रचलित कोदो अहिले सबैको जिब्रोको स्वाद बन्न थालेको छ । कम मलिलो तथा सुख्खा जग्गामा पनि खेती गर्न मिल्ने कोदो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।

भाते संस्कृतिले मान्यता पाएको हाम्रो समाजमा पछिल्लो समय कोदोको माग ह्वात्तै बढेको छ । कोदोका परिकारहरु स्तनपान गराउने महिलाका लागि निकै प्रभावकारी हुने अनुसन्धानबाट पुष्टि भएको छ । साथै, यसले मांसपेशीलाई मजबुत बनाई राख्न सहयोग पुर्याउने बताइएको छ ।

कोदोको महत्वबारे ज्ञान पाउँदै गएकाले होला हाम्रो समाजमा पनि कोदोको माग बढ्दो छ । अधिकांशले रोगप्रतिरोधात्मक क्षमता वृद्धिको विकास गर्न कोदोका परिकारको खोजबिन गर्न थालेका छन् । तर, नेपालमा कोदोको माग बढेपनि उत्पादन भने क्रमशः घट्दो छ ।

२० वर्ष अघिसम्म आन्तरिक उत्पादनले नेपालीको माग धानेको थियो । तर, आन्तरिक उत्पादनमा ह्रास आएपछि भारतीय कोदो ल्याएर बिक्री हुन थालेको व्यवसायीहरुको भनाइ छ ।

सीमानामा रहेको क्वारेन्टिन कार्यालय, काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिनामा पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६ सय १० मेट्रिक टन कोदो आयात गरिएको छ ।

गत वर्ष सोही अवधिमा चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५ सय ७० मेट्रिक टन कोदो आयात भएको थियो । हाल नेपालमा भारतको उत्तरखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात सबैभन्दा धेरै हुने गरेको छ । केही परिमाण समुन्द्र पारिका मुलुकबाट समेत ल्याइने गरेको छ ।

केही वर्षयता, होमस्टे, रेष्टुरेन्टमा कोदोको रोटी र ढिँडो बनाउन समेत कोदो आयात हुने गरेकाले पनि यसको माग बढेको बताइन्छ । कतिपयले घरेलु रक्सी बनाउन पनि कोदोको प्रयोग गर्छन् । तर, कोदोको आन्तरिक उत्पादन भने ठप्प हुन थालेको छ ।

टिप्पणीहरू