ओलीजीले जनताको मर्म बुझ्नुभएन

ओलीजीले जनताको मर्म बुझ्नुभएन

– महेन्द्रराय यादव, मन्त्री कृषि तथा पशुपक्षी विकास मन्त्रालय

वामपन्थी दलबाट राजनीति प्रारम्भ गरेका र अहिले फरक धार पछ्याइरहेका नेता हुन् महेन्द्रराय यादव । लामो समय एमालेको राजनीति गरेका उनी सांसद पदबाटै राजीनामा दिएर मधेसी आन्दोलनमा होमिए । ०३७ सालदेखि राजनीतिमा सक्रिय उनी ०४८ साल, ०५१ को मध्यावधि निर्वाचन, २०५६, ०६४ को पहिलो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीबाट लगातार निर्वाचित भइरहेका छन् । ०५४ मा राज्यमन्त्री, २०६४ मा सिञ्चाइ र ०६७ मा उद्योग हुँदै पछि सामान्य प्रशासनमन्त्री बनिसकेका रायको नाम गत २२ असोजमा प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेट विस्तार गर्दा शुरुमा मन्त्रीको रूपमा थिएन । पछि अरुको नाम काटकुट पारेर उनलाई कृषिमन्त्री बनाइएको चर्चा छ तर मन्त्री यादव यसलाई अफवाह मात्र भन्छन् । लामो समय महन्थ ठाकुर र राजेन्द्र महतोको संगत गरेका उनी केपी शर्मा ओली दुई–दुई पटक संसद् विघटन गर्न हौसिनुमा महन्थ र राजेन्द्रहरूकै हात रहेको बताउँछन् ।

– हरि गजुरेल

पार्टी फुटपछि मधेसमा तपाईंहरूको स्थिति कस्तो छ ?

– हामी अग्रगमनका पक्षधर । संसद् पुनःस्थापनाको मुद्दा बोकेका हौं । संसद्, संविधानलाई बचाउने हाम्रो एजेन्डा । अग्रगमन पक्षधर भएकै कारण हाम्रो पार्टीप्रति ठूलो लहर छ । पार्टीबाट केही साथी अलग भएसँगै जनता समाजवादी पार्टी झन् बलियो भएको छ । केन्द्रीय कमिटीदेखि तलसम्म ८० प्रतिशत हामीसँगै छन् । ६ वटा प्रदेशमा सरकारको प्रतिनिधित्व गरिरहेका छौं, विभाजनको कुनै असर छैन ।

तपाईंहरूको गठबन्धन निर्वाचनसम्म जान्छ ? अबको समीकरण कसरी अगाडि बढ्ला ?

– मुलुकमा दुईवटा धार देखियो अग्रगमन र प्रतिगमन । अग्रगमनका पक्षधर जति गठबन्धनमा छौं । मुलुक, संविधानलाई बचाउनका लागि यो गठबन्धन कायम रहनुपर्छ । जबसम्म राजनीतिक अस्थिरता र विभेदको अन्त्य हुँदैन, मुलुकमा सुशासन कायम गर्ने, समृद्धिको दिशातर्फ लैजाने यी सबै चुनौती गठबन्धनको अगाडि छ । निकास पनि गठबन्धनबाट मात्र सम्भव छ । हामी चाहन्छौं यो गठबन्धन निर्वाचनसम्म कायम रहोस् । यो गठबन्धन संघ, प्रदेश र स्थानीय तहको निर्वाचनसम्म जाओस् ।

तपाईं आफैं क्याबिनेटको एउटा सदस्यको हैसियतले सरकारको गतिबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

– अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको छ । कोभिड १९ को असर विश्वव्यापी छ, हामी अछुत छैनौं । स्रोत, साधन, प्रतिस्थापन बजेट हेर्दा प्रगति सन्तोषजनक छ ।

तपाईं आफैं मधेसबाट उठ्नुभएको नेता । प्रदेश २ को सरकारको काम कसरी नियालिरहनुभएको छ ?

– संयुक्त सरकार छ त्यहाँ । प्रदेश २ मात्र होइन, सातवटै प्रदेश अन्योलग्रस्त अवस्थामा चलिरहेको छ । प्रदेशले आफ्नो निकायमा आफैँले कर्मचारी भर्ना गर्न सक्ने अवस्था छैन । केन्द्र सरकारले पठाएका कर्मचारी तीन–चार महिना पनि टिक्दैनन् । सरुवा मिलाएर हिँडिहाल्छन् । जबसम्म राजनीतिक स्थिरता र प्रदेशले अधिकार पाउँदैन त्यसले प्रतिफल दिन सक्दैन । दुई नम्बर प्रदेशले विगतदेखि नै अधिकार र विकासका लागि विभिन्न अदालतमा मुद्दा दायर गरेको छ । सबैभन्दा कम स्रोत र साधन भएको प्रदेश हो दुई नम्बर ।

किसानलाई हरेक वर्ष रासायनिक मलको समस्याले पिरोल्छ । यस वर्ष त्यसखालको समस्या आउन नदिन किसानसामु के–कस्ता प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ?

– रासायनिक मलको समस्या भोगिरहेका छौं । अनुदानको रकम, खरिद प्रक्रिया र डलरमा भइरहने मूल्यवृद्धिका कारण सदैव रासायनिक मलको समस्या पैदा भइरहन्छ । सरकारले जिटुजीमोडलबाट मल खरिद गर्नुपर्छ । जसरी पेट्रोलियम पदार्थको मूल्य स्वचालित रूपमा अन्तर्राष्ट्रिय बजारमा बढ्दा बढ्ने र घट्दा नेपालमा पनि घट्छ उस्तै व्यवस्था हुनुपर्छ । हामी त्यही ढंगले खरिद प्रणालीलाई सच्याउने प्रयासमा छौं । हामीसँग भएको बजेटले जम्मा सवा दुई लाख मेट्रिक टन मात्र मल ल्याउन सकिन्छ तर देशका लागि झण्डै साढे लाख मेट्रिक टन मल आवश्यक पर्ने रहेछ । सरकारसँग तत्कालका लागि १२ अर्ब माग गरेका छौं । अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको खण्डमा यो प्रक्रिया अगाडि बढाउन सक्छौं । टेण्डर प्रक्रियामा जानकै लागि कम्तीमा तीन महिना लाग्छ । असारका लागि अहिले नै टेण्डरमा गइहाल्नुपर्ने स्थिति छ ।

कृषिमा केही नयाँ योजना ल्याउँदै हुनुहुन्छ कि ?

– २० वर्षे कृषि नीति छ । समय सापेक्ष ऐन–नियम कानुन परिवर्तन गर्नुपर्ने छ । कृषि उत्पादनलाई आत्मनिर्भर गर्नका लागि सातै प्रदेशमा भण्डारण घर बनाउने, बजारको व्यवस्थापन गर्ने तयारी छ । किसानको आकर्षण बढाउनका लागि सरकारले नै बजारको व्यवस्थापन गर्ने, अनुदान प्रणाली पारदर्शी गरी किसानको हातमा दिनेलगायत काम हुँदै छ । देश हाँक्न किसान आत्मनिर्भर हुनुपर्छ, किसान पेशा छाडेर विदेश जाने कुराले देशअघि बढ्न सक्दैन ।

गत २२ असोजमा अन्तिममा अरूको नाम काटेर तपाईंलाई कृषिमन्त्री बनाइयो भन्छन्, वास्तविकता के हो ?

– पार्टी अध्यक्षज्यूले १ बजे मेरो नाम सिफारिस गर्नुभएको हो ।

मधेस मुक्तिका लागि लडेका भनिएका तपाईंहरू भित्रै यादव भर्सेज मिश्र,तेली,साहहरूको छोइछिटो छ । यस्तो राजनीतिबाट मधेसी जनताले कसरी मुक्ति पाउलान् ?

– जो सिद्धान्तविहीन छ उसैले यी सबै कुरा गर्ने हो । मधेस आन्दोलनमा मानव साङ्लो निर्माण गर्दा सबैखाले जनता सडकमा आउँछन् । विभेदविरुद्धको संघर्ष हो यो । हाम्रो विधि विद्यानले सबैको प्रतिनिधित्व गरेको छ । कर्णाली र प्रदेश २ आर्थिक रूपमा सबैभन्दा कमजोर छ । अशिक्षा र गरिबी भएको ठाउँमै विभेद र जातीय समस्या निम्तिने हो । हामी चाहन्छौं कि समतामूलक समाज बनोस्, समाजवादी व्यवस्था लागू होस् ।

पूर्वजसपाभित्र कम्युनिष्ट, कांग्रेसदेखि राप्रपासम्मको संयोजन थियो । जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी निर्माण भएसँगै दूधको दूध पानीको पानी भयो भनिन्छ नि ?

– विभिन्न पार्टीले उठाउँदै आएको पहिचान र अधिकारको मुद्दा, जो कालान्तरमा सबैले छाडिसकेका थिए, उठाएको छ जसपाले । त्यही कारण हामीले संविधान संशोधन चाहेका थियौं । यो मुद्दा उठाउँदा क्षेत्रीय मुद्दा भन्ने आरोप लाग्यो । यो राष्ट्रिय मुद्दा हो । हामीले देशैभरका र उत्पीडनमा परेकाहरूको निम्ति आवाज उठाएका हौं । हिजोका शासकले मधेसलाई पहाडविरुद्ध र पहाडेलाई मधेसविरुद्ध खडा गर्थे । धेरै पार्टीले पहाड र मधेसलाई तोड्ने काम गरे । हिमाल, पहाड र तराईलाई समेत जोड्ने पार्टीका रूपमा जसपा अघि आएको हो । जहाँ बाबुराम भट्टराई, अशोक राई, पूर्वराजपाका साथीहरू एक ठाउँमा छौं । संगठन निर्माण देशैभर भइरहेको छ ।

तपाईंले कम्युनिष्ट पृष्ठभूमिबाट राजनीति प्रारम्भ गर्नुभयो, अहिले अलग धारको नेतृत्व गरिरहनुभएको छ । के फरक पाउनुभयो कम्युनिष्ट राजनीति र मधेसको राजनीतिमा ?

– वैचारिक सिद्धान्तमा केही फरक छैन । कम्युनिष्ट पार्टीको विचार, सिद्धान्त देश–विदेश सबैतिर रूपान्तरण भएको छ । सबै पुँजीवादतिर गइरहेका छन् । समाजवाद सबैको नारा बनेको छ । सबै समाजवादको आफ्नै रंगरूप छ । उत्पीडन, विभेद दूर गर्नका लागि समाजवादी व्यवस्थामा लैजानुपर्ने हुन्छ । मधेस आन्दोलनलाई समेटेर र व्यवस्थित गरेर लोसपा बन्यो । हामीले साम्प्रदायिक र पृथकतावादी तागतलाई अन्त्य गरी देशलाई जोड्ने काम गरेका छौं ।

एमाले महाधिवेशनले दिएको सन्देश के हो ?

– एमाले पार्टी सत्तामा थियो । आफ्नै कारण सडकमा पुग्यो । आफ्नै घर मिलाउन सकेन । नेपाली जनताले राजनीतिक स्थिरता खोजेका थिए । ओलीजीले जनताको मर्म बुझ्न सक्नुभएन । जति अवसर पाउनुभयो त्यो अवसर गुमाउनुभयो । त्यही अवसर फेरि पाउन धेरै चुनौती छ ।

मधेसका धेरै मुद्दा ओली सत्तामा हुँदा सम्बोधन भएको भनिन्थ्यो तर मधेसकै नेता उहाँले सत्तामा हुँदा पनि डबल स्ट्याण्डर्ड देखाउनुभयो भन्छन् । वास्तविकता त्यस्तै हो ?

– पूर्वराजपा हुँदा उहाँलाई समर्थन गरेका थियौं । माग सम्बोधन नगर्नुभएपछि समर्थन फिर्ता लियौं । उपेन्द्र यादवहरू त्यतिखेर दुई बुँदे सम्झौता गरेर सरकारमा सामेल हुनुभएको थियो, माग पूरा नभएपछि सरकारबाट ब्याक हुनुभयो । प्रदेशलाई स्वायत्त गर्ने, अधिकार दिने कुरा भएन । संविधान संशोधनको काम पनि भएन । न मधेसी न त उत्पीडित कसैको मुद्दा संबोधन भएन । हामीले मधेसका मुद्दा मधेसको मात्र नभएर देशको मुद्दा हो भन्यौं । उहाँले कामै गर्न सक्नुभएन । हुँदा छँदाको संसद् दुई–दुई पटक विघटन गर्नुभयो ।

महन्थ ठाकुर र राजेन्द्र महतोहरूको साथ नभएको भए ओलीले दुई दुई पटक संसद् विघटन गर्ने हिम्मतै गर्नुहुन्नथ्यो भनिन्छ । कत्तिको सत्य हो ?

– एमालेको सरकारले पुस ५ मा संसद् विघटन गर्दा हामीले विरोध गरेका थियौं । अदालतले त्यसलाई सच्यायो । दोस्रो पटक ८ जेठमा विघटन गर्दा जसपाका ३२ जनाको समर्थन छ भन्ने कागज दिनुभयो । दोस्रो संसद् विघटन हुनुमा एमाले सरकारभन्दा उहाँहरू बढी जिम्मेवार हुनुहुन्छ । महन्थ–राजेन्द्रहरूले साथ नदिएको भए केपी ओली एक्लैले संसद् विघटन गर्ने हिम्मत गर्नुहुन्थेन । राजेन्द्र–महन्थको साथ पाएरै संसद् विघटन भएको हो । तर, संसद् भनेको लोकतन्त्रको मुटु हो, संविधान र संसद्को रक्षा गर्नुपर्ने ठाउँमा संसद् विघटन गर्नेतिर उहाँहरू जानुभयो ।

मधेसमा ओली, माओवादी, मधेसी, राप्रपा, माधव नेपाल पक्षधरमध्ये को बलियो ? कसको पोजिसन कस्तो देखिन्छ ?

– मधेसमा अहिले पनि जनमत हेर्दा हामी नै बलियो छौँ । अहिले हाम्रो स्थिति सबैभन्दा राम्रो कर्णाली प्रदेशमा छ । त्यहाँ सबैभन्दा राम्रोसँग हाम्रो संगठन विस्तार भइरहेको छ । देशभरबाट पार्टीप्रति सद्भाव छ । मधेस भूमि त हाम्रो जनाधार भएको ठाउँ, आन्दोलन, क्रान्ति र विद्रोहको भूमि सबैभन्दा राम्रो मधेसमा छ ।

एमाले हुँदै मधेसका दलमा पनि टुट्दै फुट्दै अहिले जसपामा पुग्नुभएको छ । यसरी पार्टी परिवर्तन भइरहँदा व्यक्तिगत जीवनमा के असर पार्दाेरहेछ ?

– एमाले छाड्दा सांसदबाटै राजीनामा दिएँ, गौरव नै लाग्यो । काम गर्ने व्यक्तिलाई कुनै पार्टी छाड्दा उत्तारचढाव त हुन्छ तर मेरो हकमा त्यस्तो समस्या आएन । अहिलेसम्म जनताको आशीर्वाद पाइरहेको छु । हिजो मधेसबाट पहाडे समुदाय कसरी विस्थापित भए ? अहिले टुट्ने होइन, हिमाल, पहाड र तराईलाई जोड्ने अभियानमा छौं ।

रामचन्द्र झा, मधेसका एउटा खम्बा, उहाँ हालै माधव नेपालको पार्टीमा जानुभयो । त्यस्तै सम्भावना यहाँको छ वा छैन ?

– अब यही पार्टीलाई लिएर अघि बढ्ने हो । हामी चाहन्छौं एउटा मधेसीले पहाडबाट जितोस्, पहाडको मान्छेले मधेसबाट जितोस् ।

टिप्पणीहरू