मोटरसाइकल दुर्घटनामा २ को मृत्यु १ घाइते

मोटरसाइकल दुर्घटनामा २ को मृत्यु १ घाइते

उदयपुरमा आज भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउने उदयपुर चौदन्डीगढी ६ का ३० वर्षीय उमेश राई हुन् ।

उनको बेल्टारको नगर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । आज बिहानै उनले हाँकेको स.१० प ३१३३ नम्बरको मोटरसाइकल मदन भण्डारी राजमार्गको सातधारे खण्डमा दुर्घटनामा परेको हो ।

तीव्र गतिमा बेल्टारबाट सदरमुकाम गाईघाटतर्फ आइरहेको समयमा मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

उता फत्तेपुर–रामपुर सडक खण्डको हात्तीसारमा भएको अर्को मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने सिराहा लहान नगरपालिका २२ का ३२ वर्षीय ओम विक हुन् । उनको दुर्घटनास्थलमै ज्यान गएको बताइन्छ ।

उनले हाँकेको प्र २–०३–००९ प ४८४१ मोटरसाइकल पनि अनियन्त्रित हुँदा दुर्घटनामा परेको हो । उनीसँगै मोटरसाइकलको पछाडि बसेर सवार सप्तरी महुलीकी २५ वर्षे विजय घतानी घाइते भएका छन । उनको धरानस्थित घोपामा उपचार भइरहेको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ ।

टिप्पणीहरू