सिटौलालाई हराउने र ओलीलाई जिताउने को हुन् राजेन्द्र लिङ्देन ?

सिटौलालाई हराउने र ओलीलाई जिताउने को हुन् राजेन्द्र लिङ्देन ?

-लक्ष्मी काफ्ले

वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका राजेन्द्र लिङ्देनले २०३६ सालमा विद्यार्थी जीवनबाट राजनीति सुरुवात गरेका हुन् । विद्यार्थी राजनीतिसँगै पढाइलाई निरन्तरता दिएका लिङ्देनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

पिता मानप्रसाद र माता मनकुमारीका छोरा लिङ्देन राप्रपाको स्थापनाकालदेखि नै सदस्य बने । २०४८ सालमा राप्रपाको विद्यार्थी संगठन बन्दा उनी संस्थापक केन्द्रीय अध्यक्ष बने । जनताका बीचमा रमाउन चाहने यी विकासप्रेमी नेता स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष पनि भएका छन् । राजनीतिमा अनेकौँ दुःख र कष्ट भोगेका लिङ्देन वि.सं. ०६०/०६१ मा जिविस झापाको सभापतिसमेत बने । जिविस सभापति हुँदा दक्षिणी झापाको विकासमा उनले राम्रो योगदान पुर्‍याएका थिए । त्यतिबेला उनी सभापति छँदा गरेका विकास निर्माणका कामहरुवारे दक्षिणी झापाका बासिन्दाले अझै पनि चर्चा गर्छन् ।

०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजय ब्यहोरे पनि लिङ्देनले जनताको सेवा गर्न कहिल्यै छाडेनन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै उनी झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भए । लिङ्देनले सिटौलालाई १३ हजार ४ सय ४३ मतान्तरले पराजित गरेका थिए भने केपी ओली र उनीवीच एकार्काको क्षेत्रमा मैदान खाली गर्ने सम्झौता थियो ।

पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उनले अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै बिताए । दक्षिणी झापामा हरेक वर्ष भारी वर्षासँगै बाढी आउँछ । बाढीसँगसँगै लिङ्देन पनि पुग्थे,राहत तथा उध्दारमा जुट्थे । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य,महामन्त्री, संगठन विभाग प्रमुखलगायत जिम्मेवारी सम्हालिसकेका लिङ्देन एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा शुभकामना ।

टिप्पणीहरू