प्रधानमन्त्री-पत्नी नै भिडेको अडियो प्रमाण

प्रधानमन्त्री-पत्नी नै भिडेको अडियो प्रमाण

सरकारको नेतृत्व गरेको नेपाली काँग्रेस यतिबेला पार्टीको १४ औं महाधिवेशनको रौनकमा छ । महाधिवेशनको निम्ति जिल्लाबाट चयन हुने प्रतिनिधि पदको महत्व जति छ मूल्य पनि महंँगो नै रहेको रहस्य खुल्दै जान थालेको छ । रुकुम पश्चिममा भएको महाधिवेशन प्रतिनिधि छनौटको वास्तविकतालाई केलाउँदा महँगो महाधिवेशन प्रतिनिधिभित्रको गन्ध बाहिरिएको हो ।

सशस्त्र द्वन्द्वकालदेखि हालसम्म पनि काँग्रेस भएकै कारण घाँटी रेटिएका,खुकुरी र लाठी खाएका, सिउँदो पुछिएका,टुहुरो बनेकालगायतका तमाम् काँग्रेसजन अधिवेशनको चटारोले थप पिल्सिएका छन् । काँग्रेसप्रतिको आस्था बोकेका होइन,पैसाको बिटो बोकेकाहरु महाधिवेशन प्रतिनिधि बनेपछि कार्यकर्ताहरु सामाजिक सञ्जालमा काँग्रेसको घर जलाएर बरु खरानीकै व्यापार गर्ने स्थितिमा पुगेको बताउन थालेका छन् ।

‘भोटले हैन,नोटले नेता हुने रैछन्’ भन्ने गलत भनाइलाई रुकुम काँग्रेसको सातौं जिल्ला अधिवेशनले भने सत्य बनाइदिएको छ । यो कुराको नालिबेली निर्वाचन सम्पन्न गर्न काँग्रेस केन्द्रीय कार्यालयबाट जिल्लामा खटाइएका निर्वाचन अधिकृत मुक्तिप्रसाद आचार्य स्वयमले प्रष्ट पारेका छन् ।

“पूर्वराज्यमन्त्री समेत रहेकी काँग्रेस नेतृ मिठ्ठु मल्लले पाँच लाख रुपैयाँ पार्टीलाई र कार्यालय व्यवस्थापनको निम्ति एकदेखि डेढ लाखसम्म दिन्छु भनेर घोषणासभामा बोलेकी थिइन् ।”

नेपाली काँग्रेसका एकजना कार्यकर्तासँग उनले जिल्लाको सातौं अधिवेशनमा भएको पैसाको लेनदेनबारे सबै खुलस्त पारेका हुन् । जनआस्थालाई प्राप्त कुराकानीको गोप्य अडियोमा उनले कति पैसा र कसको निर्देशनमा को-को महाधिवेशन प्रतिनिधि बने भन्ने सबै कुरा छर्लङ्ग सुनिन्छ ।

महाधिवेशन प्रतिनिधिको लागि सबैभन्दा बढी रकम खर्च गर्नेमा आठबिसकोट नगरपालिका वडा नम्बर ४ का ललितबहादुर शाही र सानीभेरी गाउँपालिका वडा नम्बर ३ का हरिचन्द्र शाह देखिएका छन् । उनीहरुले भण्डै २५ लाख रुपैयाँ वितरण गरेको स्वयम् निर्वाचन अधिकृत आचार्यले बताए ।

यतिसम्म कि जिल्ला अधिवेशनको बेलामा मात्र पाइला टेकेका ललितलाई प्रधानमन्त्री र उनकी पत्नी आरजुले पटक पटक फोन गरेर महाधिवेशन प्रतिनिधि बनाउन दबाब दिएको आचार्यले टेलिफोन रेकर्डमा उल्लेख गरेका छन् । उनले आरजुले गरेको अनुरोधलाई जिल्लाका नेताले टेरपुच्छर नलाएपछि प्रधानमन्त्री कै पावर लगाइएको बताएका छन् ।

“ललितलाई प्रधानमन्त्री र उनकी पत्नी आरजुले पटक पटक फोन गरेर महाधिवेशन प्रतिनिधि बनाउन दबाब दिएको आचार्यले टेलिफोन रेकर्डमा उल्लेख गरेका छन् । उनले आरजुले गरेको अनुरोधलाई जिल्लाका नेताले टेरपुच्छर नलाएपछि प्रधानमन्त्री कै पावर लगाइएको बताएका छन् ।”

त्यस्तै महाधिवेशन प्रतिनिधि बनेका हरिचन्द्र शाहले पनि २५ लाखसम्म खर्च गरेको आचार्यले उल्लेख गरेका छन् । १० लाख अधिवेशन उद्घाटन,झोला व्यवस्थापन,कार्यालय सामग्रीमा खर्च गरिएको र १५ लाख नगद खर्च भएको देखिएपछि उक्त वास्तविकता निर्वाचन अधिकृत आचार्यले उल्लेख गरेका हुन् ।

पूर्वराज्यमन्त्री समेत रहेकी काँग्रेस नेतृ मिठ्ठु मल्लले पाँच लाख रुपैयाँ पार्टीलाई र कार्यालय व्यवस्थापनको निम्ति एकदेखि डेढ लाखसम्म दिन्छु भनेर घोषणासभामा बोलेकी थिइन् । तर पनि उनी महाधिवेशन प्रतिनिधिमा नपरेपछि आचार्यले महाधिवेशन प्रतिनिधिकै निम्ति कतिसम्म खर्च भएको रहेछ भनेर आशंका गरेका हुन् ।

टिप्पणीहरू