१ नम्बर प्रदेशका नेकपाएस नेता इटहरीमा जुट्दै

१ नम्बर प्रदेशका नेकपाएस नेता इटहरीमा जुट्दै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले इटहरीमा प्रथम प्रदेश भेला आयोजना गर्ने भएको छ । भेलामा पार्टी सुदृढिकरण र विस्तारका लागि अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने योजना रहेको छ । यो जानकारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का प्रदेश अध्यक्ष बलदेव चौधरीले पत्रकार सम्मेलनमार्फत् गराउनु भएको हो ।

अध्यक्ष चौधरीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विद्रोह गर्दै वैचारिक रुपमा पार्टीका कार्यकर्ताहरुलाई भुत्ते बनाउने एमाले प्रवृतिका विरुध्द समाजवादी पार्टीले कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न थालेको जानकारी दिनुभएको थियो ।

उहाँले सो भेलालाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले खुल्ला रुपमा सम्वोधन तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

मंसिर २१ र २२ गते आयोजना हुने सम्मेलनमा प्रदेश नम्बर १ का १४ जिल्ला र १ महानगरको जिल्ला कमिटीसहित १५ जिल्ला कमिटी पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी तथा प्रदेश कमिटीका सदस्यसहित चार सय ५० जनाले सहभागिता जनाउने तय भएको छ ।

केन्द्रीय उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख प्रमेश हमालले दक्षिणपन्थी अवसरवाद तथा विसर्जनवादविरुध्दको संघर्ष विषयमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले र पार्टी सचिव तथा मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सरकारको अवस्था र कार्य योजनाबारे पहिलो दिन प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी दोस्रो दिन महासचिव बेदुराम भुषालले पार्टीको संगठनात्मक सिद्धान्त र आगामी कार्य योजना,सम्मानीत नेता क. झलनाथ खनालले जुम प्रविधिको उपयोग गर्दै वर्तमान नेपाली क्रान्ति र समाजवादको कार्य दिशा,केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज. घनेन्द्र बस्नेतले कम्युनिष्ट पार्टी सदस्यको नैतिक आचरणबारे प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ ।

पोलिटव्यूरो सदस्य महेश रेग्मीले सञ्चालन गर्नु भएको पत्रकार सम्मेलनमा उठेका विभिन्न सवालबारे इन्चार्ज घनेन्द्र बस्नेतले जवाफ दिनु भएको थियो । कार्यक्रम नेपालकै प्रसिध्द ५५ थरि चिया पाइने चिया चौतारीमा भएको थियो ।

टिप्पणीहरू