ससुरापछि बुहारीमाथि खनिए कमल थापा

ससुरापछि बुहारीमाथि खनिए कमल थापा

राप्रपा अध्यक्षको निम्ति भएको मतदानमा पराजय भोगेपछि हिजो बिहान सबेरै निवर्तमान अध्यक्ष कमल थापाले पराजयको दोष पूर्वराजा ज्ञानेन्द्रमाथि लगाइदिए । उनले महाधिवेशनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको सामाजिक सञ्जालमा लेख्दै व्यंग्य मिश्रित आशयमा पूर्वराजालाई शुभकामनासमेत दिए ।

हिजै उनले राजापछि उनकी बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाहको पनि चर्को आलोचना गरेका छन् । हिमानीले सामाजिक सञ्जालमा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएपछि थापा रुष्ट भएको बुझ्न सकिन्छ ।

हिमानीले लिङ्देनलाई दिएको शुभकामनामा ‘अवसरवाद, नातावाद,कृपावादको अन्त्य गर्न सफल हुनुभएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । राजेन्द्र लिङ्देनको जीतसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ,’ लेखिएको थियो ।

शाहको उक्त ट्वीटपछि नवनिर्वाचित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइएको बधाईमा शाहलाई ट्याग गर्दै थापाले, ‘अब चाँडै राजतन्त्र पुनस्थापना हुने हुँदा हिमानी शाहलाई पनि बधाई तथा शुभकामना,’ भनेर व्यंग्य हानेका हुन् ।

त्यसअघि उनले हिजो बिहान गरेको पहिलो ट्वीटमा ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकी हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्ठाले राजाको भलो होस्,हार्दिक शुभकामना,’ लेखिएको थियो ।

यता हिमानी शाहले पनि थापालाई जवाफ फर्काउँदै, ‘राजा र नेतामा के फरक छ ? भन्नेहरुले ज्ञानेन्द्र र कमल थापालाई हेरे पुग्छ, गद्दी छोड्दा बर्बराएनन् राजा तर नेता कमल थापाले सन्तुलन गुमाए झैँ गरिसके,’ भनेर लेखेकी छन् ।उनले, ‘शासकको अनुहार फेरिँदा जनताको आशा र भरोसा पनि बढ्न जाने तर जति हुनुपर्ने वा जस्तो हुनुपर्ने भनेर जनताले सोच्छन् त्यो कहिल्यै पूरा नहुने उल्लेख गरेकी छन् ।’ अगाडि लेखिएको छ, ‘फेरि जनमानसमा गुनासो शुरू हुन थाल्छ । शासकको मूलकर्तव्य मुलुक र जनताको हितमा हुनु जरूरी छ । जनताको मुहार फेरिनुपर्छ न कि शासक र उसका परिवारको ।’

टिप्पणीहरू