भ्रष्टाचार नगर्ने प्रतिबद्धता, कति होला सार्थकता ?

भ्रष्टाचार नगर्ने प्रतिबद्धता, कति होला सार्थकता ?

आज डिसेम्बर ९ अर्थात अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस । विश्वका सबैजसो मुलुकले भ्रष्टाचारविरुद्ध खडा हौं भन्ने मूल सन्देशसहित यो दिवस मनाइरहेका छन् ।

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्रकट गर्दै संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ मा भ्रष्टाचारविरुद्ध राष्ट्रसंघीय महासन्धि पारित गरेपछि यो दिवस मनाउन थालिएको हो ।

भ्रष्टाचारले समतामूलक दिगो विकास, सम्वृद्धि र शान्ति एवम् समग्र मानवअधिकारको प्रत्याभूतिमा गम्भीर अवरोध सिर्जना गर्ने तथ्य बोध गर्दै उक्त महासन्धिको कार्यान्वयन गर्ने सहमति भएको थियो ।

सन् २००५ देखि लागू भएको उक्त महासन्धिको पक्षराष्ट्र नेपालले सन् २००३ मा हस्ताक्षर गरी सन् २०११ मा संसदबाट अनुमोदन गरेर सुशासनप्रतिको आफ्नो प्रतिबद्धता प्रकट गरेको छ । तर मुलुकका प्रमुख पदहरुमा निजी स्वार्थका लागि भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

अन्तर्राष्ट्रिय भ्रष्टाचार दिवस मनाउँदै आएको यति धेरै वर्ष बितिसक्दा पनि नेपालले भ्रष्टाचारबाट उन्मुक्ति पाउन सकेको छैन । बरु भ्रष्टाचारका नयाँ नयाँ स्वरुपहरु फेला पर्दै आएको देखिन्छ ।

आज सोही दिवसको अवसर पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संवैधानिक आयोगका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता थियो ।

पछिल्ला केही वर्षमा सबैभन्दा बढी भ्रष्टाचार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा भएको देखिन्छ । अख्तियारले ती सुरक्षा निकायका झण्डै आधा दर्जन सेवा निवृत्त प्रमुखहरुलाई भ्रष्टाचारको अभियोगमा मुद्दा अघि बढाएको थियो ।

टिप्पणीहरू