एनआरएन चुनावमा मन्त्रीको आदेश बदर

एनआरएन चुनावमा मन्त्रीको आदेश बदर

गैरआवासीय नेपालीहरुको संगठन एनआरएनको रोकिएको चुनावी प्रक्रिया खुलेको छ । राजनीतिक दलहरुको प्रभाव परेको उक्त संगठनभित्र पछिल्लो पटक परराष्ट्रमन्त्री नारायण खड्काले गर्नुभएको हस्तक्षेपलाई उच्च अदालत पाटनले उल्टाइदिएको छ ।

अदालतले आदेश दिएपछि चुनावी बाटो खुलेको हो । परराष्ट्र मन्त्रीले राजनीतिक लाभहानीलाई हेरेर एनआरएनको संरक्षक परिषद्लाई चुनाव गराउन जिम्मा दिनुभएको थियो । संरक्षक परिषद् उक्त संगठनका पूर्वअध्यक्षहरु रहेको कमिटी हो ।

विधानअनुसार उक्त कमिटी एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बनाउँछ । एनआरएनले सबै खालको निर्वाचन गराउने जिम्मा उसको कार्यकारी समितिलाई दिएको छ । तर, विधान विपरीत मन्त्रीले उक्त जिम्मा संरक्षक परिषद्लाई प्रदान गर्न निर्देशन दिएपछि कानुनी उपचार खोजिएको थियो ।

उच्च अदालत,पाटनको हिजोको आदेशपछि अब एनआरएनएको चुनाव यहि डिसेम्बरभित्रै हुने निश्चित भएको हो । चुनाव डिसेम्बर २८ र २९ अर्थात् पुस १२ र १३ गते हुने सूचना यसअघि नै जारी गरिएको थियो । अब तोकिएको मितिमा नै चुनाव हुने र नयाँ नेतृत्व चयन गर्ने बाटो खुलेको छ ।

टिप्पणीहरू