कर तिर्ने अहिले, सुविधा पाउने कहिले ?

कर तिर्ने अहिले, सुविधा पाउने कहिले ?

अन्य मुलुकमा झैँ नेपालमा पनि हरेक नागरिकले जन्मेदेखि नमर्दासम्म राज्यलाई कर तिर्नैपर्ने प्रणालीको व्यवस्था गरिएको छ । राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्व पनि हो । जनताले तिरेको करबाटै राज्य सञ्चालन हुने हो ।

नागरिकले हरेक सामान र सेवा खरिद गर्दा राज्यलाई कर तिर्नै पर्ने व्यवस्था मिलाइएको छ । तर, राज्यले उपलब्ध गराएको सुविधा र सहुलियत शुन्य हुँदै गएपछि नागरिकहरुले पनि कर किन तिर्ने ? कर तिरे वापत हामीले के पायौं ? भन्न थालेका छन् ।

एउटा साधारण नागरिकले महिनाभरि काम गर्छ । ३० दिनसम्म सकेको मिहिनेत गर्दछ त्यसपछि मात्र उसले पारिश्रमिक पाउँछ । उसले पाएको पारिश्रमिकमा पनि राज्यलाई कर तिरिएको हुन्छ । राज्यलाई तिरिएको करबाट प्राप्त पारिश्रमिकले महिनाभरको गर्जो टार्न हम्मे हुने गरेको छ ।

आफ्नो दुःख पसिना बगाएर पाएको मासिक तलबमध्ये धेरैजसो बिजुलीको बिल, घरभाडा, मोबाइल खरिद र त्यसमा रिचार्ज गर्दै सकिन्छ । ती सबैमा पनि राज्यले भनेबमोजिमको कर तिरिएको हुन्छ ।

गच्छेअनुसारको सवारी साधन खरिदमा पनि कर लगाइएको हुन्छ । चाहे साइकल किनियोस् वा मोटरसाइकल अथवा चार पाङ्ग्रे सवारीसाधन, ती सबैमा कर लगाइएकै हुन्छ । ती सवारी साधनमा हालिने पेट्रोल वा डिजेल र खाना पकाउने ग्यासमा पनि कर तिर्नै पर्ने व्यवस्था गरिएको छ ।

दैनिक उपभोग्य सामान पनि कर लगाइएको हुन्छ । सोहीबमोजिम खाद्यान्न र उपभोग्य समानमा लगाइएको कर उपभोक्ताले तिरिरहेको हुन्छ । कुनै रेष्टुरेण्ट वा पसलमा उपभोग गरिने खाद्य पदार्थमा पनि कर लगाइएको हुन्छ । त्यो पनि सर्वसाधारणले तिरेकै छन् ।

कुनै व्यवसायमा संलग्न भए पनि कर तिरिएकै छ । बचेको रकम बैंक वा वित्तीय संस्थामा निक्षेप जम्मा गरे पनि प्राप्त ब्याजमा समेत कर लागेकै छ । सर्वसाधारणले कर तिर्न अब बाँकी कुनै क्षेत्र देखिँदैन । तर, उठाइएको कर रकम र त्यसको समुचित उपभोगको बारेमा सर्वसाधारण आफैँ बिलखबन्दमा परेका छन् ।

यसरी पाइला पाइलामा कर तिरेबापत अन्य मुलुकका नागरिकले सोचेअनुरुपको सामाजिक सुरक्षा प्राप्त गरेको देखिन्छ । तर हाम्रो मुलुकमा त्यसरी उठाइएको कर कहाँ र कसरी खर्च गर्ने भन्नेबारे हालसम्म कुनै मापदण्ड तोकिएको छैन ।

बूढीगण्डकी जलविद्युत परियोजना निर्माणको निम्ति भनेर पेट्रोलियम पदार्थमा लगाइएको कर रकम अरबौं रुपैयाँ उठिसकेको बताइन्छ । अहिले त्यो पनि त्यत्तिकै थन्केको छ । अरुको त कुरै नगरौं ।

टिप्पणीहरू