पूर्वराजा ज्ञानेन्द्रलाई ट्याग गर्दै कमल थापा क्रुद्ध

पूर्वराजा ज्ञानेन्द्रलाई ट्याग गर्दै कमल थापा क्रुद्ध

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले हारको पीडा पोखेका छन् । पार्टीको पहिलो एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनबाट आज बिहान पराजित भएपछि उनले हार स्वीकार्य भएको उल्लेख गरे पनि नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा भने गएनन् ।

थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत् आफ्नो हारमा दुःखमनाउ गरेका छन् । उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् ।

उनकै अर्को ट्विटमा ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकी हिँडेको पुरस्कार आज पाइयो’ भनिएको छ ।

पीडा पोख्दै अगाडि लेखिएको छ, ‘एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्, हार्दिक शुभकामना, ।

आज बिहानसम्म राजा र राजतन्त्रको वकालत गर्दै आएका थापाले मत परिणामलगत्तै उक्त संस्थाप्रति धारे हात लगाउनुमा राप्रपाका नेता तथा कार्यकर्ताले अचम्म मानेका छन् ।

लिङ्देनलाई भोट हालेका एक जना प्रतिनिधिले जनआस्थासँग कुराकानी गर्दै भने, ‘राजा र राजतन्त्रको नाम भजाएर राजनीतिको चुलो चौको चलाएका थिए । जीविका खोसिएपछि त्यही संस्थाविरुध्द वमन गर्नु एकताका लोकेन्द्रबहादुर चन्दकै भाषामा प्वाल परेको जहाजबाट मुसा हाम फाल्नुजस्तै हो ।’

टिप्पणीहरू