अब भक्तपुरबाट पनि ई–पासपार्ट पाइने

अब भक्तपुरबाट पनि ई–पासपार्ट पाइने

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले आजबाट ई–पासपोर्ट आवेदन संकलन र वितरण कार्य सुरु गरेको छ । आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पहिलो ई–पासपोर्ट संकलन तथा वितरण शुभारम्भ गर्नुभएको हो ।

राहदानी विभाग र ललितपुरबाट मात्रै थालिएको ई–पासपोर्ट वितरण अब भक्तपुरबाट पनि वितरण हुने भएको छ । सेवाग्राहीले अब सोझै जिल्ला प्रशासन कार्यालयमा गएर विद्युतीय (ई–पासपोर्ट) राहदानीको निम्ति आवेदन दिनसक्ने छन् ।

सेवाग्राहीले ई–पासपोर्टका लागि https ://emrtds.nepalpassport.gov.np मार्फत् आवेदन गर्नुपर्ने हुन्छ । सेवाग्राहीले ३४ पृष्ठको राहदानीका लागि मात्रै आवेदन दिन पाउने छन् । यसका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । ढिलोमा १५ दिनभित्र राहदानी पाउन सकिने व्यवस्था गरिएको बताइएको छ ।

विभागले ६६ पृष्ठको राहदानीको निम्ति १० हजार रुपैयाँ तिरेर लिन सकिने व्यवस्था गरे पनि भक्तपुरले तत्काललाई ३४ पृष्ठको मात्रै निवेदन संकलन गर्ने भएको छ । तत्काल राहदानी आवश्यक पर्नेको हकमा भने १२ हजार शुल्क तिरेपछि दुई दिनभित्र पाइने छ ।

भक्तपुरमा हाललाई दैनिक २० जनाको मात्रै राहदानी बनाउन सकिन्छ । त्यसैले शुरुमा भक्तपुरका स्थायी बासिन्दाले मात्रै राहदानीका लागि आवेदन दिन पाउने छन् । अन्य जिल्लाका व्यक्तिको हकमा सरकारी कर्मचारीको प्रमाण र अन्यका हकमा बसाईंसराइको कागज अनिवार्य गरिएको छ ।

टिप्पणीहरू