चितवनका व्यवसायीको गुनासो : ‘८ लाख आए-गए’

चितवनका व्यवसायीको गुनासो : ‘८ लाख आए-गए’

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनस्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले महाधिवेशनताका आशाअनुरुपको व्यापार नभएको गुनासो पोखेका छन् ।

मंसिर १० देखि १५ गतेसम्म तन्किएको महाधिवेशनमा पुगेका प्रतिनिधिहरु सौराहा र नारायणी किनारमा मात्रै केन्द्रित भएकाले आशा गरेअनुसारको व्यापार हुन नसकेको उनीहरुको भनाइ छ ।

नेता,कार्यकर्ता र प्रतिनिधिहरु अधिकांशलाई सौरहामा नै होटल बुकिङ गरिएको र दिउँसोको समय अन्यत्र घुम्न जान नपाएकाले समेत अपेक्षाअनुसारको व्यापार हुन नसकेको व्यापारीहरुको बुझाइ छ ।

‘आयोजक पक्षले सौराहा र नारायणी किनारलाई मात्रै केन्द्रित नगरी विभिन्न चोकतिर पाहुनाका लागि छाडिदिएको भए साना व्यवसायीहरुको व्यापार फस्टाउने थियो,’ भन्दै उनीहरुले थपेका छन्, ‘हाम्रो लागि आठ लाख जना चितवन आउनु र जानुको कुनै अर्थ देखिएन । सामल बोकेर पशुपति दर्शन गर्न आएका मित्रराष्ट्रका पर्यटकले झैँ मैदान मात्रै फोहोर भयो,व्यापार भएन ।’

साना व्यवसायीहरुलाई समेट्न मानिस र सवारीसाधनको भीडलाई व्यवस्थित गरी अन्यत्र ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था गरेर पैदल जाने व्यवस्था गर्नुपर्थ्यो भनेर उनीहरुले महाधिवेशनपछि सुझाएका छन् । त्यसो गरेको भए आफूहरुले पनि व्यवसाय उकास्ने मौका पाउने आशा गरिएको बताएका छन् ।

‘महाधिवेशनस्थलमा आयोजकहरुले साना व्यवसायीका निम्ति छुट्टै स्टलको व्यवस्था गरिदिएको भए उनीहरु समेत लाभान्वित हुनसक्थे, तर त्यसो गरिएन,’ आयोजकसमक्ष उनीहरुको गुनासो छ ।

टिप्पणीहरू