सत्तरीले एमालेका क-कसलाई सिध्यायो ?

सत्तरीले एमालेका क-कसलाई सिध्यायो ?

नेकपा एमालेको दशौँ महाधिवेशनपछि पचासौँ वर्ष पार्टीमा काम गरेका पुराना नेताहरु ‘अलपत्र’ परेका छन् । विधानमा रहेको ७० वर्षे उमेर हदका कारणा कार्यकारी भूमिकाबाट बाहिरिएसँगै करिब दुई दर्जन बढी पाका नेता राजनीतिक रुपमा ‘अलपत्र’ परेका हुन् ।

एमालेको विधानमा ७० वर्ष पुगेपछि कुनै पनि नेताले पार्टीको कार्यकारी भूमिकामा रहन नपाउने व्यवस्था छ । विधानको सोही व्यवस्थाका कारण चितवनमा हालै सम्पन्न महाधिवेशनबाट भर्खरै ७० वर्ष पुगेका अमृत बोहोरा,राधा ज्ञवाली,गोमा देवकोटालगायतका नेताहरु जिम्मेवारीबाट फालिनु परेको हो ।

केपी ओलीको देवत्वकरण गरेको आरोप खेपिरहेका केशव बडालबाहेक अरुलाई अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । बडाललाई भने अनुशासन आयोगको अध्यक्ष बनाइएको छ ।

त्यसो त, फागुनमा ७० वर्ष टेक्दै गरेका अध्यक्ष केपी शर्मा ओलीलाई भने पुन: अध्यक्षमा दोहोर्याउनका लागि पटक-पटक विधान संशोधन गरिएको थियो । फागुनबाट ७० वर्षे उमेर हद लाग्ने भएपछि असारमा सम्पन्न विधान महाधिवेशनबाटै ओलीको अनुकूल हुनेगरी संशोधन गरिएको हो ।

७० वर्ष नपुग्दै मङ्सिरमा उम्मेदवारी दिएर निर्वाचित भए पुरै कार्यकाल खान पाउने ब्याख्यासहित त्यतिबेलै ओलीलाई पुन: अध्यक्षमा दोहोरिने बाटो खुला गरिएको हो ।

ओलीकै सजिलोका लागि गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको विधान दुई महिनापछि चितवनमा दुई पटकसम्म संशोधन गरियो । झन्डै ६ हजार कार्यकर्ता भेला गरेर पारित गरिएको विधान केन्द्रीय कमिटीका दुई सय नेता बसेर पटक-पटक काटकुट पारिएको हो ।

एमालेको विधानमा एउटै पदमा दुई पटकभन्दा बढी उम्मेदवारी मनोनयन गर्न नपाउने व्यवस्था छ । सो व्यवस्थाले ओलीलाई फेरि अध्यक्षमा उठ्न अप्ठेरो पारेपछि पुन: संशोधन गरियो । आठौँ र नवौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिइसकेका ओलीलाई पुन: उठ्न विधान बाधक बनेपछि रातारात उक्त व्यवस्था मेटाईएको हो ।

ओलीलाई अध्यक्ष दोहोर्याउन पाइलैपिच्छे विधान हेरफेर गरिएपनि झापा आन्दोलनदेखि नै पार्टीमा लागेका अमृत बोहोराजस्ता त्यागी र इमान्दार नेताहरुलाई भने त्यहि विधान देखाएर पाखा पारिएको छ ।

अनुशासन आयोगमा तुलनात्मक रुपमा स्वतन्त्र भूमिका खेल्न सक्ने नेतालाई जिम्मेवारी दिने अभ्यास राजनीतिक दलहरुले गर्दै आएका छन् । तर,एमालेले भने त्यस्तो अभ्यास यसपटक लत्याएको छ । किनभने एमालेमा बडाललाई अध्यक्ष ओलीको विश्वासपात्रका रुपमा हेर्ने गरिन्छ । उनी स्वयं आफूलाई अध्यक्ष ओलीको प्रशंसकका रुपमा चिनाउन चाहन्छन् । मिडियामा चर्को बोलेर आलोचितसमेत हुँदै आएका छन् ।

त्यसैले बडाललाई अनुशासन आयोगको अध्यक्ष बनाएकोमा एमालेका कतिपय नेताहरु असन्तुष्ट देखिएका छन् । एक नेताका अनुसार अनुशासन आयोगको अध्यक्षमा बडालभन्दा बोहोरा उपयुक्त पात्र हुँदाहुँदै पनि ओलीको रोजाइमा नपरेका कारण फालिएका हुन् । ओलीलाई रिझाएकै कारण बडालले बोहोरालाई पछाडि पारेर अध्यक्ष बनेको ती नेताको भनाइ छ ।

एमालेमा ७० वर्षे उमेर हदका कारण झन्डै दुई दर्जन नेता दशौँ महाधिवेशनपछि राजनीतिक रुपमा ‘अलपत्र’ परेको बताइन्छ ।

टिप्पणीहरू