तराईको समाज पछि पर्नुको कारण खोले मन्त्रीले

तराईको समाज पछि पर्नुको कारण खोले मन्त्रीले

-पूजा लम्साल

हिजोआज शिक्षक, कर्मचारी, पत्रकार र अधिकारकर्मीहरुलाई आआफनो राजनैतिक संगठनमा आबद्ध गराउने मात्र होइन उनीहरु संगठित भातृ संस्था नै बनाउने होडबाजी चलेको छ । स्वतन्त्र र निष्पक्ष भनिने मानव अधिकारकर्मीहरु समेत कुनै न कुनै दलको भातृ संगठनमा आवद्ध देखिन्छन् । शिक्षक र पत्रकार अनि कर्मचारीहरुका त संगठन धेरै पहिले नै बनिसकेका छन् ।

प्रदेश नम्बर १ सरकारका मन्त्री जयराम यादव ४२ वर्ष उमेरका छन् । उनी जनता समाजवादीका केन्द्रीय सदस्य पनि हुनन । हाल पाँच दलीय गठबन्धनबाट समाजिक विकास मन्त्री बनेका जयरामले पहिलेदेखि नै कर्मचारी, शिक्षक, अधिकारकर्मी र पत्रकाहरुले राजनीति गन नहुने अडान लिँदै आएका छन् ।

मन्त्री भएपछि उनले शिक्षक, कर्मचारी, पत्रकार र अधिकारकर्मीहरुलाई दलीय राजनीतिबाट मुक्त हुनुपर्ने अर्ती अलि धेरै दिइरहेका छन् । शिक्षकहरु राजनैतिक आग्रहबाट मुक्त हुन नसकेकै कारण सामुदायिक विद्यालय र सरकारी अस्पतालको सेवाको गुणस्तर खस्किएको उनको दाबी छ ।

हिजो बिराटनगरमा आयोजित नागरिकको स्वास्थ्य, शिक्षा, खाद्य र आवास अधिकार सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री यादवले कर्मचारी, शिक्षक, पत्रकार र अधिकारकर्मीहरु राजनैतिक आग्रहबाट मुक्त हुनसके मात्र राज्यको सेवा पारदर्शी हुनसक्ने अडानलाई दोहोर्याएका छन् ।

राजनैतिक आग्रहकै कारण शिक्षक र व्यवस्थापन समितिले विद्यालयमा गुणस्तरीय पठनपाठन गराउन नसकेको भन्दै सेवा प्रदान गर्ने र अनुगमन गरेर दबाब दिने सरोकारवालाहरु समेत राजनैतिक आग्रहबाट मुक्त हुनुपर्नेमा मन्त्री यादवको जोड थियो ।

उनले निश्पक्ष र स्वतन्त्र निगरानीको अभावमा संविधानले अधिकार सुनिश्चित गरेपनि वास्तविक दावेदारहरु सीमान्तकृत दलित र गरिब समुदाय अझै बञ्चितमा रहेको बताएका छन् । विकासको सवालमा तराई क्षेत्र पहाडभन्दा धेरै माथि भए पनि स्थानीय स्वयम् सजग र सचेत नहुँदा अपेक्षाकृत लाभ लिन नसकेको उनको बुझाइ छ ।

टिप्पणीहरू