श्रीमानहरु सिरक नछाड्दै अड्डामा,भन्न थाले ‘के भाउँतो आइलाग्यो नि ! ’

श्रीमानहरु सिरक नछाड्दै अड्डामा,भन्न थाले ‘के भाउँतो आइलाग्यो नि ! ’

भोलिदेखि जाडोको मीन पचास शुरु हुँदैछ । काठमाडौंमा ठण्डी बढेको छ । ६० वर्षको हाराहारीमा रहेका अधिकांश श्रीमानहरु बिहानको बेड टि नसकिँदै चिसोमा दाह्री काट्दै र कपाल मिलाउँदै अदालततिर निस्कनुपर्ने बाध्यतामा पुग्नुभएको छ ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा झैं उहाँहरु बिहानको ९ बजे नै कार्यालय पुग्नुपर्ने बाध्यतामा देखिनुभएको हो । चिसोमा बिहानीपखको न्यानो सिरक फालेर दौरा सुरुवाल र साडीमा अदालततिर हुँईंकन पर्दा खानासमेत आनन्दसँग चपाएर खान नभ्याउने स्थिति आइलागेको छ ।

गत साताबाट गोलाप्रथा ल्याइएपछि अहिले श्रीमानहरु उक्त समस्यामा पर्नुभएको हो । गोलाप्रथापछि न्यायालयको सबै विवाद समाधान हुन्छ भन्ने मान्यतामा सहमति जुटेको परिणाम साता नबित्दै सर्वोच्चमा देखिन थालेको त्यहिँका कर्मचारीले बताएका छन् । न्यायाधीश हरिकृष्ण कार्की टोलीको प्रतिवेदनमा गरिएको सिफारिसअनुसार त्यसो गरिएको हो ।

“चिसोमा बिहानीपखको न्यानो सिरक फालेर दौरा सुरुवाल र साडीमा अदालततिर हुँईंकन पर्दा खानासमेत आनन्दसँग चपाएर खान नभ्याउने स्थिति आइलागेको छ ।”

तर पहिले सर्वोच्च अदालतमा न्यायाधीशहरु ढल्किँदै ढल्किँदै घाम तातेपछि मात्रै अदालत पुग्नुहुन्थ्यो । मोटामोटी साढे १० बजेतिर घरबाट निस्कनुहुन्थ्यो । अहिले ६० वर्षको हाराहारीमा रहेका न्यायाधीशहरुलाई १० नबज्दै गोलाप्रथामा सामेल हुनुपर्ने बाध्यता आइलागेको छ । पहिले गोटी तान्नुपर्ने इजलास तोकेपछि मात्रै पेसीको काम अघि बढ्ने भएकाले उहाँहरु छिट्टै अदालत जानुपर्ने भएको हो ।

त्यसका लागि त्यहाँका कर्मचारीहरुलाई समेत के को पहिरो भनेझैँ भएको छ । ‘कुदेर गयो, फाइल पल्टायो,डिभिजन न्यायाधीशहरुको भागमा फाइल मिलायो,हैरानी छ,’ एक जना अधिकृतले भने ।

यता बिहान चिसोमा न्यायाधीशहरु जाडोमा कार्यालय कुद्न परेपछि ‘के भाउँतो आइलाग्यो’ भन्न थाल्नुभएको छ । हिजो प्रधानन्यायाधीश राणाको उग्र बिरोध गर्दा राखिएको माग कार्यान्वयन गर्दा मूलतः राणालाई हाइसञ्चो र अरु बूढाखाडालाई गाह्रो भएको नाम नबताउने शर्तमा न्यायालय स्रोतले भन्यो ।

आजै काठमाडौं जिल्ला अदालतमा पनि गोलाप्रथा कार्यान्वयन गरिँदैछ । त्यहाँ बन्दीसम्बन्धी मुद्दा र अरबौं रुपैयाँ घोटालामा संलग्न इच्छाराज तामाङको मुद्दा पेश भएकाले कसको इजलासमा पार्ने भनेर गोला प्रथा गरिएको छ । त्यहाँ पनि सर्वोच्चको झ्याउलो सरेको एक जना न्यायाधीशले उल्लेख गर्नुभयो ।

टिप्पणीहरू