एमालेमा समस्या तल होइन, माथिको

एमालेमा समस्या तल होइन, माथिको

दुई तिहाइ बहुमतको सरकार र सशक्त कम्युनिष्ट पार्टीबाट झरेपछि एमालेभित्र विगतको समस्या केलाउन थालिएको छ । महाधिवेशनमा देखिएको तामझाम र कम्युनिष्ट पार्टीको नेतृत्व चयनको प्रक्रियासम्मलाई हेरेपछि केहीले निश्कर्ष निकालेका छन्, ‘समस्या तल होइन माथिको हो ।’

उनीहरुले समस्या नेताहरुको व्यवस्थापनमा देखाएका छन् । बेलैमा नेताहरुको व्यवस्थापन गरिएको भए सम्भवतः पछिल्लो अवस्था नै नआउने एकथरिको विश्लेषण छ ।

जसमा भनिएको छ, ‘लामो समयसम्म वामदेव गौतमको व्यवस्थापन गर्न सकिएन । त्यसैगरी माधव नेपालको पनि व्यवस्थापन गर्न सकिएन । वामदेवको व्यवस्थापन गरेको भए सम्भवतः पार्टी यो हालतमा पुग्दैनथ्यो ।’

“पछिल्ला दिन एमालेमा काम देखाउनेभन्दा पनि अध्यक्षको नजिक भएर पद हत्याउने फर्मुला विकसित हुँदै गएको भन्न थालिएको छ ।”

नेपाल र वामदेवलाई विश्वासमा लिएको भए नेकपामा पुष्पकमल दाहाल प्रचण्डको केही जोडबल लाग्दैनथ्यो भन्नेहरु अहिले एमालेमा देखिएका छन् । तर ‘आइ लभ यु केपी बा’ भन्नेको भीडले ताली बजाएर महाधिवेशन गरेपछि समस्या अन्त होइन अध्यक्ष केपी शर्मा ओलीमा थियो र छ भन्न थालिएको हो ।

महाधिवेशनमा सहभागिता जनाएर राजधानी फर्केका उनै विश्लेषकले भने ‘चितवनको अवस्था देख्दा भीड एकदम उत्साहित थियो । उनीहरुले आज होइन भोलिलाई,दश वर्ष ओलीलाई भन्ने नारा लगाएका थिए ।’ त्यहाँ पार्टी,सामूहिक नेतृत्व सबैलाई तिलाञ्जली दिइएको उनको ठहर छ ।

महाधिवेशनको उद्घाटन र बन्दसत्रमा अध्यक्ष ओलीले गरेका कामको फेहरिस्त समेटिएको ८ मीनेटको भिडियो देखाइएको थियो । उत्तर कोरियाली किम इल सुङ्गकै शैलिमा भिडियोमा हस्पिटल कसले बनायो ? केपीले,पुल कसले बनायो ? केपीले भनिएको छ । त्यहाँ पार्टीको सामूहिक नेतृत्व र योगदानको प्रसंग नै उच्चारण गरिएन ।

“भोलि प्रदेश, संघ,स्थानीय तह र राजकीय पदहरु बाँकी छन् भनेर आश देखाइदिएपछि सबैको मुखमा बुझो लागेको थियोे ।”

उक्त भिडियो हेरेर र सुनेर विद्यार्थीहरु उत्साहित देखिन्थे भने जिम्मेवार प्रतिनिधिहरु सबै बिलखबन्दमा परेको स्पष्टसँग देखिन्थ्यो । त्यहाँ कम्युनिष्ट पार्टीको झण्डाबाहेक अरु कुनै कम्युनिष्ट शैली नभेटिएको सहभागीले बताएका छन् ।

पार्टीमा बढ्दै गएको व्यक्तिवादी प्रचारको विरुध्द कसैले पनि प्रश्न उठाएको समेत देखिएन भन्दै उनै विश्लेषकले भनेका छन्, ‘कर्मचारी नेता पनि केन्द्रीय सदस्य हुने सुरमा,विद्यार्थीबाट गएका महेश बर्तौलाले ४० वर्षमा केन्द्रीय सदस्य भइन्छ कि भनेर आश गरेका । त्यसरी मुख मिठ्याएर बसेकोले कोही चुक्क नबोल्ने । यी सबै दृश्यबाट पार्टीभित्र ठूला मान्छेमा समस्या रहेको देखियो ।’

अर्कोतर्फ अध्यक्ष ओलीले आश देखाइदिएपछि सबै चुपचाप लागेका हुन् भनिन्छ । ओलीले सम्बोधनको क्रममा भोलि प्रदेश, संघ,स्थानीय तह र राजकीय पदहरु बाँकी छन् भनेर आश देखाइदिएपछि सबैको मुखमा बुझो लागेको थियोे । उहाँले ‘पालो आउँछ’ भनेपछि सबै तैं चुप,मै चुप भएका हुन् ।

अफर दिने क्रममा अध्यक्ष ओलीले अलि ठूला नेतालाई राष्ट्रपति र उपराष्ट्रपतिको अफर सौराहामै फालिदिनुभएको हो । त्यसैगरी, वरिष्ठलाई पन्छाएर शंकर पोखरेललाई महासचिव र अन्यलाई भन्दा ईश्वरलाई वरिष्ठ उपाध्यक्षमा व्यवस्थापन गरेपछि इच्छा देखाएकाहरुको मन अमिलो भएको बुझिएको हो ।

महाधिवशेनमा त्यत्रो तामझाम गरिँदा,धेरै जना नेतालाई पटक पटक भेट्दा पनि अध्यक्षले भीम रावल र घनश्यामहरुलाई भेटेर कुराकानी नै नगरेको आरोपसमेत लागेको छ । निर्वाचनमा रावलले अध्यक्षमा उम्मेदवारी दिने बताइसकेको अवस्थामा समेत अध्यक्षले सामान्य छलफल गर्नु भएन ।

त्यस्तो अवस्थामा उहाँले ‘अब यसरी जाऔं वा कसरी अघि बढ्ने भनेर,’ रावल र भुसाललाई सोध्नै नहुने व्यवहार देखाउनुले पनि आगोमा घिऊ थपेको अर्थ लागेको छ । ‘सम्भवतः अध्यक्षले यसरी मिलेर अघि बढौं भनेको भए पार्टीमा समस्या आउँदैनथ्यो,’ नाम नबताउने शर्तमा एमालेका एक जना नेताले भने ।

अध्यक्ष ओलीले विगतमा पटक पटक आफूले कुनै पनि कक्षा दोहोर्याएर नपढ्ने उद्घोष गर्नुभएको थियो । तर पार्टीमा एउटै पदमा दुई पटक उम्मेदवार हुन नपाइने विधानको व्यवस्थालाई चितवनमा पुगेर रातारात सच्च्याइयो । किनभने उहाँ यसअघि नै जनकपुर र बुटवलमा अध्यक्षको उम्मेदवार हुनुभएको थियो ।

तर असोजमा गोदावरीमा भएको विधान अधिवेशनमा अरु व्यवस्था संशोधन भए पनि उक्त व्यवस्था जस्ताको तस्तै पारित भएको थियो । त्यतिबेला ६३ सय प्रतिनिधि भएर विधान संशोधन गरेका थिए । अस्तिको हप्ता चितवनमा चुट्कीको भरमा विधान संशोधन गरिनुले समस्या कहाँ हो भन्ने जिज्ञासालाई बल पुगेको बताउन थालिएको छ ।

गोदावरीमा पारित विधानलाई सौराहामा पुगेपछि ‘के को लंगौटी’ भनेजस्तो बनाइएको पनि छर्लङ्ग भएको छ । भइरहेको पदबाट खुस्किएला कि वा भोलिका दिनमा अवसर नपाइएला भनेर धेरैले मुख बन्द गर्ने प्रवृत्ति बढेको छ । पछिल्ला दिनमा एमालेमा काम देखाउनेभन्दा पनि अध्यक्षको नजिक भएर पद हत्याउने फर्मुला विकसित हुँदै गएको भन्न थालिएको छ ।

टिप्पणीहरू