काँग्रेसमा धेरै आकांक्षी, काठमाडौं आउजाउ खर्च प्रतिनिधि आफैँले ब्यहोर्ने

काँग्रेसमा धेरै आकांक्षी, काठमाडौं आउजाउ खर्च प्रतिनिधि आफैँले ब्यहोर्ने

नेपाली काँग्रेसको १४औं महाधिवेशन शुरु हुन चार दिन बाँकी छँदा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको संख्या बढ्न थालेको छ । प्रदेश २ मा अधिवेशन नै स्थगित गरिएको र अन्य केही जिल्लामा समेत अधिवेनशन हुन नसकेको अवस्थामा प्रतिनिधिहरुले पदाधिकारी र सदस्यको आकांक्षामा भटाभट घोषणा गर्न थालेका हुन् ।

अहिलेसम्म सभापतिको निम्ति आध दर्जनभन्दा बढीले इच्छा देखाएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला, कल्याण गुरुङलगायतले सार्वजनिक रुपमा सभापतिको उम्मेदवार घोषणा गरिसकेका छन् ।

अहिलेसम्म प्रधानमन्त्री तथा सभापति देउवाबाहेक अरुको निधो नभएको बताइन्छ । हुन तः निधिले सभापतिमा उठ्न भन्दै यसअघि नै थापागाउँमा सम्पर्क कार्यालय खोलिसकेका छन् । सिंहले आज बिहानदेखि सिंहदरबार अगाडि कार्यालय खोलेका छन् । गुरुङले भने कार्यालय खोलेका छैनन् तर पत्रकार सम्मेलन गरेर सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।

उपसभापतिमा भने चन्द्र भण्डारीले मात्र आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् । युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले भने महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । पश्चिमका एनपी साउदले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । तर, सार्वजनिक रुपमा घोषणा गरेका छैनन् ।

उता, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका छन् । पाँचथरका भीष्मराज आङ्देम्बेले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने बताइसकेका छन् । केन्द्रीय सदस्य जीवन परियारले पनि सहमहामन्त्रीमा उठ्ने जानकारी गराइसकेका छन् ।

केन्द्रीय सदस्यको निम्ति धेरै जनाले घोषणा गरेका छन् । कतिपयले महाधिवेशन प्रतिनधि बने लगत्तै घोषणा गरेका हुन् भने केहीले राजधानी काठमाडौंमा आइसकेपछि बताएका छन् । धेरैले भने महाधिवेशनमा बन्ने सभापतिको प्यानललाई हेरेर आफ्नो निर्णय सुनाउने क्षण कुरेको देखिन्छ ।

काँग्रेसको महाधिवेशन आगामी शुक्रबारदेखि काठमाडौंमा हुँदैछ । उसले महाधिवेशन प्रतिनिधिका लागि चार दिनको निम्ति खाना, खाजा र सुत्नको निीम्त होटलको व्यवस्था मिलाएको छ । काठमाडौं आउजाउको खर्च भने प्रनिनिधि आफैंले व्यहोर्नुपर्ने बताइएको छ ।

टिप्पणीहरू