बार पदाधिकारी बालकोटमा

बार पदाधिकारी बालकोटमा

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बालकोट पुगेका छन् ।

अध्यक्ष ओलीलाई भेट्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु बालकोटतिर गएका हुन् । ओलीले बारका पदाधिकारीहरुलाई भेटको निम्ति साढे १२ बजेपछिको समय दिनुभएको हो ।

सर्वोच्च बारका अध्यक्ष शाक्यले बालकोट जानुअघि अरु नेतालाई जस्तै ओलीलाई पनि न्यायालयमा भएको विकृति विसंगति, भ्रष्टाचार र बिचौलिया अन्त्यमा प्रधानन्यायाधीश बाधक बनेकाले उहाँको बहिर्गमनका लागि संवैधानिक प्रक्रिया (महाभियोग) अघि बढाउन अनुरोध गरिने जानकारी दिनुभएको छ ।

यसअघि बार पदाधिकारीले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेर ध्यानाकर्षण गराएको थियो । नेम्वाङले त्यसबखत पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने वचन दिनुभएको थियो ।

एमाले अध्यक्ष ओलीले भने प्रधानन्यायाधीश राणाको बहिर्गमनको निम्ति संसद विघटनको सिफारिस बदर गरेर परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने तर्क गर्दै आउनुभएको छ ।

टिप्पणीहरू