२ को अधिवेशन स्थगित,१ मा पुनः गणनाको माग

२ को अधिवेशन स्थगित,१ मा पुनः गणनाको माग

नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न भएको छ । गत मंसिर १६ गतेदेखि हिजोसम्म प्रदेश नम्बर १,बाग्मती,गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन सकिएको छ ।

जसअनुसार प्रदेश नम्बर १ मा संस्थापन पक्षका उध्दव थापा झिनो मत अन्तरले विजयी भएका छन् । थापाले संस्थापनइतर गुरु घिमिरेलाई दुई मतले हराएका हुन् । अहिले घिमिरेले पुनः मतगणनाको माग गर्दै पार्टीमा निवेदन बुझाइसकेका छन् ।

यस्तै,बागमती प्रदेशमा इन्द्रबहादुर बानियाले प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीभन्दा १ सय ५८ मत बढी ल्याएर जीत हात पारेका छन् । कूल २ हजार २५ मत गणना हुँदा बानियाँले १ हजार ८५ र अर्का उम्मेदवार केसीले ९ सय २७ मत पाएका छन् ।

उता,गण्डकी प्रदेशमा शुक्रराज शर्माले अर्जुन जोशीलाई हराएका छन् । लुम्बिनीमा संस्थापनइतर अमर सिंह पुनले संथापनपक्षका भरत शाहलाई हराएका छन् ।

त्यस्तै,कर्णाली प्रदेशमा संस्थापनपक्षका ललितजंग शाहीले संस्थापनइतर रामचन्द्र पौडेल पक्षका भुपेन्द्रजंग शाही र निधि पक्षका मोतीराज बमलाई हराएका छन् ।

सुदूरपश्चिम प्रदेशमा सभापति शेरबहादुर देउवानिकट नेता भक्तबहादुर बलायरले संस्थापन इतरपक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरेका छन् ।

जारी प्रदेश अधिवेशनको प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले एकमुष्ठ उद्घाटन गर्नुभएको थियो । तर अन्य प्रदेशमा अधिवेशन सम्पन्न हुँदा प्रदेश नम्बर २ मा भने स्थगित भएको छ ।

पार्टीले तोकेकै मितिमा महाधिवेशन सम्पन्न गर्ने बताउँदै आए पनि प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि मात्र गरिने भएको हो । प्रदेश नम्बर २ मा हालसम्म केन्द्रीय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समितिसमक्ष प्राप्त नहुँदा अधिवेशन स्थगित भएको बताइएको छ ।

प्रदेश नम्बर २ का आठवटै जिल्लामा ३२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेकोमा सात निर्वाचन क्षेत्रमा अधिवेशन हुन सकेको छैन । सर्लाहीका चार, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट नहुँदा प्रदेशको अधिवेशन सार्नु परेको पार्टी केन्द्रीय स्रोतले जानकारी दिएको छ ।

अन्य कतिपय जिल्लामा समेत अधिवेशन हुन सकेको छैन । जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न नगरी केन्द्रको महाधिवेशन गर्ने योजनालाई धेरैले उल्टो प्रक्रिया भन्न थालेका छन् ।

टिप्पणीहरू