केन्द्रीय कमिटीको बैठकमा यो जत्था कहाँबाट छिर्यो ?

केन्द्रीय कमिटीको बैठकमा यो जत्था कहाँबाट छिर्यो ?

दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर नेकपा एमाले चितवनबाट फर्किएको एक साता बितिसकेको छ । तर,महाधिवेशनका कतिपय विषय अझै चर्चामा छन् ।

नारायणीको बगरमा ठूलो संख्यामा कार्यकर्ता ओरालेर गरिएको उद्घाटन सत्र आफैंमा चर्चाको केन्द्रमा थियो । त्यसमा पनि अध्यक्ष ओलीको धार्मिक भाषणले झन् चर्चा बटुल्यो । ओलीको प्रशंसामा राजावादी नेता कमल थापाका अभिव्यक्तिदेखि प्रचण्डको ‘बहिष्कार’ सम्म महाधिवेशनका दौरान चर्चाका विषय बने ।

आधुनिक प्रचार शैली,बाहिरी साजसज्जा र तडकभडकको महाधिवेशनको जति चर्चा भयो, बैचारिक बहस र आन्तरिक प्रतिष्पर्धामाथि रोक लगाउने प्रयास गरिएको आरोप झन् धेरै चर्चित बन्यो । कम्युनिष्ट पार्टीको महाधिवेशनमा अन्तर्राष्ट्रिय कम्युनिष्ट गीत नबज्दा ६० प्रतिशत वामपन्थी जनमत खिन्न भयो ।

५० जना जति स्वयंसेवक बैठकमा निस्फिक्री बसेका थिए भने दुई दर्जनजति अध्यक्ष ओलीका सुरक्षाकर्मी थिए ।

दर्जनौँ विदेशी परिवेक्षकलाई निम्त्याइएको कम्युनिष्ट पार्टीको महाधिवेशनमा नजिकैको छिमेकी तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेताको प्रतिनिधित्व नहुँदा कूटनीतिक क्षेत्रले निधार खुम्च्यायो ।

महाधिवेशनमा कार्ल मार्क्स,लेनिन, माओजस्ता कम्युनिष्ट आन्दोलनका आदर्शहरुको सामान्य चर्चा नहुँदा एमालेमाथि लाग्दै आएको संशोधनवादीको आरोपलाई बल पुर्यायो । अध्यक्ष केपी ओलीले भाषण गर्दैगर्दा हेलिकप्टरबाट गरिएको पुष्पवृष्टि र ओलीको प्रशंसामा देखाइएको लामो वृत्तचित्र हेरेर पार्टीका पुराना नेता-कार्यकर्ता लाजले रातोपिरो भए । ओलीलाई मदन भण्डारी र मनमोहन अधिकारीको हाराहारीमा राखेर भद्दा प्रचार गरिएकोमा आमजनले समेत राम्रो मानेन ।

चर्चा त्यतिमै सीमित रहेन । प्रतिनिधिहरुलाई बन्दसत्र हलमा बेवारिसे बनाएर अध्यक्ष ओली बसेको रिसोर्टमा नेताहरुका दौडधुप राष्ट्रिय बहसका विषय बने । नेतृत्व चयनको रस्साकस्सी चलिरहँदा ओलीइतर खेमाका प्रतिनिधिहरुले असुरक्षा महसुस गरेका खबर सार्वजनिक भए । विवादकै कारण महाधिवेशन दुई दिन लम्बियो ।

नेतृत्व चयनका लागि अध्यक्ष ओलीलाई सर्वाधिकार बनाउने प्रतिनिधिहरुको निर्णय आलोचनाको विषय बन्यो । केही प्रतिनिधिले त ‘अध्यक्ष ओलीले नामावली घोषणा गर्नुहुन्छ अनि हामी ताली बजाएर पारित गर्छौँ’ भन्ने अभिव्यक्ति दिए । त्यसैले २२ सय बढी प्रतिनिधिका सार्वभौम अधिकार अध्यक्ष ओलीलाई सर्लक्कै सुम्पने निर्णयले जबजका सच्चा अनुयायीहरु लज्जित बने ।

पार्टीमा सर्वशक्तिमान हुँदाहुँदै पनि निर्वाचनमार्फत नेतृत्व छान्नुपर्ने ओलीको बाध्यता पनि चर्चामा आयो । अन्तत: नेतृत्व चयन त भयो,तर आलोचना मुक्त हुन सकेन । ओलीइतर पक्षलाई भोट नहाल्नु भनेर पर्चा बाँडिएको भन्दै भीम रावलका कार्यकर्ता रुष्ट बने ।

अध्यक्ष ओलीले प्रस्ताव गरेका नामावली लगभग सदर भएको महाधिवेशनमा ओलीको कटु आलोचक भनेर चिनिएकी नुवाकोटकी उषाकिरण तिमिल्सिना केन्द्रीय सदस्यमा विजयी भइन् । ओलीको नामावलीभित्र परेकी डोटीकी एक नेतृले उम्मेदवारी दिनै बिर्सेपछि तिमिल्सिना केन्द्रीय कमिटीमा निर्विरोध भएकी हुन् ।

अर्को रोचक कुरा चैं,केन्द्रीय कमिटीको पहिलो बैठकमा केन्द्रीय सदस्यकै हाराहारीमा कमिटी बाहिरका मान्छे बसेका थिए । बताइएअनुसार शपथ ग्रहणपछि लगत्तै बन्दसत्र हलमै बसेको बैठकमा अध्यक्ष ओलीका सुरक्षाकर्मी र स्वयंसेवकका नाममा ‘आई लभ यु केपी बा’ भन्नेहरुको ठूलो जत्थाले ओहोरदोहोर गरेका थिए ।

५० जना जति स्वयंसेवक बैठकमा निस्फिक्री बसेका थिए भने दुई दर्जनजति अध्यक्ष ओलीका सुरक्षाकर्मी थिए । अघिल्ला दिनका बन्दसत्रमा पनि हलभित्र प्रतिनिधि र गैरप्रतिनिधि सरोबर मिसिएको बताइन्छ ।

बैठक सन्चालनमा सामान्य विधिसमेत नपुर्याएकोमा बैठकको औचित्यमाथि प्रश्न उठ्यो । एक नेताका अनुसार सदाझैँ अध्यक्ष ओलीले बोल्ने र अरुले ताली पिट्नेबाहेक बैठकले कुनै निर्णय गरेन ।

ओलीको भाषण पनि अरु बेलाको जस्तै भयो । बैठकमा माइन्युटसमेत गरिएन । ओलीले निर्देशन दिने र अरुले थपडी बजाउनेमै बैठकलाई सीमित पारिएको गुनासो नेताहरुले अहिले पनि गरिरहेका छन् ।

चुनाव जित्नुपर्छ,हाम्रो एक्लै दुई तिहाइ आउँछ,पाँच दलीय गठवन्धनलाई सोत्तर बनाइन्छ जस्ता ओलीका सदाबहार भाषणले पहिलो बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई आकर्षित गर्न नसकेको बताइन्छ ।

टिप्पणीहरू