दक्षिण अफ्रिकाका अस्पताल ओमिक्रोन संक्रमितले भरिए

दक्षिण अफ्रिकाका अस्पताल ओमिक्रोन संक्रमितले भरिए

कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको एक सातामै दक्षिण अफ्रिकाका अस्पतालहरु संक्रमितले भरिएका छन् । अस्पतालमा बिरामीको चाप बढेपछि राष्ट्रपति साइरिल रामापोसाले सबै नागरिकलाई खोप लगाउन आह्वान गरेका छन् ।

यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकोमा पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा २३ हजार संक्रमित भेटिएका छन् । दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय संस्था (एनआइसीडी) का अनुसार पछिल्लो समयमा संक्रमणमा भएको वृद्धि संख्या अप्रत्याशित हो । मुलुक कोभिडको चौथो लहरमा प्रवेश गरिसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

‘दुर्भाग्यवश अहिले दैनिक अस्पताल भर्ना हुने बिरामीको संख्या दोब्बरले बढेको छ,’ संक्रमक रोगविज्ञ इयान सानेले जानकारी दिएका छन् । संक्रमितको संख्यामा अस्वाभाविक वृद्धि भएकाले त्यसका लागि तयारी अवस्थामा रहन उनले अस्पतालहरुलाई आग्रह गरेका छन् ।

अहिले त्यहाँका अस्पतालमा अक्सिजनको अभाव छ । त्यसैले सबैभन्दा पहिले अक्सिजनको पर्याप्त व्यवस्था गर्न उनले सुझाएका छन् । दक्षिण अफ्रिकाको मेडिकल रिसर्च काउन्सिलका प्रमुख डा. फरिद अब्दुल्लाहले जोहानेसवर्ग र तास्वानेमा अस्वाभाविक रुपमा संक्रमित बढेको जानकारी दिएका छन् । देशकै सबैभन्दा ठूलो सहर रहेको गउटेन प्रान्तमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

हाल देखिएका अधिकांश संक्रमितले खोप लगाएको पाइएको छैन । त्यसैले डरलाग्दो संख्यामा बालबालिका समेत संक्रमित भएको चिकित्सकहरुले बताएका छन् ।

टिप्पणीहरू