चौबिस घण्टा बाँकी हुँदा पनि छैन चाइचुइँ

चौबिस घण्टा बाँकी हुँदा पनि छैन चाइचुइँ

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन भोलिदेखि काठमाडौँमा शुरु हुँदैछ । तर, महाधिवेशन शुरु हुन् २४ घण्टाभन्दा कम समय बाँकी रहँदा संस्थापन र इतर दुवै गुटलाई सभापतिसहित पदाधिकारीको उम्मेदवार टुंग्याउन सकस परेको छ ।

संस्थापनइतर समूहलाई सभापतिको साझा उम्मेदवार तय गर्नै महाभारत परिरहेका बेला संस्थापन (देउवा) पक्षबाट प्रधानमन्त्री तथा सभापति देउवा निर्विकल्प सभापतिको उम्मद्वार छन् । तर, आकांक्षीको संख्या धेरै हुँदा देउवालाई आफ्नो टीम बनाउन सकस छ । महामन्त्री र सहमहामन्त्री पदका आकांक्षी धेरै भएकाले ति पदमा उम्मेदवार टुंगो लगाउन देउवालाई कठिनाइ परेको बताइन्छ ।

पदाधिकारीको उम्मेदवार टुंग्याउन हिजो सभापति देउवाको नीजि निवास बूढानिलकण्ठमा संस्थापन पक्षका नेताहरुले छलफल गरेका थिए । तर, आकांक्षीको संख्या अत्यधिक भएकाले छलफल बिना निष्कर्ष टुंगिएको थियो । आफ्नै समूहका नेताहरुको व्यवस्थापनमा सकस परेकाले देउवाले निर्णय लिन नसकेको संस्थापन निकट एक नेताले बताएका छन् ।

हिजोको छलफलमा सभापतिबाहेकका पदमा नेताहरुले आ-आफ्ना दावी पेश गरेका थिए । बताइएअनुसार उपसभापतिमा विजय गच्छेदारले आकांक्षा राखेका थिए । त्यस्तै, महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रकाशशरण महतको दावी छ । विभिन्न क्लस्टर छुट्याइएको सहमहामन्त्रीमा सोहीअनुसार नेताहरुले आफ्ना दावी राखेका थिए ।

सहमहामन्त्री महिलामा डिना,पार्वता डिसी र अम्बिका बस्नेत,दलितमा मानबहादुर विश्वकर्मा र मुस्लिममा अतहर कमाल मुसलमान र फरमुल्लाह मन्सुरले मुसलमान दाबी गरेको बताइएको छ । त्यस्तै थारु कोटाबाट रामजनम चौधरी, खस/आर्यमा सुनिल थापा र मधेसीमा महेन्द्र यादवले सहमहामन्त्रीमा दाबी पेश गरेका थिए ।

यता, संस्थापनइतरले भने सभापतिकै साझा उम्मेदवार तय गर्न सकेको छैन । यो समूहबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापति पदको आकांक्षी छन् । साझा उम्मेदवार बनाउन केही दिनयता लगातार छलफल गरिरहेको इतर समूह अहिलेसम्म सहमतिमा पुग्न सकेको छैन । कोइरालाद्वयले पौडेलका नाममा सहमति जुटे आफूहरु पछि हट्ने बताएका छन्, तर सिंहको अडानका कारण सहमति जुट्न नसकेको बताइएको छ ।

यसैबीच सिंहले आज एक सार्वजनिक कार्यक्रममा सभापतिमा आफ्नो उम्मेद्वारी कायमै रहेको प्रष्ट पारेका छन् । पौडेललाई साझा उम्मेदवार बनाउन हिजोको बैठकमा सहमति जुटेको चर्चा भैरहेका बेला सिंहले आफू कुनै हालतमा ब्याक नहुने बताएका हुन् । काँग्रेसलाई लोकप्रिय पार्टी बनाउन सभापतिमा आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने दावी गर्दै उनले आफ्नो नाममा सहमति खोज्न आग्रह पनि गरेका छन् ।

सभापतिको उम्मेदवार तय गर्न नसकेको इतर समूहले अन्य पदाधिकारीबारे अहिलेसम्म छलफलसमेत गरेको छैन । सभापतिको उम्मेदवार तय हुनेबितिक्कै सहमतिका आधारमा पदाधिकारीको नाम सार्वजनिक गर्ने दाबी यो समूहका नेताहरुले दाबी गर्दै आएका छन् ।

यसअघि संस्थापन पक्षमै रहेका उपसभापति बिमलेन्द्र निधि पनि सभापतिको दौडमा छन् । निधिले आफ्नो प्रचारप्रसार समेत शुरु गरिसकेका छन् । आज केन्द्रीय कार्यालय सानेपा पुगेर उनले केही महाधिवेशन प्रतिनिधिहरुलाई प्रचार सामाग्री वितरण गरेको जनाइएको छ ।

देशभरबाट चार हजार बढी प्रतिनिधिले भाग लिने काँग्रेस महाधिवेशनले सभापतिसहित १२ पदाधिकारी निर्वाचित गर्नेछ । एक सभापति, उपसभापति र महामन्त्री दुई-दुई र आठ सहमहमन्त्री महाधिवेशनबाट छानिने छन् भने कोषाध्यक्ष केन्द्रीय कमिटीले मनोनित गर्नेछ ।

टिप्पणीहरू