कस्तो आयो काङ्ग्रेसमा इतर-भितरको हिसाब ?

कस्तो आयो काङ्ग्रेसमा इतर-भितरको हिसाब ?

१४ औँ महाधिवेशन नजिकिंदै गर्दा सत्तारुढ नेपाली काँग्रेस जिल्ला र प्रदेश तहका अधिवेशनहरुमा केन्द्रित छ । वडा र पालिकास्तरीय अधिवेशन पहिले नै सम्पन्न भैसकेको काँग्रेसमा केही जिल्ला र दुई नम्बर प्रदेशको अधिवेशन बाँकी छ । सबै ठाउँमा निर्वाचनमार्फत नेतृत्व चयन गरेको काँग्रेसमा संस्थापन (देउवा) र इतर (पौडेल) पक्षबीच तीब्र प्रतिष्पर्धा देखिएको छ ।

निर्वाचन सम्पन्न भएका ६ वटा प्रदेशको अन्तिम परिणाम घोषणा भइसकेको छ । सोमवार बिहानसम्म घोषित परिणामअनुसार महाधिवेशनमा काँग्रेस सभापति शेरबहादुर देउवा पक्ष हावी हुने देखिएको छ । छ वटा प्रदेशको अधिवेशन सम्पन्न भैसक्दा महावेशनमा सभापति देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबीच चुनावी गठबन्धन हुने सम्भावना बलियो बनेर गएको छ ।

प्रदेश– १ मा संस्थापनले कोइराला परिवारको वर्चश्व यसपटक तोडेको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएअनुसार प्रदेश कमिटीमा अधिकांश संस्थापन समूहका उम्मेदवार विजयी भएका छन् । संस्थापन समूहका उध्दव थापाले पौडेल–कोइराला समूहका गुरुराज घिमिरेलाई दुई मतले पछि पार्दै जीत निकालेका हुन् । आइतबार बिहान घोषित मतपरिणामअनुसार थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन् । शुरुआतदेखि नै घिमिरेले अग्रता लिएको भए पनि अन्तिम समयमा थापा दुई मतले विजयी भए ।

“१३ औं महाधिवेशनमा देउवा समूहले २५ जिल्ला सभापति मात्र जितेको थियो । अहिले मधेशबाहेक ६१ जिल्लाको नेतृत्व चयन हुँदा ३२ जिल्लामा देउवा पक्षका सभापति आएका छन् । “

यता,सबैभन्दा बढी मतदाता रहेको बागमती प्रदेश सभापतिमा पनि संस्थापन समूहकै इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । आइतबार साँझ सम्पन्न मतगणनाअनुसार बानियाँ एक हजार ८५ मत पाएर विजयी बने । उनका प्रतिस्पर्धी जगदिश्वरनरसिंह केसीले ९ सय २७ मत प्राप्त गरे । बानियाँ एक सय ५८ मतअन्तरले विजयी बनेका हुन् । बागमतीमा २१ सय ५१ मतदाता रहेकोमा दुई हजार २५ मत मात्र खसेको थियो ।

शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणको मतदानबाट बाहिरिएका सिटौला समूहका उम्मेदवार भीमसेनदास प्रधानले संस्थापन पक्षका बानियाँलाई समर्थन गरेका थिए ।

गण्डकी प्रदेशको नतिजा भने संस्थापन इतरपक्षको हातमा गएको छ । काँग्रेसका पुराना नेता शुक्रराज शर्मा नेतृत्वको टिमले एक उपसभापति बाहेक सबै पदाधिकारी जितेको छ । गण्डकी प्रदेश सभापतिमा शर्माले ६ सय १२ मत ल्याए भने उनका प्रतिस्पर्धी अर्जुनप्रसाद जोशीले पाँच सय २८ मत पाए ।

लुम्बिनी प्रदेश सभापतिमा पनि संस्थापन इतर समूहका अमरसिंह पुन निर्वाचित भएका छन् । पुनले सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाह (प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति) लाई ८५ मतले पराजित गरे । पुनले ८ सय ५२ मत ल्याउँदा शाहले ७ सय ६७ मत पाए । पदाधिकारीमा पनि पुन प्यानलकै वर्चश्व रहेको छ ।

कर्णाली प्रदेशमा सभापतिसहित सबै पदाधिकारीमा संस्थापन पक्षले ‘क्लिनस्विप’ गरेको छ । कर्णाली प्रदेश सभापतिमा देउवा निकट ललितजंग शाही विजयी भएका छन् । शनिबार राति सम्पन्न मत गणनाअनुसार शाहीले ४ सय २२ मत ल्याएर विजयी हुँदा संस्थापन इतरका भुपेन्द्रजंग शाहीले तीन सय १७ मत ल्याए ।

सुदूरपश्चिम प्रदेश सभापतिमा पनि संस्थापन पक्षले ‘क्लिन स्विप’ गरेको छ । संस्थापनबाट सभापतिमा वीरबहादुर बलायर निर्वाचित भए । बलायरले ६ सय ८८ मत ल्याउँदा इतर पक्षका नारायणदत्त मिश्रले दुई सय ८० मत मात्र पाए । सुदूरपश्चिम प्रदेश पदाधिकारीमा पनि सबै संस्थापन पक्षबाटै निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार सुदूरपश्चिममा कूल एक हजार २६ जना प्रतिनिधिमध्ये एक हजार तीन जनाले मतदान गरेका थिए ।

यता,आन्तरिक किचलोका कारण प्रदेश २ मा भने अधिवेशन हुन सकेको छैन । तर, सर्लाहीबाहेक सात जिल्लमा महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । समय अभाव र आन्तरिक समस्या कारण देखाउँदै मधेशका जिल्लामा केन्द्रीय महाधिवेशनपछि मात्रै अधिवेशन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन परिणाम हेर्दा पर्सा र बारामा देउवा पक्षमा झण्डै दुई तिहाई बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । रौतहट, सिरहा,सप्तरी र महोत्तरीमा पनि देउवा पक्षको अग्रता देखिएको छ । सभापतिको दावेदार रहेका विमलेन्द्र निधिकै गृहजिल्ला धनुषामा पनि देउवा समूहको बलियो उपस्थिति छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबारसम्म करिब ४२ सय महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सर्लाहीका चार र महोत्तरीको एउटा निर्वाचन क्षेत्रमा अधिवेशन हुन बाँकी छ । ती जिल्लामा पनि आजसम्म अधिवेशन सम्पन्न गर्ने कांग्रेसको तयारी छ । १३ औं महाधिवेशनमा देउवा समूहले २५ जिल्ला सभापति मात्र जितेको थियो । अहिले मधेशबाहेक ६१ जिल्लाको नेतृत्व चयन हुँदा ३२ जिल्लामा देउवा पक्षका सभापति आएका छन् ।

१४ औं महाधिवेशनमा काँग्रेस नेता सशांक र डा.शेखर कोइरालाको गृह प्रदेश–१ का १४ जिल्लामध्ये देउवापक्षले केवल मोरङ,धनकुटा र ओखलढुंगासहित तीन जिल्ला सभापतिमा जीत हासिल गरेको थियो । तर अहिले झापासहित आठ जिल्लाको बहुमत नेतृत्व हात पारेको छ । झापासहित पाँचथर, ताप्लेजुङ,इलाम,धनकुटा, सोलुखुम्बु,ओखलढुंगा र उदयपुर जिल्ला सभापति संस्थापन निकट चयन भएका हुन् ।

यता,कर्णाली प्रदेशमा पनि १० जिल्लामध्ये संस्थापन समूहले आठ जिल्ला नेतृत्व आफ्नो कब्जामा लिएको छ । १३ औं महाधिवेशनमा कर्णालीबाट देउवा समूह झण्डै ‘क्लिनस्विप’ भएको थियो । त्यतिबेला हुम्लामा मात्रै देउवानिकट सभापति चयन भएका थिए । अहिले रुकुम पश्चिम,कालीकोट र जाजरकोटमा सर्वसम्मत सभापति चयन भए पनि उनीहरु संस्थापन पक्षका हुन् । दैलेखमा संस्थापन समूहका उम्मेदवार पराजित भएका छन् ।

गण्डकी प्रदेशमा पनि संस्थापन पक्षले पहिलेभन्दा अहिले अवस्था सुदृढ गरेको छ । मनाङ,गोरखा, तनहुँ,म्याग्दी, पर्वत र स्याङजामा संस्थापन पक्ष बलियो हुँदा मुस्ताङ, बागलुङ,लमजुङ,नवलपुर र कास्कीमा इतर समूह बलियो देखिएको छ । तनहुँ सभापतिमा पौडेलले समर्थन गरेका उम्मेदवार नै पराजित भएका छन् । गण्डकीमा संस्थापन र इतर समूह झण्डै बराबरीको अवस्थामा रहेको मतपरिणामले देखाएको छ ।

देउवाको गृह प्रदेश सुदूरपश्चिममा पनि संस्थापन समूहले करिब दुई तिहाईभन्दा बढी महाधिवेशन प्रतिनिधि ल्याउन सफल भएको छ । देशभरका झण्डै ९ लाख क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गरेर चुनिएका करिब ४५ सय प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउने छन् । तिनै प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्ने छन् ।

टिप्पणीहरू