प्रधानमन्त्री देउवाले पटक पटक राजनीतिक हिंसा गरेको गुरुराज घिमिरेको आरोप

प्रधानमन्त्री देउवाले पटक पटक राजनीतिक हिंसा गरेको गुरुराज घिमिरेको आरोप

नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको आरोप लगाएका छन् । आज नेता प्रकाशमान सिंहको निवास ठमेल, चाक्सीबारीमा बोल्दै घिमिरेले नेपाली काँग्रेस प्रदेश नम्बर १ को निर्वाचनमा देउवाले सत्ताको चरम दुरुपयोग गरेर आफूलाई हराएको उल्लेख गरेका छन् ।

घिमिरेका अनुसार अहिलेको पराजय देउवाद्वारा आफूमाथि भएको दोस्रो पटकको राजनीतिक हिंसा हो । गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा रहे पनि टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको आरोप लगाएका छन् ।

उनले स्वयम् पार्टी सभापतिबाट पार्टीको सिद्धान्त, आदर्श र मूल्य मान्यतालाई अपहेलित गरेर अधिवेशन गराइएको समेत आरोप लगाएका छन् । घिमिरेले भने, ‘काँग्रेसको प्रदेश नम्बर १ मा भएको निर्वाचन मूल्य स्खलनको एउटा चरम दृष्टान्त हो, जीवन्त दृष्टान्त हो । पार्टीको सिद्धान्त, आदर्श, मूल्य र मान्यतालाई कुल्चेर, त्यसलाई अपहेलित गरेर निर्वाचन सम्पन्न भएको छ । सत्ताको चरम दुरुपयोग गरिएको छ । राजनीतिक हिंसाको श्रृङ्खला उहाँले नै सुरु गर्नुभएको हो ।’

घिमिरेका अनुसार प्रदेश १ को निर्वाचनमा धनवाद र डनवादको चरम प्रयोग भएको छ । सभापति देउवाले आफ्नो गुटलाई पक्षपोषण र मलजल गर्न प्रधानमन्त्रीको कुर्सी दुरुपयोग गरिएको भन्दै पार्टीको महाधिवेशनमा सत्ताको चरम दुरुपयोग गर्नेले चर्को मूल्य चुकाउनुपर्ने घिमिरेको भनाइ छ ।

टिप्पणीहरू