जहाँका विद्यार्थी हुरी चलेपछि घरतिर दौडन्छन्

जहाँका विद्यार्थी हुरी चलेपछि घरतिर दौडन्छन्

विद्यालयलाई बालबालिकाको निम्ति दोस्रो घर भनिन्छ । तर पनि नेपालका कतिपय जिल्लामा विद्यार्थीहरु अझै खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् ।

दैलेखको चामुण्डाविन्दासैनी नगरपालिका–५ बस्ताकोटस्थित जनता माध्यमिक विद्यालयको हाल पनि उस्तै छ । भौतिक सुविधा नहुँदा र चौरमा बसेर अध्ययन गर्नुपर्दा त्यहाँका अधिकांश विद्यार्थीले पढाइ छाडेको अर्थ लगाउन थालिएको छ ।

२०४० सालमा स्थानीय स्रोत र साधनबाट निर्माण भएको उक्त विद्यालयको भवन गत भदौमा वर्षाको कारण क्षतिग्रस्त बनेको हो । विद्यालय भवन पहिल्यै भत्किन लागेको थियो, अविरल वर्षाले भत्काइदिएको त्यहाँका स्थानीय बताउँछन् ।

विद्यालय पुनः निर्माणको लागि पटक पटक नगरपालिकासँग आग्रह गरे पनि कसैले चासो नदिएको भन्दै विद्यालयका शिक्षकहरुले गुनासो गरेका छन् ।

भवनको पुनः निर्माण हुन नसक्दा त्यहाँका बालबालिका चौरमा बसेर अध्ययन गर्न बाध्य भएका हुन् । शिक्षकहरु पनि हावा, हुरी र वर्षाको संकेत पाएलगत्तै विद्यालयबाट हिँड्न बाध्य हुन्छन् ।

‘खुल्ला चौरमा बसेर पढ्ने बालबालिका हावा चलेपछि घरतिर दौडिन्छन् । हावा चल्दा, पानी पर्दा विद्यालय बन्द गर्नुपर्ने अवस्था छ,’ विद्यालयका प्रधानाध्यापक जनक कार्की बताउनुहुन्छ ।

भवन भत्किएकाले सामान्य हावाहुरीमा पनि विद्यालय बन्द गर्नुपर्ने अवस्था आउने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हामीसँग अरू भवन छैनन् । ३८ वर्षअघि बनेको विद्यालयको नयाँ भवन निर्माणमा कुनै नै योजना परेको छैन ।’

जनता माध्यमिक विद्यालयमा दुई सय २४ जना विद्यार्थी छन् । एक जना बालविकास सहजकर्ता, एक जना राहत शिक्षक, एक अस्थायी र चार जना स्थायी शिक्षक छन् ।

टिप्पणीहरू