स्वदेशलाई त्यसपछि जसले सम्झिएनन्

स्वदेशलाई त्यसपछि जसले सम्झिएनन्

कोही जागिरे जीवनभर एकचोटि प्लेन चढ्न नपाउने, विदेशी भूमि टेक्नै नपाई अवकाशमा जाने । केही अध्ययन, सेमिनारका नाममा दर्जनौँ पटक विदेश गइरहने, तीमध्ये केही उतै भास्सिने । सरकारी कोटाबाट अध्ययन बिदामा चीन, अमेरिका, जापान, अष्ट्रेलिया, क्यानाडा, बेलायतलगायत मुलुकमा पुगेका कर्मचारी उतै बेपत्ता हुने सिलसिला बढ्दाे छ ।

फितलो कानुनका कारण कर्मचारीमा यस्तो मनोबल बढ्दै गएको पाइन्छ । निजामती सेवा ऐनको दफा ४० (ख)मा विदेशमै बेपत्ता हुने कर्मचारीलाई बर्खास्त गर्ने र हालसम्म सरकारबाट लिएको रकम असुलउपर गर्ने गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने भए पनि भगौडा कर्मचारीलाई बर्खास्त मात्र गर्न सकिएको छ । उनीहरूबाट असुलउपर गर्न नसकिएको पशुपक्षी मन्त्रालयका एक अधिकारीले बताए ।

राज्यले लाखौं लगानी गरेर विदेश पढ्न पठाएकाहरू उतै भासिने क्रम बढेसँगै सरकारका लागि टाउको दुखाइको विषय बन्न थालेको छ । विशेष गरी प्राविधिकतर्फ कृषि, वन, स्वास्थ्य सेवाका कर्मचारी पीचएडी गर्न भन्दै वैदेशिक अध्ययनका नाममा गएर नफर्कने रोग बढेको पाइएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीका अनुसार यसरी अध्ययन बिदा लिएर उतै पलायन हुने कर्मचारीको संख्या ५ सयभन्दा माथि छ । विशेष गरी चीन, अमेरिका, कोरिया, क्यानाडालगायत मुलुकले नेपालबाट हरेक वर्षजस्तो सयौं संख्यामा कर्मचारीलाई वैदेशिक अध्ययनको नाममा लैजाँदै आएका छन् । सरकारी सुविधामा विदेश जाँदा फर्केर राष्ट्रको सेवा गर्ने प्रतिज्ञाका बाबजुद अघिल्लो वर्ष मात्र कृषि मन्त्रालयका ११ प्राविधिक कर्मचारी फर्किएनन् ।

वन सेवाका झण्डै आधा दर्जन कर्मचारी उसैगरी हराए । यसरी हराउनेमध्ये हुन्, खानी तथा भूगर्भ विभागको इञ्जिनियरिङ सेवा, मेटालर्जी समूहका धर्मेन्द्र ठाकुर । जो असाधारण बेतलबी बिदा स्वीकृत गराएर १८ जेठ २०६७ नेदरल्याण्ड हान्निएका थिए । ११ वर्ष व्यतित भइसक्दासमेत उनी सम्पर्कमा आएका छैनन् । तीन वर्षको अध्ययन बिदा स्वीकृत गराएर अमेरिका हान्निएका अर्काे जियोलोजिस्ट रोशन कोइराला पनि स्वदेश फिरेनन् ।

भूमि व्यवस्था मन्त्रालयका प्रमुख नापी अधिकृत नवराज सुवेदीले पाँच वर्षको असाधारण बिदा लिएर अष्ट्रेलिया गएकोमा अझै फर्किएका छैनन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका बाली संरक्षण अधिकृत भीम चौलागाईं यसैगरी वैदेशिक अध्ययनका नाममा हराएको वर्षाैँ भयो ।

सम्पर्कमा नआएपछि उनको नाममा हालै मात्र पत्रिकामा सूचना प्रकाशन गरेको छ मन्त्रालयले । कृषि मन्त्रालयकै ११ कर्मचारी सम्पर्कविहीन भएपछि कारबाहीस्वरुप जागिरबाटै बर्खास्त गरिएको छ । बर्खास्त भएकामध्ये उपसचिव खड्गसिंह विष्टसहित, पशु विकास अधिकृत यादव शर्मा बजगाईं, बागवानी विकास अधिकृत सुरेश घिमिरेलगायत छन् ।

वैदेशिक अध्ययन मात्र होइन, तालिमका नाममा समेत सरकारले गरेको लगानी बालुवामा पानीसरह हुँदै आएको छ । तालिमको सिलसिलामा विदेश पुगेर फर्किए पनि तालिमअनुसारको जिम्मेवारी नपाउने हुँदा ती कर्मचारीबाट नतिजा त परको कुरा व्यक्ति बन्ने तर राज्यले केही प्रतिफल लिन नसक्ने स्थिति छ ।

जस्तो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार ०७५/७६ मा १६१ कर्मचारी वैदेशिक अध्ययन भ्रमणमा निस्किएकोमा ०७६/७७ मा ११७ जना र ०७७/७८ मा ५८ जनाले यस्तो अवसर पाएका छन् । यस्तै यही अवधिमा अध्ययन विदा लिएर ०७५/७६ मा १५ जना, ०७६/७७ मा १७ जना र अघिल्लो आर्थिक वर्ष ५ जना जापान, अमेरिका, बेलायत, चीन, मलेसियालगायत मुलुक पुगेका छन् ।

कुन मन्त्रालयबाट कति कर्मचारी विदेश गए, कति फर्किए ? यसको यकिन विवरण अरु मन्त्रालयले सामान्य प्रशासनलाई उपलब्ध गराउनुपर्ने भए पनि वास्ता छैन । अधिकांश मन्त्रालयको कर्मचारी प्रशासन शाखाले अध्ययनका नाममा विदेश गएर नफर्किने कर्मचारीको विवरण लुकाउने प्रयास गरेका छन् ।

टिप्पणीहरू