जनकपुरमा रेलको हालत : पाल च्यातियो, इञ्जिन खिया पर्न थाल्यो

जनकपुरमा रेलको हालत : पाल च्यातियो, इञ्जिन खिया पर्न थाल्यो

नेपालले भारत सरकारसँग खरिद गरेको रेल जनकपुर आइपुगेको एक वर्ष नाघिसकेको छ । तर, पनि रेल अझै सञ्चालनमा आउने कुनै छाँटकाँट देखिएको छैन । रेल विभागले जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि किनेको रेल सेटलाई जनकपुरमा विगत एक वर्षदेखि थन्काएर राखिएको छ ।

विभागले रेल ल्याएको वर्षदिन बितिसक्दा पनि कहिलेबाट सञ्चालनमा ल्याउने टुंगो लगाउन सकेको छैन । विभागले मिति टुंगो लगाउन नसके पनि रेल सञ्चालनको निम्ति अध्यादेश जारी गरिएको छ । सरकारको अनुरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रेल वे अध्यादेश २०७८ जारी गरिएको हो ।

अध्यादेश जारी भए पनि रेल सञ्चालनको लागि त्यस मातहतका निकायले कुनै पनि योजना अघि सारेका छैनन् । बिनातयारी ल्याइएको रेल सञ्चालनमा आउन नसक्दा त्यसमा खिया लाग्न थालिसकेको छ । साथै, वर्ष दिनदेखि पार्किङ्ग गरेर राखेको रेलको पालसमेत धुजाधुजा भएर च्यातिएको छ ।

महामारीका कारण भारतसँगको सीमानाका बन्द रहेको कारण देखाउँदै रेल सञ्चालनमा आउन ढिलो भएको बताइन्छ । नियमित सेवा दिने भनेर महँगोमा खरिद गरेको रेल कहिलेदेखि चल्छ त्यसको समेत अत्तोपत्तो छैन ।

कानुन र कर्मचारीबिना हतारोमा भारतबाट भित्र्याइएको रेल वर्ष दिन अघिदेखि जनकपुरमा ल्याएर पालले छोपेर राखिएको हो । लामो समयसम्म सञ्चालन हुन नसक्दा रेलको भित्री भागमा समेत असर पर्ने बताइन्छ ।

यता, नेपाल रेल–वे कम्पनीले बजेट र कर्मचारी व्यवस्थापनको काम सकिएसँगै रेल सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।जनकपुर जयनगर रुटमा सञ्चालन गर्न दुई वटा रेल भारतको मद्रासमा बनाएर नेपाल ल्याइएको थियो । ती रेल लकडाउनका कारण केही समय भारतको हाजीपुरमा रोकिएको थियो ।

सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग दुई वटा रेल किन्ने सम्झौता भएको थियो । भन्सार र मूल्यअभिवृद्धि कर तिर्दासम्म रेलको मूल्य १ अर्ब ३ करोड परेको छ ।

३५ किलोमिटरको जनकपुर जयनगर रेलमार्गमा ब्रोडगेज बिस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै रेल किन्न ढिलो भएको थियो ।

जानकारहरुका अनुसर रेलका पार्टपूर्जामा खियासमेत लाग्न थालेको छ । एक अर्बको लागतमा किनिएको दुबै सेट रेलको गत वर्ष नै ट्रायल गरिए पनि सञ्चालनमा ल्याउने सम्बन्धमा कुनै सुरसार देखिएको छैन् । रेलमा बसेर र उभिएर एक पटकमा एक हजार तीन सय जना यात्रुले यात्रा गर्न सक्छन् ।

खुला आकाशमा पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गए पनि सञ्चालनका लागि प्रभावकारी पहल भएको छैन । भारतबाट खरिद गरेर ल्याइएका ती रेलहरु खुला आकाशमुनि नै राखिएकाले खियासमेत लाग्न शुरु भएको छ । अर्कोतर्फ सर्वसाधारणले समेत रेल चढ्ने आश मारिसकेको बताउन थालेका छन् ।

टिप्पणीहरू