मन्त्री खोज्दै सिंहदरबार छिरे कलाकार

मन्त्री खोज्दै सिंहदरबार छिरे कलाकार

नेपाली चलचित्रका कलाकार तथा प्राविधिकहरु पनि सामाजिक सुरक्षा कोषमा समेटिने भएका छन् । चलचित्र क्षेत्रको पछिल्लो अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउन मन्त्रालय पुगेको एक टोलीलाई श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले कलाकार तथा प्राविधिकहरुलाई सुरक्षा कोषमा समेट्न सरकारले सहयोग गर्ने वचन दिनुभएको हो ।

मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका कलाकार तथा प्राविधिक सम्बध्द संघसंस्थाका पदाधिकारीहरुसङ्गको छलफलमा मन्त्री श्रेष्ठले सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन आफूले भूमिका खेल्ने प्रतिवद्धता जनाउनु भएको बताइएको छ । छलफलका क्रममा उहाँले न्यून पारिश्रमिक लिने कलाकारहरुलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सरकारले सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा मन्त्रीले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन तथा सामाजिक सुरक्षा कोषलाई विस्तार गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार गर्न लागिएको पनि जानकारी दिनुभयो । उहाँका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिकको जीवनयापनलाई सहज बनाउन सहयोग गर्ने छ ।

छलफलमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल,चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का,नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतले आफ्ना धारणा राखेका थिए । कोरोना महामारीका कारण चलचित्र क्षेत्र ठप्प भएको भन्दै उनीहरुले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए ।

टिप्पणीहरू