समाजवादीकै नेतृत्वमा लालपूर्जा बाँडिन्छ : डा. चापागाईं

समाजवादीकै नेतृत्वमा लालपूर्जा बाँडिन्छ : डा. चापागाईं

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् रुपन्देही इञ्चार्ज डा. बालकृष्ण चापागाईंले भूमिहीन, सुकुम्बासीहरुको समस्या समाधान वर्तमान गठबन्धन सरकारले नै गर्ने बताउनुभएको छ । पार्टी निकटको नेपाल भूमिहीन तथा सुकुम्बासी संगठन रुपन्देहीको भेलालाई बुटवलमा सम्बोधन गर्दै डा. चापागाईले उक्त कुरा बताउनुभएको हो ।

यसअघि एमालेको नेतृत्व भूमिहीनहरुको विषयमा अनुदार बनेकै कारण साढे तीन वर्ष सरकारमा बसेर पनि भूमिहीन सुकुम्बासीहरुको समस्या समाधान नभएको उहाँले उल्लेख गर्नुभयो । चापागाईंले भन्नुभयो, ‘एकीकृत समाजवादी पार्टीकै नेतृत्वमा भूमिहीनहरुले लालपूर्जा पाउने छन् ।’

भेलामा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले आफूहरुले कसैको भावनामाथि खेलेर नझुक्याउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले यसअघि बुटवलमा एमालेका जिम्मेवार नेताहरुले चुनावको समयमा लालपूर्जा दिने बताए पनि हालसम्म उक्त काम नभएको भूमिहीनहरुलाई स्मरण गराउनुभएको छ ।

गुरुङले वर्तमान सरकारले भूमिहीनहरुलाई लालपूर्जा दिने तर त्यसका लागि कुनै पनि शर्त अघि नसार्ने उल्लेख गर्नुभयो । ‘सबै पार्टीका जनताले लालपूर्जा पाउँछन् तर, त्यसवापत भोट दिनुपर्छ भनेर हामी शर्त राख्दैनौं,’ उहाँले भन्नुभयो ।

भेलालाई अर्का केन्द्रीय सदस्य तथा रुपन्देही सह–इञ्चार्ज सिद्धिचरण भट्टराईले साढे तीन वर्षसम्म ओली नेतृत्वको सरकारले केही पनि काम नगरेको टिप्पणी गर्नुभएको छ ।

भूमिहीन अध्यक्षमा थापा

बुटवलमा हिजो भएको भेलाले टेकसिंह थापाको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरेको छ । संगठनका उपाध्यक्षमा यम सुनार, सचिवमा अम्मराज पोखरेल, सहसचिवमा विष्णुकुमार थापा, कोषाध्यक्षमा थामकुमारी पौडेल चुनिएका छन् ।

सदस्यहरुमा नरेन्द्र पुन, शंकर केसी, जगत क्षेत्री, तेजबहादुर नेपाली, यज्ञप्रसाद पाण्डे, विष्णु परियार, राजकुमार हरिजनलगायत छन् ।

टिप्पणीहरू