संक्रमित र बित्नेको संख्या उस्तै : २ बिते, २ सय बढीमा संक्रमण

संक्रमित र बित्नेको संख्या उस्तै : २ बिते, २ सय बढीमा संक्रमण

पछिल्लो केही दिनदेखि संक्रमित र निधन हुनेको संख्या उस्तै रहँदै आएको छ । पछिल्लो केही सातादेखि निधन हुनेको संख्या एक अंकमा छ भने दैनिक संक्रमितको संख्या बढीमा तीन सयको हाराहारीमा देखिएको हो ।

आज कोरोना संक्रमणको कारण दुई जनाको निधन भएको छ । दुई सय ८० जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार एक सय ७४ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज तीन सय ६६ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ दशमलब ८ प्रतिशत रहेको छ । मुलुकभर अझै छ हजार दुई सय ३९ जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४५ पुगेको छ । हाल काठमाडौंमा छ सय एक जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ७९ र ललितपुरमा पाँच सय ६४ जना संक्रमित छन् ।

यस्तै, उपत्यकामा आज एक सय ४६ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंका एक सय, ललितपुरका ३१ र भक्तपुरका १५ जना हुन् ।

टिप्पणीहरू