कर छल्नेसँग २४ करोडबढी मागदाबी

कर छल्नेसँग २४ करोडबढी मागदाबी

राजश्व अनुसन्धान विभागले कर छल्ने पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । बारा करैयामाई गाउँपालिका–७ को यादव बिजनेस ट्रेड लिंकका प्रोप्राइटर सोनालाप्रसाद यादवसहित पाँच जनाविरुद्ध कर छलीको मुद्दा दायर गरिएको हो ।

विभागले उच्च अदालत पाटनमा करछली गरेको आरोपमा पाँच व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ । झुठो विवरण तथा नक्कली भ्याट बील प्रकरणमा लिंकका प्रोप्राइटरविरुद्ध १२ करोड २० लाख ६१ हजार दुई सय ३३ रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरिएको छ । टेड्र लिंकका प्रोप्राइटरसहित अन्य प्रतिवादीहरुमा जय किशोर साह, परमेश्वर साह, मुकेशकुमार झा र सानुकुमार श्रेष्ठ छन् ।

उनीहरुले वस्तु तथा सेवा खरिद नै नगरी झुठो तथा नक्कली कर बीजक खरिद गरेर मूल्यअभिवृद्धि कर र आयकर छलेको विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरुले मूल्यअभिवृद्धिकर वापत ४ करोड ४१ लाख १९ हजार २६ रुपैयाँ र आयकरतर्फ ७ करोड ८९ लाख ४२ हजार २ सय ७ रुपैयाँ करछली गरेका छन् ।

सोहीअनुसार राजश्व चुहावट ऐन २०५२ अनुसार करछलीको १२ करोड २० लाख ६१ हजार २ सय ३३ रुपैयाँ र बिगोको शतप्रतिशत जरिवाना समेत गरी २४ करोड ४१ लाख २२ हजार ४ सय ६६ रुपैयाँ सजाय मागदाबी गरिएको हो ।

टिप्पणीहरू