देवीको मूर्ति छुन र हेर्न नपाइने अनौठो परम्परा (फोटो कथा) धादिङको त्रिपुरासुन्दरीमाई जात्रामा नेपालकै अनौठो पूजापाठ

देवीको मूर्ति छुन र हेर्न नपाइने अनौठो परम्परा (फोटो कथा) धादिङको त्रिपुरासुन्दरीमाई जात्रामा नेपालकै अनौठो पूजापाठ

-शंकर श्रेष्ठ

कुनैपनि मन्दिरमा पूजारी हुन्छ, भक्तजन जान्छन्, दर्शन गर्छन्, पुजा गर्छन् अनि मूर्ति छोएर पाउ पर्छन् । तर, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानकोटमा रहेको त्रिपुरासुन्दरी भगवतीमाईको मूर्तिलाई न कसैले हेर्न पाउँछन्, न छुन नै पाउँछन् । मन्दिरमा रहेको भगवतीमाईलाई भक्तजन त के पूजारीले समेत हेर्न पाउँदैनन् । दर्शन गर्न पुगेका भक्तजनहरुले परैबाट पूजा गर्नुपर्ने प्रचलन छ ।

एउटा बाकसभित्र भगवतीको देवीको प्रतिक छ भनिन्छ । तर देवी कस्ती छन् अहिलेसम्म न कसैले देखेका छन्, न फोटो नै हेर्न पाउँछन् । पूजारीले भने पूजाको दिनमा लुकाएर भगवतीलाई बोकेर भगवतीकै विभिन्न मन्दिरमा पुर्याउने गरेका छन् ।

त्रिपुरासुन्दरीको यो जात्रा नेपालका अन्य जात्राभन्दा अनौठो र रोचक छ । अझै नौलो कुरा त यहाँको देवीको प्रतिकलाई एक वर्षमा तीन ठाउँमा सारिन्छ । सोही परम्पराअनुसार सल्यानकोटमा रहेका दुई वटा मन्दिरमध्ये दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ ।मंसिरदेखि चैत्रसम्म भगवतीलाई आगिन्चोकस्थित बेसीको मन्दिरमा राखिन्छ । उक्त मन्दिरलाई भगवतीको माइतीको रुपमा चिनिन्छ । सल्यानकोटकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यहिँ पूजाआजा गरिने स्थानीय पुरोहित अर्जुन सापकोटाले जानकारी दिएका छन् ।

विवाहित नेपाली नारीले धेरैजसो समय आफनो कर्मघरमा बिताउनुपर्ने, दशैंतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाईलाई तुलना गरिएको पुरोहित सापकोटाले जानकारी दिए ।परम्पराअनुसार अस्ति आइतबार रातभर गाउँको मन्दिरमा पूजापाठ गरेर सोमबार बिहान तामझामका साथ भगवतीलाई आगिन्चोकस्थित बेसीको मन्दिरमा सारिएको छ । यसरी बेसी झर्दा अर्थात् भगवती माइत आउँदा सयौं भक्तजनहरुले बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गरेका छन् । हरेक वर्षको मंसिर महिनामा उत्तम साइत हेरेर यो जात्रा मनाइने उनै पुरोहित सापकोटाले बताए ।

भगवतीलाई माइत ल्याउँदा भक्तजनहरुले हातमा नाङ्गो खुँडा, खुकुरी र तरबार बोक्ने प्रचलन छ । दियो, कलश, शंख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले हाते साङ्लोको घेरा बनाउँछन् । त्यही घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति पूजारीले बोकेका हुन्छन् । त्यही प्रतिमूर्तिलाई नै त्रिपुरासुन्दरी भगवतीमाईको रुपमा पुकारिन्छ ।भगवतीको मूर्तिलाई रानामगर थरका स्थानीय पूजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले छुन नपाउने प्रचलन यद्यपि छ ।

मंसिर महिनामा देवीलाई तामझामका साथ माइत सारिने गरिन्छ । त्यसपछि फागुनको अन्तिमतिर वा चैते दशैँभन्दा अगाडि विशेष साइत हेरेर फेरि कोटकै मूल मन्दिरमा लगेर भित्र्याउने प्रचलन रहिआएको छ । देवीलाई कोटमा लैजाने क्रममा पनि सोही प्रक्रियाद्वारा लैजाने गरिएको छ । देवीलाई घर फिर्ता गराउने समयमा भने भक्तजनको उपस्थिति तुलनात्मक रुपमा कम हुन्छ ।पृथ्वीनारायण शाहले नुवाकोट एकीकरण गर्न आउँदा उनै भगवतीको पूजाआजा गरि नुवाकोट विजयको कामना गर्दै आशिष मागेको र त्यहीबेलादेखि शाहवंशले कुलदेवताको रुपमा मान्दै आएको किंवदन्ती छ । हरेक वर्ष मंसिरको विशेष तिथिमा भगवतीको मेला लाग्ने गर्दछ ।

भगवतीलाई बेसीको मन्दिरमा लैजाने साइत दशैंको टीकाको दिन हेर्ने र तिहारको भाइटीकाको दिन त्यसलाई सार्वजनिक गर्ने चलन छ ।भगवतीलाई बेसीको मन्दिरमा लैजाने अघिल्लो दिन र रातभर गाउँको मन्दिरमा र बेसीको मन्दिरमा ल्याए पछिको दुई दिन भव्य मेला लाग्ने प्रचलन छ । भक्तजनहरुले आफ्नो मनोकांक्षा पूरा गराउन जात्राको दिन फूलको डोली चढाउने गरेका छन् ।

तस्बिर : शंकर श्रेष्ठ

टिप्पणीहरू