५५ स्वादका चिया,२२ स्वादका कफी : चियाचौतारीमा रमाउने त कति हो कति !

५५ स्वादका चिया,२२ स्वादका कफी : चियाचौतारीमा रमाउने त कति हो कति !

इतिहास बनेको एउटा कथा, मृत्युदण्ड पाएका दुई चिनियाँ, दुवैलाई विष मानेर चिया र कफीको परीक्षण गरियो । तर हजारौं वर्षपछि संसारभर नै चिया र कफीका पारखीहरु बढेको पाइएको छ । हिजोआज चिया ‘माइण्ड फ्रेस’ गर्ने एउटा अत्यावश्यकीय पेयपदार्थ बन्न पुगेको छ ।

चियाकफीका पारखीहरु पनि थरिथरी भेटिन थालेका छन् । र, यस्ता पारखीहरुको सेवामा रहेको एउटा थलो हो,इटहरी ६ नेशनल गल्लीको चिया चौतारी । यो गल्लीमा चियाकफीका पारखीहरु आआफ्नो जीब्रोको स्वादअनुसारका चियाकफी पिउन आउने गर्छन् ।

चौतारीमा चियाकफी पिएर सुस्ताउँदै थकाइ मार्न खोज्नेलाई यसबारे जानकारी दिँदै सुष्मा थापा बराल भन्छिन्, ‘हामीकहाँ ५५ थरि चिया, २२ थरि कफी पाइन्छन् । तपाईंलाई कस्तो चिया,कस्तो कफी मन पर्छ ?’

हो,जीब्रो फड्कार्दै आ-आफ्नो स्वादमा रमाउने चिया चौतारीमा ह्वाइट टि,गोल्डेन टि,विभिन्न स्वादका चिया,ग्रीन टि,अर्थोडक्स टि, सिटिसी टि र मिल्क टिका ५५ परिकार पाइन्छन् । जसलाई जे मन पर्छ त्यही खालको अर्डर दिएर पिउन सकिन्छ ।

सुनौलो चिया (गोल्डेन टि) देखि सिल्भर टि (चाँदीरंगे) चिया पिउन सकिने चिया चौतारीमा जडिबुटी र विभिन्न फूलका स्वादमा चिया पिउन सकिन्छ । सादादेखि मसाला मिसिएका चियाहरु पनि ५५ स्वादमै पर्छन् ।

सम्भवतः एकै थलोमा यति धेरै चियाको स्वाद लिन पाइने एकमात्र थलो हो चिया चौतारी । यी चियाको २५ देखि १ सय २५ रुपैयाँसम्म पर्ने गर्छ । रोस्टेड ग्रीन टि २५ रुपैयाँमा पाइन्छ भने काश्मिरी चियाको दाम एक सय २५ रुपैयाँ प्रतिकप पर्ने गर्छ ।

त्यसो त समूहगतरुपमा विभिन्न भाँडा (पट) को चिया पिउन मन लाग्दा पनि पिउन सकिन्छ । एक पटमा चार कप चिया पिउन सकिन्छ भने सो पटलाई तीन पटकसम्म उपयोग गर्न सकिन्छ ।

चियाबाट वाक्क भएका कफीप्रेमी पनि चिया चौतारीबाट निराश हुन पाउँदैनन् । कफीप्रेमीका लागि २२ स्वाद हाजिर हुने चिया चौतारीका सञ्चालकले बताएका छन् । विभिन्न थरिका एस्प्रेस्सो,ब्ल्याक कफी,मिल्क कफी,आइस कफी र मोजिटो स्वादका कफीहरु पाइन्छन् ।

चियाचौतारीमा अर्गानिक र ग्रीनकफीहरु पनि पिउन पाइन्छ । प्रतिकप ५० रुपैयाँदेखि एक सय ७५ रुपैयाँसम्मका कफीहरु चिया चौतारीका मेनुमा देखिन्छ । तपाईं पनि चियाकफीको स्वादमा रमाउने हो भने एकपल्ट पुग्ने हो कि इटहरीको चिया चौतारीमा ?

टिप्पणीहरू