एमसीसीको नाममा दौडादौड,हिजो दिनभर दरबारमार्गमा धपेडी

एमसीसीको नाममा दौडादौड,हिजो दिनभर दरबारमार्गमा धपेडी

अमेरिकाले डिसेम्बर १५ भित्रको समयसीमा दिएको एमसीसी सहयोग सम्झौता अनुमोदनको समय नजिकिँदै जाँदा राजधानीमा त्यसैको नाममा हस्याङफस्याङ बढेको छ । एमसीसी सम्झौताको संसदीय अनुमोदनबारेको कौतुहलता बढ्दै जाँदा त्यसैको नाममा हिजो बेलुकासम्म दरबारमार्ग क्षेत्रमा अमेरिकीहरुको चहलपहल बढेको हो ।

मिलेनियम च्यालेञ्ज अकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल) को हिजो दिनभर बैठक बसेको छ । बिहान ११ बजेदेखि होटल याक एण्ड यतिस्थित एमसीए नेपालको कार्यालयमा बसेको बैठकमा अमेरिकी राजदूत रेण्डी बेरीको समेत उपस्थिति थियो । राजदूत बेरी अपरान्ह ४ बजे मात्र त्यहाँबाट फर्केको स्रोतले बताएको छ ।

हिजोको बैठकमा अमेरिकी सहयोग नियोग युएसएडका नेपाल प्रमुख सेपिदेह किभान्सादको समेत पूरै समय उपस्थिति रहेको बताइन्छ ।

यता सरकारले संसदको हिउँदे अधिवेशन अप्रत्यासित रुपमा बोलाएको छ । मंसिर २८ गते बोलाइएको संसदीय अधिवेशनसँगै उता अमेरिकाले एमसीसीबारे निर्णय गर्न मंसिर २९ गतेको समयसीमा दिएको छ । गत महिना नेपाल भ्रमणमा आएका मध्य तथा दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी विदेश सहायकमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा उक्त समयसीमा दिएका थिए ।

एमसीए नेपालको हिजोको बैठकमा सबैजना सदस्यको उपस्थिति रहेको बताइन्छ । बैठकमा अध्यक्ष तथा अर्थसचिव मधुकुमार मरासिनी, सदस्यहरुमा ऊर्जा,जलस्रोत तथा सिन्चाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैदेशिक सहयोग महाशाखाका सचिव केशवकुमार शर्माको उपस्थिति थियो ।

त्यसैगरी,नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेशनल हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डे र एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले हिजोको बैठकमा विशेष सक्रियताका साथ भाग लिएको स्रोतले बताएको छ ।

दशैंअघि नेपाल आएकी एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले पनि नेपाली पदाधिकारीहरुलाई चेतावनीको भाषामा जतिसक्दो छिटो निर्णय गर्न सल्लाह दिएकी थिइन् । एमसीए नेपालका पदाधिकारीहरुसँगको भेटघाटमा पनि उनले चर्को रुपमा बोलेकी थिइन् । अध्यक्ष तथा अर्थसचिव मधु मरासिनीले सुमारलाई राम्रोसँग सम्झाउने कोशिस गरेका थिए । मरासिनी र सुमारबीच साथीको सम्बन्ध भएकाले पनि त्यतिबेला परिस्थिति सम्हाल्न सहज भएको स्रोतले बताएको छ ।

अमेरिकाले एमसीसी सम्झौता अनुमोदनलाई लिएर निकै ठूलो दबाब दिएको बताइन्छ । उनीहरुले जतिसक्दो छिटो धारणा बनाऊ भने पनि अन्तर्यमा सम्झौता नस्वीकारेमा राम्रो नहुने सन्देश दिएको एमसीए स्रोतले नै बताएको छ । तर,नेपाली काँग्रेसबाहेक अरु कुनै पनि राजनीतिक दलले एमसीसी सम्भौता अहिलेको अवस्थामा स्वतः अनुमोदन गर्न सक्ने अवस्था नै देखिँदैन ।

यसबीचमा एमसीए नेपालको सञ्चालक समितिका केही सदस्य हेरफेर हुन लागेको छ । सञ्चालक समितिको सदस्य रिक्त भएमा अमेरिकीहरुले बनाएको सूचीबाट एमसीए नेपालले व्यक्तिगत सम्पर्कको आधारमा नियुक्त गर्ने गरिएको छ ।

टिप्पणीहरू